इन्द्रजात्राको लिङ्गो भक्तपुरबाट भोटाहिटीमा
भक्तपुर : इन्द्रजात्रा अर्थात् येँयाःको क्वहनेयाः कुमारी यात्राका लागि आवश्यक पर्ने इन्द्रध्वजा फहराउने लिङ्गो गएराति भक्तपुरबाट काठमाडौँ पुर्याइएको छ। भक्तपुरको सामुदायिक वनबाट शुभसाइतमा भक्तपुरको जंगलमा काटेर ल्याइएको यःसिं अर्थात् लिङ्गो गएराति काठमाडौँ पुर्याइएको हो।
आइतबार बिहान ८:२६ बजे इन्द्रध्वजोत्थान अर्थात् इन्द्रध्वजासहितको लिङ्गो उठाउन गत बिहीबार बिहान १० बजेर ४७ मिनेटको साइतमा वसन्तपुरबाट भक्तपुर प्रस्थान गरेको केन्द्रीय मानन्धर संघको टोलीले बेलुकी ७ बजे भक्तपुरको चित्तपोलमा पुगेर हनुमानढोका दरबारबाट आएको ब्राह्मणद्वारा पूजा विधि सम्पन्नगरी राति ८:२७ बजेको साइतमा यःसिंको लागि रानी सल्लाको रूख काटिएको थियो।
शुभसाइतमा पूजा गरेर छाडेको काले जुन रुखमा छुन्छ त्यही रुखलाई काट्ने प्रचलन छ। रूख काट्नुअघि नेपाली सेनाको श्री शार्दूल जङ्ग गुल्मका गुल्मपतिको नेतृत्वमा चित्तपोल पुगेको गुरूजुको पल्टनले सलामी अर्पण गरेको थियो।
रूख काटिएसँगै पाँच जनाको गुरूजुको पल्टनले एकैपटक बन्दुक पड्काएर हर्षबढाईं दिएको थियो। भक्तपुरमा यःसिं लिने जानेदेखि काठमाडौँसम्म पुर्याएर ठड्याउने र ढाल्नेसम्मको काममा हनुमानढोका दरबारस्थित श्री शार्दूल जङ्ग गुल्म (नेपाली सेनाको गुरूजुको पल्टन)ले सहकार्य गर्दै आएको छ।
वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधनागरी परम्परागत शैलीमा मनाइने इन्द्रजात्राको लिङ्गो अर्थात् यःसिं भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीको दिन इन्द्रध्वजोत्थानगरी सुरु हुने इन्द्रजात्रा चौथी अर्थात् इन्द्रध्वज आठ दिनसम्म मनाउने गरिन्छ।
यस अवधिमा विभिन्न नाच, कुमारी, भैरव, गणेशको रथयात्रा पनि हुन्छ। इन्द्रजात्रा र यःसिं ठड्याउने प्रचलनलाई वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा पनि उल्लेख गरेको पाइन्छ।