काँग्रेस र एमालेको मिलन देशको विशिष्ट परिस्थितिमा मात्र भएको छ : गृहमन्त्री लेखक

काँग्रेस र एमालेको मिलन देशको विशिष्ट परिस्थितिमा मात्र भएको छ : गृहमन्त्री लेखक
सुन्नुहोस्

धनगढी : गृहमन्त्री रमेश लेखकले कुनै पार्टीको चाहनाले मात्रै संविधान संशोधन नहुने बताउँदै संविधान संशोधनका लागि सबै दलहरु एक भएर जाने बताएका छन्। गृहमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला कञ्चनपुर जाने क्रममा धनगढी विमानस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले पहिलो चरणमा संविधानको समीक्षा गर्ने बताएका हुन्।

‘संविधान संशोधन कुनै पार्टीको चाहना र इच्छाले हुने कुरा होइन। यसका चरणहरु छन्। पहिलो चरणमा संविधानको समीक्षा गर्ने, ९/१० वर्षसम्म हामीले प्रयोग गरेको संविधानको समीक्षा गर्छौं, समीक्षाका क्रममा के के कुरा राम्रा भए, काँ काँ नेर जटिलता आयो त्यो हेर्छौं, त्यसपछि ती विषयमाथि दलहरुसँग संवाद हुन्छ। सबै दलहरुको बीचमा सहमति खोजेर मात्र संविधानको संशोधन हुन्छ’ उनले भने।

गृहमन्त्री लेखकले काँग्रेस र एमालेको मिलन देशको विशिष्ट परिस्थितिमा मात्र भएको दाबी गरे। ‘एमाले र काँग्रेसको मिलन देशमा विशिष्ट परिस्थिति आउँदा मात्र भएको छ। शान्ति प्रक्रियाका बेला, राजाले निरंकुशता लगाएका बेला काँग्रेस एमाले मिलेर काम गरे। मिलेर नै हामीले अन्तरिम संविधान बनायौं, मिलेर अहिलेको संविधान बनायौं’ उनले भने। उनले काँग्रेस र एमाले मिलेर सुखद परिणाम निकालेको इतिहासले पुष्टि गरेको बताए। 

गृहमन्त्री लेखकले अहिले काँग्रेस र एमालेका बीचमा एकदमै सौहार्दता रहेको दाबी गरे। ‘गृहसचिवका लागि प्रधानमन्त्री र गृहमन्त्रीका बीचमा विवाद छ भनेर बाहिर हल्ला फैलाइएको छ। तर त्यो सत्य होइन। मेरो मन्त्रालयका सचिव मुख्य सचिव भए, उहाँको ठाउँमा सचिव नियुक्त गर्नका लागि क्याबिनेट बस्नुपर्छ। क्याबिनेट बसेको छैन, क्याबिनेट बसेको दिन गृहसचिव नियुक्त हुन्छन्’ मन्त्री लेखकले भने।

उनले कसैले काँग्रेस र एमालेबीचको सौहार्दतामा अप्ठेरो पार्न खोजे पनि उ सफल नहुने तर्क गरे। ‘काँग्रेस र एमालेको समिकरणमा अत्यन्त राम्रो सौहार्दता छ। अत्यन्त सरल र अत्यन्त राम्रो वातावरण छ। कुनै खालको ‘कन्फ्युजन’ र अप्ठेरो खालको समस्या छैन। यसमा कसैले अप्ठेरो पार्न खोजे पनि पर्न सक्ने सम्भावना छैन’ मन्त्री लेखकले भने।

उनले काँग्रेस र एमालेको समीकरण बनेपछि देशमा स्थायित्वको विश्वास बढेको दाबी गरे। ‘संघमा सरकार परिवर्तन भइरहने समस्या थियो। संघमा सरकार परिवर्तन हुने बित्तिकै प्रदेशहरु अस्थिर हुने समस्या आई रहेको थियो। त्यसलाई समाधान गर्नका लागि पनि काँग्रेस र एमालेको समीकरण बनेको हो। अहिले स्थायित्वका लागि विश्वासको वातावरण बन्दै गएको छ’ उनले भने।

गृहमन्त्री लेखक तीन दिनसम्म कैलाली र कञ्चनपुरमा रहने छन्। उनले पार्टी कार्यकर्तासँग भेटघाट र बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ। बुधबार गृहमन्त्री लेखकले संघीय प्रहरी कार्यालय महेन्द्रनगरको भवन उद्घाटन त्यसपछि, इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीको भवन उद्घाटन र धनगढीमा प्रहरी गण भवन तथा पेट्रोल पम्प उद्घाटनको कार्यक्रम तय भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.