चारसय बढी विद्यार्थीको आँखा परीक्षण
नुवाकोट : विद्यार्थीहरूको सुविधाका लागि नुवाकोटको पूर्वी भेगमा रहेको रामतीमा विद्यार्थीहरूको आँखा परीक्षण गरिएको छ। चश्माको आवश्यकता रहेका विद्यार्थीहरूलाई चश्मासमेत प्रदान गरिएको छ।
दुप्चेश्वर गाउँपालिका ६ रामतीमा रहेको दुप्चेश्वर माविमा अध्ययनरत विद्यार्थीहरूको आँखा परीक्षण गरि आवश्यक चस्मा वितरण गरिएको हो। विद्यालय र नुवाकोट आई केयर सेन्टर विदुरको आयोजनामा विद्यार्थीहरूको दृष्टि परीक्षण गरिएको हो।
नुवाकोट आई केयर सेन्टर विदुरका प्रमुख तथा नेत्र अधिकृत शंकर अधिकारीसहित आठ जना प्राविधिकको समूहले चारसय २४ जना विद्यार्थीको आँखा परीक्षण गरेको हो। परीक्षण गरिएकामध्ये एकसय ५५ जनालाई चस्मा वितरण गरिएको छ।
विद्यार्थीहरूलाई आँखाको स्याहारको आवश्यकता रहेको नेत्र परीक्षणमा सहभागी आँखा प्राविधिक नेत्र अधिकृत शंकर अधिकारीले बताए। उनका अनुसार २२ जना सर्वसाधारण र २१ जना शिक्षक शिक्षिकाको आँखा परीक्षण गरिएको छ।
नुवाकोट आई केयर सेन्टरले आफ्नो सेवा सञ्चालनको तीन बर्स पूरा गरि चौथो वर्षमा प्रवेश गरेको सन्दर्भमा सामाजिक सेवाको भावनाले ग्रामीण भेग रामतीमा अध्ययनरत विद्यार्थीहरूको सुविधाका लागि आँखा परीक्षण गरेको हो।