प्रविधिमैत्री शिक्षा प्रदान गर्न सरकारले योजनाबद्ध कार्य गरिरहेको छ : ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भर्ना भएका बालबालिकालाई विद्यालयबाट ड्रपआउट हुन नदिन सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन्। आज अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा दिवा खाजा,छात्रवृत्तिलगायतका अन्य प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको बताएका हुन्।
कार्यक्रमलाई अझै सुधार गर्दै लैजाने सरकारको योजना रहेको उनको प्रतिबद्धता छ। ‘गरिबीका कारणले तराई र दुर्गमका कतिपय ठाउँहरुमा साक्षरता र भर्ना अभियानले सार्थकता पाउन नसकेको अवस्थालाई दृष्टिगत गरी मेरो नेतृत्वको अघिल्लो सरकारले राष्ट्रव्यापी रुपमा विद्यार्थी भर्ना अभियान कार्यक्रमको सुरुवात गरेको थियो। विद्यालय उमेरका सबै बालबालिकालाई अनिवार्य रुपमा विद्यालयमा भर्ना गर्ने नीतिले पनि साक्षरताको अभियानलाई सहयोग पुर्याएको छ।’ शुभकामना सन्देशमा भनिएको छ,‘भर्ना भएका बालबालिकालाई विद्यालयबाट ड्रपआउट हुन नदिन सरकारले दिवा खाजा, छात्रवृत्ति लगायतका अन्य प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको छ। यसलाई अझै सुधार गर्दै लैजाने सरकारको योजना छ।’
शुभकामना सन्देशमा भनिएको छ,‘अनिवार्य र निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चिततासँगै विद्यालय जाने उमेरका सबै बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाका अवसरहरु जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको छ। यसका निम्ति अनिवार्य र निःशुल्क शिक्षा ऐन, २०७५ को कार्यान्वयनसँगै साक्षरता/आजीवन सिकाइका कार्यक्रमहरु सञ्चालनमा रहेका छन्।’
साक्षरताका कार्यक्रमहरुको सञ्चालनमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्रीको भनाई छ। प्रविधिमैत्री शिक्षा प्रदान गर्न सरकारले योजनाबद्ध रुपमा कार्य अगाडि बढाइरहेको उनले बताएका छन्।‘नेपालमा पछिल्लो समयमा पूर्ण साक्षर पालिका र साक्षर जिल्ला घोषणा हुँदै गएका छन्। यो महत्वपूर्ण उपलब्धि हो। विश्व अहिले सूचना प्रविधिको युगमा प्रवेश गरेको छ, त्यसकारण प्रविधिमैत्री साक्षरता र सीप अहिलेको आवश्यकता हो। प्रविधिमैत्री शिक्षा प्रदान गर्न सरकारले योजनाबद्ध रुपमा कार्य अगाडि बढाइरहेको छ।’ शुभकामना सन्देशमा भनिएको छ,‘शिक्षालाई रोजगार र स्वरोजगारसँग जोड्दै निजी क्षेत्र, सामाजिक सङ्घ संस्थाहरु लगायत सबैको भूमिकालाई प्रभावकारी बनाउँदै निरक्षरतालाई साक्षरतामा रुपान्तरण गर्न हामी सबै लाग्नुपर्ने छ। हामी सबैको योगदानले साक्षर नेपालको अभियानलाई सार्थक बनाउन सक्छौँ। नेपाल पूर्ण साक्षर मुलुकतर्फ अग्रसर हुँदै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्यमा छ। यस गन्तव्य प्राप्तिमा शिक्षा क्षेत्रको योगदान महत्वपूर्ण हुने भएकाले त्यसअनुसारको भूमिका निर्वाह गर्नका लागि म सम्बन्धित सबैमा हार्दिक आह्वान गर्दछु।’