दिदीबहिनीको सक्रियताले उदाएको घमिरको पञ्चमी नाच

दिदीबहिनीको सक्रियताले उदाएको घमिरको पञ्चमी नाच

गुल्मी : हिन्दू नारीको महान पर्व हरितालिका तीज पछिल्लो समय विकृति र विसंगतिमा मिश्रण हुन थालेको छ। गाउँशहरमा बदलिँदो रहनसहन र खानपानका कारण नेपाली मौलिकता तथा संस्कृति नै समाज र समुदायबाट नै लोभ हुने अवस्था सिर्जना भएको पाइन्छ। मौलिक संस्कार र संस्कृति बोकेका पर्व मध्ये एक हो हरितालिका तीज। भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने यस पर्वको आफ्नै महिना र महत्त्व छ। यस पर्वमा नेपाली दिदी बहिनीले शिव भगवानको आराधना गरिनुका साथै नाचगान र मनोरञ्जन समेत गरेर मनाउने प्रचलन छ। 

नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने यस पर्व अन्य धर्मका महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउने गरेको पाइन्छ। कुनै समय गीतको माध्यमबाट महिलाका बेदना, पिरमर्का सुनाउने, समूहमा गुनगुनाउने, चेली माइत जाने, मीठो मसिनो खाने, माइतीसँग दुःख सुख साटसाट गर्ने, श्रीमानको आयु र आफ्नो स्वास्थ्यका लागि व्रत बस्ने यो पर्व पछिल्लो समय लोभ हुन थालेको छ। 

पहिले र अहिले यो पर्व मनाउने चलन नै फेरिएको छ। बजारमा आएका पर्याप्त आधुनिक र भड्किला गीत र देखासिकीका कारण पहिले गाउँका बस्तीमा गाइने तीज गीत एकादेशका कथा जस्तै बन्न थालेका छन्। तीज लागेसँगै मादलुका तालमा गुन्जायमान हुने गाउँबस्ती युवाको अभावले सुनसान जस्तै छन्। युवाको रोजाई परदेश बनेकाले पनि तीज पर्व र पुरानो मौलिक संस्कृतिको संरक्षणमा नयाँ पुस्ताको चासो न्यून छ। 

तीज पर्व गाउँसहरमा उत्ताउलो र भड्किलो बन्दै गएको बुढापाका बताउँछन्। बुढापाकाको भनाइ अनुसार तीज  पर्वको मौलिकता सँगसँगै संस्कृति विस्तारै लोभ हुन थालेको छ। कुनै समय नारीका बेदना र समाजको यथार्थ चित्रण सहितका तीज गीत सार्वजनिक हुन्थे। तर, अहिले समय नै फेरिएको छ। पुराना र मौलिकता जोडिएका गीत कमै आएका छन्। गाउँबस्तीमा दिदी बहिनी जमघट भएर गाइने गीत र नाच आजभोलि कमै देखिन्छन्। आजभोलि यस पर्व र संस्कृति संरक्षणको साटो विकृति फैलाउने चलन बढिरहेको छ। 

तीज लागेसँगै विभिन्न संघसंस्था र क्लबले दर खानपान तथा तीज गीत प्रतियोगिता नै आयोजना गर्ने गर्दछन्। होटल वा रेस्टुरेन्टमा दरको नाम स्पिकर बजाएर मदिराको तालमा नाच्नेको संख्या बर्सेनि बढ्दो छ। तर, यी प्रतियोगिता तीजको मर्म अनुसार कमै मात्रै भएको पाइन्छ। तर, पर्व र संस्कृतिको संरक्षणका लागि गुल्मीको एक गाउँका दिदीबहिनी स्वयं आयोजक बनेर तीज गीत कार्यक्रम राख्ने चलन छ। 

यसको आफ्नै ऐतिहासिक महत्त्व छ। पञ्चमीको साँझदेखि अर्को दिन बिहानसम्म जागाराम बसेर नाच्ने गाउने प्रचलन परापूर्वकालदेखि चलिआएको छ। तीज पर्व र यसको महत्त्वलाई जोगाई राख्न गुल्मीको मालिका गाउँपालिका-७ घमिर गाउँका दिदीबहिनीले वर्षौदेखि मौलिक संस्कृतिको संरक्षणमा चासो दिँदै आएका छन्। तीज पर्वको सुरु भएसँगै कतिपयले त घमिरको पञ्चमीकै स्मरण गर्ने गर्दछन्। तीजका नाममा विकृति र विसंगति बढ्दै गइरहेको बेला यहाँका दिदीबहिनीले तीज पर्व र संस्कृतिको संरक्षण गरिरहेका हुन्। 


सयौं वर्ष पुरानो इतिहास बोकेको घमिर पञ्चमीको राति घमिर भानुपोखरा चौरमा आफ्ना समूह बनाएर रातभर मौलिक तीज गीत गाउने गरिन्छ। यस क्षेत्रकै धेरै दर्शक र रात्रिकालीन नाचगान भएकाले पनि गाउँको अवलोकन र तीज गीत हेर्न धेरै टाढाबाट मानिसहरू आउने गर्दछन्। जसका कारण पञ्चमीमा हुने तीज कार्यक्रमको महत्त्व र महिमा बढिरहेको छ। पञ्चमीको रातभर हुने तीज गीत कहिलेदेखि सुरु भएको भन्ने मिति ठ्याक्कै यकिन छैन। तर, सयौं वर्षदेखि हुँदै आएको बुढापाकाहरू बताउँछन्।  

पञ्चमीको रातभर गाइने तीज गीतको आफ्नै महत्त्व छ। पञ्चमीको दिनभर आफ्नो स्वास्थ्य र श्रीमान् दीर्घायुको कामना गर्दै व्रत बसेर रातभर नाचगानका लागि बाध्यवादन सहित समूहमा भानुपोखरा चौरमा पुग्ने गर्दछन्। बेलुका ८ बजेदेखि बिहान ७ बजेसम्म दिदीबहिनीले मनका वेदना र पीर मर्का गीतको माध्यममा प्रस्तुत गर्ने गर्दछन्। 

null

घमिरमा पञ्चमीको नाचगान हेर्न ईश्मा, अर्जै, पुर्कोट, अर्खाबाङ्ग, मर्भुङ्ग, नेटा, दर्लिङ्ग, ह्वाङदी हुँदै जिल्लाको सदरमुकाम तम्घास लगायतमा क्षेत्रबाट मानिसहरू आउने गरेको स्थानीय ज्ञानराज पन्थीले बताए। नेपाली मौलिकता र संस्कृतिलाई संरक्षण गर्ने परापूर्व कालदेखि पञ्चमी साँझदेखि बिहानसम्म दिदीबहिनी नाचगान गरी रमाइलो गर्ने प्रचलन छ। उनले घमिर गाउँमा हुने तीजको पञ्चमी र दसैंको कालरात्रि निकै चर्चित रहेको बताए। ‘आजभोलि समाज र मानिस आधुनिक बन्दै गएकाले हाम्रो परम्परा रीतिरिवाज हराउँदै जान थालेको छ। यसको संरक्षण र प्रवर्द्धन गर्ने दायित्व हामी सबैको हो,’ उनले भने’, रातभर भानुपोखरा चौरमा दिदीबहिनी समूह बनाएर नाचगान गर्ने गर्छन्।’

मौलिक संस्कृतिको संरक्षण र महत्त्वलाई स्थापित गर्न आयोजक स्वयं दिदीबहिनी हुने गर्छन्। तीज गीत कार्यक्रमको व्यवस्थापन र सहजीकरण वडा कार्यालयले गर्दै आएको छ। यसवर्ष पनि आइतबार बेलुका ८ बजेदेखि सोमबार बिहानसम्म मौलिक तीज गीत हुने वडा कार्यालयले जनाएको छ। 

तीज गीत कार्यक्रम तयारी पूरा भएको छ। गाउँकै दिदीबहिनीले आफ्नै समूह बनाएर नाचगान गर्ने र दाजुभाइले सहयोग गर्ने हुँदा यो कार्यक्रमले विगतदेखि निरन्तरता पाइरहेको मालिका गाउँपालिका-७ घमिरका वडाध्यक्ष हिराबहादुर कार्कीले बताए।  

‘तीजको पञ्चमी र वडादसैंको कालरात्रि आफैंमा गर्बिलो इतिहास हो, यसको संरक्षण गर्नु हामी सबैको दायित्व हो’, कार्कीले भने’,आजभोलि पर्वका नाममा बढ्दै गएको विकृति र विसंगतिका कारण समाजमा नेपाली रीतिरिवाज र संस्कृति हराउँदै गएको छ।’ 

स्वयं दिदीबहिनी आफैं सक्रिय भएर रातभर गीतमार्फत वेदना प्रस्तुत गर्ने र दर्शकलाई मनोरञ्जन दिने भएकाले यसको महत्त्व बढिरहेको वडाध्यक्ष कार्कीको भनाइ छ। वडाध्यक्ष कार्कीका अनुसार पहिले भानुपोखरा चौरमा दिदीबहिनी भेला भएर टुकीको साहारामा रातभर तीज गीत गाउने, नाच्ने र रमाइलो गर्नुहुन्थ्यो। तर, हिजोआज पहिलेको जस्तो अवस्था छैन। उहाँहरूलाई आवश्यक पर्ने सहयोग वडा कार्यालय गर्दै आएको छ। विगतका वर्षदेखि वडा कार्यालयले रातभर नाचगान गर्ने सहभागी समूहलाई प्रोत्साहन स्वरूप केही नगदसहित दिने गरेको छ। यो आफैंमा ऐतिहासिक तथा सिंगो गाउँकै कार्यक्रम भएकाले वडाले चौरमा लाइट, त्रिपालको व्यवस्थापन र सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीको सहयोगमा प्रहरी परिचालन गरिँदै आएको छ। 

मालिका गाउँपालिका गुल्मीले मौलिक संस्कृतिको जगेर्ना गर्न प्रत्येक बजेट नै विनियोजन गरेको छ। प्रत्येक वडाले तीज गीतको आयोजना गरेर दिदीबहिनीको जमघट र कला संस्कृतिको संरक्षण गरिरहेको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास खनालले जानकारी दिए। उनले घमिरमा हुने पञ्चमीको नाच र वडादसैंको कालरात्रि पालिकाकै पहिचान रहेकाले यसको संरक्षण र व्यवस्थापनमा विशेष पहल गरिने बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.