गोसाइँकुण्ड : सत्ययुगदेखि आजसम्म
आफ्नै जिल्लाको पवित्र तीर्थस्थल, देश तथा विदेशबाट समेत हजारौं मानिस आउँछन्, जीवनमा एकपटक भने पनि यात्रा गर्नुपर्छ भन्ने हुटहुटी जागेको धेरै भएथ्यो। स्वाभाविक पनि हो। २०६८ सालमा पहिलो पटक गोसाइँकुण्डको भ्रमण गरेको थिएँ। बालसखा नारायण न्यौपाने घरबाट गोसाइँकुण्डका लागि हिँड्यौं। तर, धुन्चे पुगेपछि गोसाइँकुण्ड क्षेत्र विकास समितिको अनुगमन समितिको टिमसँगै जाने अवसर मिल्यो।
त्यतिबेला गोरखापत्र दैनिकमा (रसुवा समाचारदाता) रिपोर्टरको रूपमा काम गर्थें। पत्रकार दाजुहरू सुशील कोइराला र बलराम घिमिरे, समितिका अध्यक्ष सञ्जीव डिएम र सर्वदलीय राजनीतिक दलका प्रतिनिधिहरू सहभागी भयौं। त्यही यात्रा गोसाइँकुण्डको पहिलो बन्यो। तलबाट उकालो जान कठिन छ। तर माथि कुण्डमा पुगेर डुबुल्की मारेपछि सबै थकान हराउने र छुट्टै हल्का महसुस हुने रहेछ।
उकालो अनि चिप्लो बाटो, झरीको मौसम। मानिसहरूको दोहोरो हिँडाइ (आउ–जाउ)ले अप्ठेरो महसुस भए पनि गोसाइँकुण्ड पुग्ने र रमणीय कुण्डको मनमोहक दृश्यको अवलोकन गरी महादेवको दर्शन गर्ने अभिलाषाले सबै दु:ख, कष्ट र अप्ठेरा हराउँदा रहेछन्। त्यही अनुभूति र स्मरणहरू ताजै छन्। विकट अनि उच्च पहाडी ठाउँ पुग्न ज्यादै कठिन तर पुगेपछि रोमाञ्चित ठाउँ हो, गोसाइँकुण्ड। गोसाइँकुण्ड समुद्री सतहबाट ४ हजार ३ सय ८० मिटरको उचाइमा रहेको यो स्थल एक पवित्र र सुन्दर सरोवर (ताल)को रूप हो। पहाडको खोचमा सुन्दरतम् आकृतिमा बसेको छ।
गोसाइँकुण्डको पौराणिक कथन : हिन्दु धर्मग्रन्थ पुराणमा उल्लेख भएअनुसार सत्ययुगमा देवता र दानवबीच भएको समुद्र मन्थनको क्रममा हलाहल नामक कालकुट विष निस्कियो। उक्त विषले संसारलाई अत्यास पार्ने भयो भन्दै त्रास फैलियो। देवताहरूको एक टोली यसको समाधानको उपाय खोज्न महादेव शिवशंकर भेट्न पुगे। भगवान शिवशंकरले उक्त कालकुट विष सेवन गरी अनिष्ट हुनबाट संसारलाई बचाउन जोखिम उठाए। कालकुट विष सेवन गरेपछि भगवान् शिवशंकरमा अत्यन्त डाहा पैदा भयो। उक्त डाहा शान्त पार्न उनी हिमालय पर्वततिर लागे। हिमालय यात्राको क्रममा शिव हालको गोसाइँकुण्ड पुगे। सुन्दर अनि शान्त पहाडमा उनले त्रिशूलले छेडी पानी निकाले। यसरी ‘त्रिशूलधारा’बाट उत्पन्न भएको जलबाट गोसाइँकुण्ड (सरोवर) बनेको हो। त्यही कुण्डमा भगवान् शिवले विश्राम लिई डाहा शान्त पारेको कथन छ।
कालकुट विष सेवन गर्दा त्यसको डाहाले महादेवको घाँटीमा ‘नीलो दाग’ बसेको हुँदा उनलाई ‘नीलकण्ठ महादेव’को नामले पनि चिनिन्छ। उच्च पहाडमा रहेको यस गोसाइँकुण्डमा पुगी त्रिशूलधाराबाट जल उत्पन्न गराई जलबाट निर्मित सरोवरमा वि श्राम लिएको धार्मिक विश्वास छ। त्यसैले भक्तजन ‘धार्मिक लाभ र मोक्ष प्राप्ति’को कामना गर्दै कठिन यात्रा गरेरै भए पनि गोसाइँकुण्डसम्म धाउने गर्छन्। अहिले पनि खुल्ला मौसम र घाम लागेको बेला पोखरीको बीच भागमा भगवान् शिव ‘शयन’ गरिरहेको स्पष्ट देखिन्छ भन्ने जनविश्वास छ। शिवको उक्त रूप हेर्न मानिस लालायित हुन्छन्। र त कठिनको बाबजुत पनि यात्रा गर्छन्। शिवले आफ्नो त्रिशूलले उक्त जल निकालेको हुँदा गोसाइँकुण्डको उद्गम थलो (मुहान)लाई ‘त्रिशूलधारा’ नामकरण गरिएको छ।
सोही त्रिशूलधाराबाट बगेर आउने पानी गोसाइँकुण्ड पोखरी हुँदै, भैरव कुण्ड, सरस्वती कुण्ड अनि तल आएर त्रिशूली नदीको रूप धारण गरेको छ। जुन चितवनको देवघाटमाथिसम्म त्रिशूली नदीको नामले चिनिन्छ। रसुवा सदरमुकाम धुन्चेदेखि झन्डै दुई दिनको ठाडो उकालो यात्रा अति कष्टसाथ हिँडेर गोसाइँकुण्ड पुगिन्छ। यसरी पुग्ने यात्रीहरू उक्त सरोवरमा स्नान (डुबुल्की) मार्ने बित्तिकै चंगा हुने, सबै थकान मेटिने र शरीरमा छुट्टै खालको ऊर्जा प्रवाह (स्फूर्ति) हुने बताउँछन्।
जीवनमा ४० पटकभन्दा धेरै गोसाइँकुण्डको भ्रमण गरिसकेका कालिका–५ ज्याङ्लाङका प्रेमप्रसाद पौडेल भन्छन्, ‘गोसाइँकुण्डको जति प्रचारप्रसार र संरक्षण हुनुपर्ने हो त्यति हुन सकेको छैन। यसलाई राम्रोसँग व्यवस्थापन र सोअनुसारको प्रचारप्रसार गरिने हो भने यहाँ वर्षैभरि आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन हुने सम्भावना छ। कुण्डको संरक्षणका लागि फोहोर व्यवस्थापन, जैविक विविधता संरक्षण, संस्कृति, भेषभूषा प्रवद्र्धनलगायत भौगोलिक स्वरूप जोगाउँदै पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्छ।’
गोसाइँकुण्ड जान धुन्चे हुँदै जाने र फर्कंदा नौकुण्डतर्फबाट स्याउबारी हुँदै कालिकास्थान निस्कने गरी व्यवस्थित बाटो र आवश्यकताअनुसार होटल एवं आवासस्थल बनाउन सके यसले जिल्लाको आर्थिक विकासमा पनि टेवा पुर्याउँछ। नेपाल–अंग्रेज युद्धपछि भएको सुगौली सन्धि नेपालको हितमा नभएको भन्दै अशान्त बनेका अमरसिंह थापाले गोसाइँकुण्ड क्षेत्रमा गई देह त्याग गरेका थिए। कुण्डको दक्षिणतर्फ अप्ठयारो भिरमा अझै पनि सिंहले आ श्रय लिएको गुफा छ। उक्त गुफाको पनि उचित प्रचारप्रसार हुन सकिरहेको छैन।
कसरी पुगिन्छ, गोसाइँकुण्ड ?
रसुवा सदरमुकाम धुन्चेसम्म सवारीसाधनको यात्रा र त्यहाँबाट पैदलयात्रा गरी गोसाइँकुण्ड पुग्न सकिन्छ। यात्राको क्रममा पौराणिक कालमा शिवले यात्रा गरेका स्थलहरू बेत्रावतीमा रहेको उत्तरगयाधाम (हिन्दु धर्मावलम्बीबीच प्रचलित चार धाममध्ये नेपालमा रहेको एकमात्र पवित्र धाम उत्तरगया हो, कालिका माई क्षेत्रहरू पनि ऐतिहासिक महŒवका सम्पदा हुन्।
गोसाइँकुण्ड मार्गमा हिमाली प्राकृतिक सौन्दर्यका दृश्यहरू निकै पाइन्छ। धुन्चेबाट जाँदा घट्टेखोला, देउराली, चन्दनबारीस्थित सिङ्गोम्पाको बुद्धको विशाल मूर्ति, ढिम्सा, चोलाङपाटी, लौरीविनायकजस्ता मनोरम दृश्य देखिने स्थान यस मार्गमा पर्छ। जुन मनमोहक छन्। प्रकृतिसँग रमाउनेहरूका लागि त यो अलौकिक छ। पर्यटकीय दृष्टिकोणले पनि यो ठाउँमा स्वदेशी तथा विदेशी पर्यटकहरू देउराली, ढिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीविनायक बुद्ध मन्दिरलगायत स्थानको मनोरम प्राकृतिक दृश्यावलोकन गर्न पाउने वातावरण छ। यस पदमार्गमा विभिन्न प्रजातिका फूलहरू, लोपोन्मुख वन्यजन्तु, वनस्पति, चराहरू रमणीय दृश्यहरू सजिलै देख्न सकिन्छ। यसका साथै काठमाडौंको सुन्दरीजलको बाटो हुँदै पनि गोसाइँकुण्ड जाने आउने गरिन्छ। आजकल स्याउबारीदेखि नौकुण्ड हुँदै पनि मानिस गोसाइँकुण्ड आउजाउ गर्न थालेका छन्।
सम्पदा संरक्षण ध्यान दिने कि ? : धेरै पहिलेदेखि धुन्चेदेखि गोसाइँकुण्डसम्म केवलकार राख्ने भनेर छलफल गरिए पनि यो कार्य अहिलेसम्म पनि सुरुआत हुन नसक्दा जीवनमा एकपटक गोसाइँकुण्ड जान्छु भन्ने तर यात्रा गर्न नसक्नेका लागि यो कठिन छ।
गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्प तामाङ भन्छन्, ‘केबलकार निर्माणका लागि पालिकाले पहल गरिरहेछ। कार्यविधि तयार भएर वन मन्त्रालयमा पुगेको छ। मन्त्रिपरिषद्बाट पारित भएपछि डीपीआरको काम हुन्छ। केही वर्षभित्रै गोसाइँकुण्डसम्म केवलकार सञ्चालन गर्छौं।’ केवलकारले चर्चा पाएको त वर्षाैं भयो, खै अब कहिले केवलकार चढेर गोसाइँकुण्डको यात्रा गर्न पाइने हो ?
गोसाइँकुण्डमा आएका यात्रुले पछिल्लो समय विभिन्न यात्रुले यात्रा वर्णमा लेखेका संस्करणलाई हेर्ने हो भने सीमित होटल, थर्पुहरू मात्रै भएको कारण हरेक सामग्री र खानेकुरा महँगा छन्। त्यसो त ढुवानीमा बढी खर्च हुने भएकाले पनि महँगो हुन पुगेको हो। किनकि धुन्चेबाट सामान महँगो शुल्क तिरेर ढुवानी गरेर लानुपर्ने बाध्यतामा पनि होटल तथा थर्पु व्यवसायीको छ। चन्दनबारीबाट माथिको क्षेत्रमा उत्पादन हुँदैन।
गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएम भन्छन्, ‘पहिलेको तुलनामा बाटोहरू राम्रो बनाइएको छ। सिँढीहरू राखिएका छन्। प्रचार–प्रसारलाई पनि बढाइएको छ। उनी थप्छन्, ‘तर होटलहरू पुराना छन्, यात्रु वि श्रामका लागि पाटीपौवा कम छन्। स्थायी खालको सुरक्षा पोस्ट र स्वास्थ्यचौकीहरू छैनन्। मेलाको बेलामा मात्रै अस्थायी शिविरहरू राखिने गरिएको छ। बिजुली पुगेको छैन। यसका लागि राज्यका निकायको ध्यानाकर्षण गराइरहेका छौं तर सुनेका छैनन्।’
यो क्षेत्र परापूर्वकालदेखि नै चर्चा पाएको र महŒवको तीर्थस्थल हो। तर, अन्यत्रको धार्मिक तीर्थस्थलको तुलनामा यहाँको संरक्षणमा कम चासो छ। सडक बाटो बन्न सकेको छैन। खाद्यान्न ढुवानीको लागि स्थानीय व्यापारीलाई सहुलियत र सहयोग छैन। व्यापारीले कठिन यात्राको बाबजुत ढुवानी गरेको खाद्य सामग्रीको मूल्य बढी हुनु स्वाभाविक पनि हो तर पर्याप्त बस्ने ठाउँहरू पनि नहुँदा कतिपय मानिस बिरामी पर्ने गरेका छन्।’
उत्तरगया— २ डाडाँगाउँ रसुवाका राजनीतिज्ञ एवं अभियन्ता सविन सापकोटा अघिल्लो वर्ष गोसाइँकुण्ड यात्रामा पुगेर फर्किए। भन्छन्, ‘गोसाइँकुण्डलाई स्वर्गकै टुक्रा मानिन्छ तर अप्ठेरो बाटो भएको हुँदा ज्येष्ठ नागरिक र शारीरिक रूपमा अशक्तहरू चाहेरै पनि तीर्थयात्रा गर्न सकिने अवस्था छैन। सडकबाटो वा केबलकार हुँदो हो त, उनीहरूले पनि सहजै तीर्थयात्रा गर्न सक्थे। यात्रा गर्दा ज्येष्ठ नागरिकहरूलाई धेरै सम्झिएँ, उनीहरूको गोसाइँकुण्ड यात्रा कसरी पूरा गरिदिने होला ? बाटोमा पर्याप्त सार्वजनिक शौचालयहरू पनि छैनन्, वि श्रामस्थल, कुण्ड छेउछाउ घेराबार र संरक्षणका लागि पनि सरकारी सक्रियता बढ्नु जरुरी छ।’
गोसाइँकुण्ड धार्मिक मात्र नभई पर्यटकीयस्थल र सांस्कृतिक सम्पदा पनि हो। यो विश्व सम्पदा सूचीमा पनि परिसकेको र महत्वको स्थल भएको हुँदा यसको उचित संरक्षण, संवद्र्धन र प्रवर्द्धन गरिनु जरुरी छ। यसका लागि स्थानीयवासी, स्थानीय सरकार र प्रदेश तथा संघीय सरकारले पनि विशेष प्राथमिकतामा राखी अघि बढ्नुपर्ने देखिन्छ। हरेक मन्त्री र प्रधानमन्त्री धुन्चे आउँदा घोषणा गर्छन्, गोसाइँकुण्डका लागि केवलकार बनाइदिन्छौँ तर यस्तो भनेको पनि दशकौं भइसक्यो तर बन्ने सुरसार छैन।
गोसाइँकुण्ड आसपास रहेका १०८ कुण्डमा आन्तरिक बाटोहरू छैनन्। बाटोको कनेक्टिीभिटी हुने हो भने सायद वर्षैभरि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो अवश्य लाग्ने थियो। यसले धार्मिक तथा पर्यटकीय क्षेत्र र सम्पदाहरूको महत्व र महिमा त बढाउने छ त्योभन्दा पनि कृषि भूमि कम भएको रसुवामा आर्थिक आयआर्जन बढाउन कृषि पर्यटनका आधार हुनेछ। तर संघीय सरकारबाट गोसाइँकुण्डको उचित संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा बजेट विनियोजन गरेर खासै पहल गरेको देखिँदैन। हुन त यसका लागि स्थानीय नेताहरूको पनि राज्यलाई जति ध्यानाकर्षण गराउनुपर्ने
हो त्यति गराएको देखिँदैन।
गोसाइँकुण्ड सत्ययुगदेखि अहिलेसम्म पनि उत्तिकै महत्वको छ। मानिसको धार्मिक आस्था बढ्दो छ। यो क्षेत्रमा अध्ययन गर्ने र अवलोकन गर्ने अध्येताहरूको संख्या पनि बढ्दो छ। लाङटाङ राष्ट्रिय निकुञ्जले अभिलेख राखेको विवरणअनुसार आर्थिक वर्ष २०३५/०३६ देखि यता ४ लाख २८ हजार ४ सय ८३ पर्यटकहरूले लाङटाङ क्षेत्रको भ्रमण गरेका छन्। रसुवा भ्रमणमा आउने पर्यटकहरूको प्रमुख गन्तव्य लाङटाङ अनि गोसाइँकुण्ड हुने गरेको छ। अझ अहिले त पर्यटकीय हिसाबले पनि महत्व बढ्दै गएको छ। यसलाई निरन्तर संरक्षण र संवर्द्धन गर्दै अघि बढाउनु अहिलेको पुस्ताको पनि जिम्मेवारी हो।