माओवादीको समाजवाद : बरमझियाको असली बुढो बाजेको पेडा जस्तै...

माओवादीको समाजवाद : बरमझियाको असली बुढो बाजेको पेडा जस्तै...

काठमाडौं : पार्टीभित्र होस् वा बाहिर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)को तीव्र आलोचना भइरहेको छ यतिखेर। ‘छेपारो प्रवृत्ति’को राजनीतिलाई पार्टीभित्र पनि कडा विरोध भइरहेको छ। आइतबार कोशी प्रदेशको परामर्श बैठकमा पनि यस्तै भयो। नेताहरूले भने, ‘प्रचण्डको स्वेच्छाचारी प्रवृत्ति र परिवारवादको मोहले पार्टी सिद्धिनै लाग्यो।’ 

सत्तामा हुँदा होस् या बाहिर प्रचण्डले रटान गर्ने शब्द हो, समाजवाद। तर, माओवादी पार्टी समाजवादको मार्ग चित्रविहीन रहेको नेताहरूले नै बताएका छन्। पार्टीका केन्द्रीय सदस्य सुदन किरातीले त माओवादी केन्द्रको समाजवाद ‘बरमझियाको असली बुढो बाजेको पेडा जस्तै’ भएको आरोप लगाए। उनले विरोधका स्वरलाई पार्टी रुपान्तरणका लागि आधारशीलाका रूपमा लिन नेतृत्वलाई आग्रहसमेत गरे। नेता किरातीले प्रचण्ड समक्ष ६ बुँदे फरक लिखित प्रस्ताव नै पेस गरेका छन्। यस्ता छन्, उनका फरक मत। 

‘पार्टीलाई अहिले मूल आवश्यकता रणनीति र कार्यनीतिलाई मूर्तरूप दिनु हो। नेपाली मौलिकतामा समाजवादी विचारको विकास गर्नु हो’, नेता किरातीको फरक प्रस्तावमा भनिएको छ, ‘आज हाम्रो समाजवाद बर्मझियाको असली बुढो बाजेको पेडा जस्तै भएको छ। सबै दलले समाजवाद भन्छन् तर कसको समाजवाद कस्तो हो, स्पष्ट छैन।’

पार्टी अध्यक्ष प्रचण्डले समाजवादको रटान लगाए पनि कस्तो खालको समाजवाद  ? भन्ने पार्टीसँग स्पष्ट नीति नभएको नेता किरातीले बैठकमा ठोकुवा गरे। पार्टीका कार्यकर्ताहरूमा विचारको संकट गहिरिँदै गएको उनले उल्लेख गरे। 

पार्टी अध्यक्ष प्रचण्डसँग विचारको विकास गर्न ‘देश महायात्रा’ सञ्चालन गर्न नेता किरातीले माग राखेका छन्। पार्टीको संगठनात्मक संकटको निदान, नेतृत्व निर्माण र पार्टीप्रति गुमेको जनताको विश्वास फर्काउनु अहिलेको मुख्य आवश्यकता रहेको नेता किरातीले जनाए।

‘देश महायात्राले पार्टीभित्रको संगठनात्मक संकट समाधान हुन्छ, नेतृत्व निर्माणको सवाल सम्बोधन हुन्छ र जनतामा पार्टीप्रति नयाँ किसिमबाट भरोसा निर्माण हुन्छ’, उनले भनेका छन्, ‘त्यो काम सामूहिकतामा हुनुपर्छ, जनतामा आधारित हुनुपर्छ। त्यो अभियानलाई सफल बनाउन मौलिक विधि अपनाउनुपर्छ। ’  पार्टी उपमहासचिव जनार्दन शर्माले प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नुपर्ने स्थायी कमिटी बैठकमा फरक मत राखेका थिए।

पार्टीका नेताहरू गफाडी, विचारबाट बिचलित भएकाले माओवादी पार्टी कमजोर भएको नेता किरातीले प्रचण्ड समक्ष आक्रोस पोखेका छन्। पार्टीलाई विचार, नीति, कार्यक्रममा केन्द्रित गराउन केन्द्रीय सदस्य सुदन किरातीले राखेका ६ फरक प्रस्ताव यस्ता छन् :

 १. विचार निर्माणका लागि पहिलो काम :

—सिंगो संगठन परिचालन गर्दै आजको नेपाली सामाजिक जनजीवनलाई बुझ्न अध्यक्ष प्रचण्डको नेतृत्वमा देश महायात्रा गरौं।
—नेपाली ऋतुलाई आधार मानेर हिमाल, पहाड र मधेसको संस्कृतिलाई मिहिन ढंगले बुझौं।
— प्रकृतिलाई बुझ्ने र व्यवहार गर्ने नेपाली जनता तथा  सिंगो समाजको जीवनशैली, संस्कृति र चिन्तनलाई नजिकबाट बुझौं।
 —प्रगतिशील सामाजिक मूल्यमान्यताका आधारमा ‘प्रकृति र संस्कृति मैत्री नेपाली समाजवाद’ को विकास गरौं।

२. विचार निर्माणका लागि दोस्रो काम :

—आम पार्टी पंक्तिलाई जनविश्वविद्यालमा अध्ययन गर्न गराउन पठाऔं।
—जनताका संस्कृति, इतिहास, दर्शन, अनुभव, परम्परागत संस्थाहरूबारे गहिरो अध्ययन—गरेर प्रगतिशील पक्षहरूलाई आधार मानी नेपाली समाजवादको जग बसाऔँ। 
—समाजवाद ‘ल्याउने’(आयात) गर्ने होइन, समाजवादमा ‘पुग्ने’ हो भने नेपाली विशेषताको समाजवादको ‘विकास’ गरौं। 

३. विचार निर्माणका लागि तेस्रो काम :

—विश्व साम्राज्यवादका बहुमुखी सामथ्र्य र कमजोरीलाई गहिरोसँग अध्ययन गरौं र नेपाली समाजवाद त्यसभन्दा कुन अर्थमा उन्नत हुनेछ भनेर स्पष्ट पारौं। 

४. अन्तिम काम : विचारको संश्लेषण गरौं।

—जनताबाट आएका ज्ञानहरू र विश्व साम्राज्यवादसम्बन्धी अध्ययनका आधारमा नेपाली समाजवादी विचारको संश्लेषण गरौं। 
—समाजवादसम्बन्धी जनताले बुझ्ने भाषामा ‘अहिले यति गर्न सक्छौं अथवा चाहन्छौं’ र ‘पछि यति गर्नेछौँ’भनेर हाम्रो पार्टीको नीति तथा कार्यक्रम प्रस्ट पारौं।

 ५. स्थानीय तह: समाजवाद निर्माणको जग:

—पार्टीको नेतृत्वमा रहेको स्थानीय तहको सरकारलाई प्रयोग गरेर समाजवादको नमुना प्रस्तुत गरौं। 
—स्थानीय सरकार जनताको प्रत्यक्ष निगरानीमा रहने भएकोले जनताकै अपनत्व र स्वामित्व पनि हुने गर्छ त्यसैले यो स्वत: प्रभावकारी हुन्छ। 
—स्थानीय तहबाटै नेपाली समाजमैत्री समाजवादको विकास गर्न सकिन्छ।  जनतालाई पार्टीप्रति गोलबन्द गर्न सम्भव हुन्छ। 

६. संगठन परिचालन : 

समाजभन्दा पर रहेर मानिसलाई कुनै पनि मूल्य मान्यतामा डोर्‍याउन सकिँदैन। नेपाली समाजले कतिपय मान्यताहरू भूबनोट, वातावरण र ऋतुकालीन     श्रमसँग निर्माण गरेको पाइन्छ। त्यसैले नेपाली चार ऋतुको आधारमा वार्षिक क्यालेन्डर सहित बाह्रै महिना संगठनलाई परिचालन गरौं।

— वसन्त अभियान (चैत्र–वैशाख–जेष्ठ) भरि सिर्जनाको काम गर्ने।
—वर्षा अभियान (असार–साउन–भदौ) विचार निर्माण सँगै     श्रम गर्ने, बाढी, पहिरो, राहत, उद्धार, पुनस्र्थापनाबारे जनसचेतनाका काम गर्ने।
—शरद अभियान (असोज–कार्तिक–मंसिर) आन्तरिक तयारीसँगै चाडबाडसँग सम्बन्धित सामाजिक क्रियाकलाप र शुभकामना आदानप्रदान गर्ने।
—शिशिर अभियान (पुस–माघ–फागुन) वार्षिक पार्टी कामको आन्तरिक तयारी, हिमपात, शीतलहरबाट बच्ने सचेतना जगाउने र न्यानो कपडा बाँड्ने सामाजिक सेवा जस्ता काम गर्ने।
—पार्टी कार्यकर्ता र नेताहरू संगठक मात्र नभएर निरन्तर विचार निर्माणका लागि अनुसन्धानकर्ताका रूपमा पनि विकास गराउने। 
—पार्टीको आमनीति सापेक्षिक कार्यक्रमअन्तर्गत वडा स्तरसम्मको कमिटीलाई नीतिको आधारमा कार्यक्रम बनाउन स्वतन्त्रता प्रदान गर्ने। यसरी पार्टी कामलाई व्यवस्थित गर्दा एकातिर वर्ष दिनको कार्यक्रम अगाडि नै निर्धारित हुन्छ र ‘माथि’ बाट के आउँछ भनेर तल्लो कमिटीले बाटो हेरिरहनु पर्दैन।
—कार्यक्रम बनाउने अधिकार दिँदा रचनात्मक प्रतिस्पर्धा हुन्छ र नयाँ–नयाँ सिर्जनाको जन्म हुन्छ। स्वयम् कमिटी र कमिटीका नेता हर समय नयाँ–नयाँ विषय सोच्नु बाध्य हुन्छ। परिणामको आधारमा दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्छ।
—सार्वजनिक संस्था र स्थलहरूको सुधार गर्ने जिम्मेवारी लिएर फिल्डमा जाऔं। स्थानीय पार्टी परिचालन गरेर (विद्यालय, स्वास्थ्य चौकी र हाटबजार आदी)मा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी व्यापक सुधार ल्याऔं। हाम्रा काम देखेर मानिसहरू आफैं पार्टीप्रति आकर्षित होउन्। अब सदस्यता जबरजस्ती दिने होइन, आफैं सदस्यता लिन आउनेखालको पार्टी बनाऔं।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.