भगवानै त होइनन् डाक्टर पनि
विश्वमा इक्लेम्पसिया र प्रि–इक्लेम्पसियाको कारण बर्सेनि लगभग ६३ हजार मातृमृत्यु हुने गरेको छ। अमेरिका र बेलायतमा इक्लेम्पसियाबाट हुने मातृमृत्यु क्रमशः ५ दशमलव ६ प्रतिशत र ११ दशमलव ८ प्रतिशत रहेको छ। भारतमा पनि इक्लेम्पसियाको कारणले गर्दा २३ प्रतिशतसम्म मातृमृत्यु हुने देखिएको छ। नेपालमा मातृमृत्यु अध्ययन प्रतिवेदन, २०७८ ले कुल मातृमृत्युको १२ प्रतिशत मृत्युको कारण उच्च रक्तचाप तथा यसका जटिलता (इक्लाम्पसिया) रहेको देखाएको छ। हुन त २०७८ ताका नेपालमा कोभिड—१९ को महामारीको तान्डव थियो। सो समयमा ठूलो संख्यामा यसका कारणले मातृमृत्यु देखिएकाले इक्लेम्पसियालगायत रक्तस्राव आदि कारणहरूले भएका मृत्युको अनुपात कम देखिएको हो। मातृमृत्युका कारणहरूमा अत्यधिक रक्तस्राव प्रथम हो भने इक्लेम्पसिया दोस्रोभन्दा फरक नपर्ला।
यो डरलाग्दो तथ्य प्रसूति गराउन आएका महिला वा उनका परिवारलाई थाहा हुँदैन। चिकित्सकहरूले पनि यो इक्लेम्पसिया आउन नदिन खासै धेरै केही गर्न सक्दैनन्। जब दुर्भाग्यवश गर्भवतीहरूमा यस्तो समस्या देखिन्छ, चिकित्सकलाई पनि निर्णय गर्न कठिन हुन्छ। उपचार सुरु गरे प्रसूति गराउने क्रममा उनीहरूको ज्यान जान सक्छ। र ज्यान गए, उनका परिवार, नातेदार, सर्वसाधारण सबैले भन्ने एउटै वाक्य हुन्छ, ‘प्रसूति गराउन जाँदा चिकित्सकले लापरबाही गरेका कारण सुत्केरीको मृत्यु भयो।’ यसरी चिकित्सकले गम्भीर आरोप खेप्नुपर्ने हुन्छ। यस्तो आरोप लाग्छ भन्ने जान्दाजान्दै कसरी कुनै चिकित्सकले त्यस्ता गर्भवतीलाई भर्ना लिनु ? अनि उपचार नगरेर अर्को अस्पताल रिफर गरे गर्भवती र गर्भको बच्चाको मृत्यु हुने सम्भावना झन् बढी हुन्छ जान्दाजान्दै कसरी रिफर गर्नु ? सजिलो हुँदैन निर्णय लिन। फेरि डाक्टर हो, उनको काम नै उपचार गर्ने हो। उपचारको आवश्यकतामा भाग्न नैतिकताले दिँदैन अनि जोखिममा उपचार सुरु गर्न अहिलेको सामाजिक संस्कारले रोक्न खोज्छ।
गर्भावस्थामा रक्तचाप बढेर बेहोस हुने यस्तो अवस्थालाई इक्लम्पसिया भनिन्छ। यस अवस्थामा आमा र बच्चा दुवै जोखिममा हुन्छ। गर्भको अवधि ३४ हप्ताभन्दा कम भएमा मातृमृत्यु र गर्भको बच्चाको मृत्युको सम्भावना अझ बढी हुने हुन्छ। यस अवस्थामा एकातिर रक्तचाप घटाएर आमालाई जोगाउनुपर्ने हुन्छ भने अर्कातिर सम्भव भएसम्म बच्चालाई पनि जोगाउनुपर्ने हुन्छ। उच्च रक्तचाप तथा इक्लेम्पसिया, अत्यधिक रक्तस्राव, संक्रमण, असुरक्षित गर्भपतन र यसका जटिलताजस्ता अनेकौं कारणहरूले गर्भवतीको ज्यानलाई चुनौती दिइरहेका हुन्छन्। जटिल अवस्थामा पनि चिकित्सक, नर्सलगायत सम्पर्ण स्वास्थ्यका प्रणालीमा आबद्ध सबैको साझा प्रयास रहन्छ। तर त्यसो हँुदाहुँदै पनि विश्वमा हरेक दुई मिनेटमा गर्भको जटिलताका कारण एक जना महिलाको मृत्यु हुन्छ। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार सन् २०२० मा मात्र २ लाख ८७ हजार मातृमृत्यु भएको थियो।
हरेक गर्भ आफैंमा जोखिमपूर्ण रहेकोले अनावश्यक रूपमा गर्भवती हुनु हुँदैन यो नै मूलमन्त्र हो। यिनै मूलमन्त्रमा आधारित ‘हामी दुई, हाम्रा दुई’ अनि ‘दुई सन्तान इश्वरको वरदान’जस्ता नाराहरू प्रचार गरिएको हो। परिपक्क वा २० वर्ष पार गरेपछि मात्र विवाह गर्ने, परिवार नियोजनका साधन प्रयोग गर्ने, नियमित गर्भ परीक्षण गर्ने र स्वास्थ्य संस्थामा मात्र प्रसव गराउनेजस्ता सावधानीले मातृमृत्यु दरमा कमी ल्याउन सक्छभन्दा फरक नपर्ला। तर हामी त्यसो गर्न रुचाउँदैनौं। गर्भावस्थामा चार पटक गर्भको परीक्षण गर्न पनि गाह्रो मान्छौं। गर्भवतीलाई पोषणयुक्त खाना, आइरन–क्याल्सियम चक्की, शरीरिक–मानसिक आराम आदिको उचित व्यवस्थापन गर्न सक्दैनौं। गर्भ तथा प्रसवको योजना बनाउनु त कहाँ हो कहाँ, समयमा अस्पताल पनि पु¥याउन सकेका छैनौं। स्वास्थ्य सेवा विभागले राष्ट्रिय जनगणना, २०७८ अन्तर्गत ‘नेपाल मातृ मृत्यु अध्ययन’ प्रतिवेदनअनुसार नेपालमा मातृमृत्युमध्ये ४३ प्रतिशतले समयमै उपचार नपाउँदा यस्तो क्षति भोग्नु परेको देखिएको छ।
गर्भको ९ महिनामा पनि गर्भ र प्रसवलाई व्यवस्थित गर्न साचो प्रयास गर्दैनौं। अनि जटिल अवस्थामा कतै बाटो, त कतै साधनको समस्या देखाउँदै ढिला अस्पताल पु¥याउछांै। अनि जब चिकित्सकले बचाउन सक्दैनन्, तब चिकित्सकमाथि आरोप र हातपात सुरु गर्न ढिलाई गर्दैनौं। अस्पताल तोडफोड हुन थाल्छ। चिकित्सकको सर्वत्र आलोचना हुन थाल्छ। सुरु हुन्छ क्षतिपूर्तिको नाममा बार्गेनिङ। तर यो दौडमा उपचारमा खटिएका ती चिकित्सकलाई कति मानसिक पीडा हुन्छ होला ? यसको कसैले लेखाजोखा गर्दैनन्। बिरामीको जटिलता जान्दाजान्दै पनि उपचार गर्ने निर्णय लिएका चिकित्सकको कति रात निन्द्रा हराउँछ ? बुझिदिने कसले ?
सत्य के हो भने, बिरामीको मृत्यु हुनुमा कतिपय जटिलता हुन्छ। बिरामीको स्वास्थ्य स्थिति कस्तो थियो वा छ ? त्यो कति जोखिमयुक्त हुन सक्छ ? यसबारे सर्वसाधारणले रुचि राख्दैनन्। र राखे पनि बिरामीको मृत्यु पछि अनभिज्ञ भएको प्रस्तुति दिन्छन्। चिकित्सकले सम्भव भएसम्म गरेको हरप्रयास बिरामीको अवस्था राम्रो भएसम्म देखेका हुन्छन्। तर बिरामीको मृत्यु पछि ती सबमा एकास्सी परिवर्तन आउछ। बिरामीको जटिलताले निम्त्याएको स्वाभाविक र सम्भावित मृत्युलाई असफल मात्र होइन लापरबाहीको ट्याग भिरिदिन्छन्।
हरेक पेसामा राम्रासँगै नराम्रा पक्ष पनि हुन्छ। नेपालको स्वास्थ्य क्षेत्र यसका अपवाद पक्कै होइन। चिकित्सकले गल्ती गर्दै गर्दैन् भन्न सकिदैन। तर बिरामीको मृत्युपछि चिकित्सक पक्कै रमाउँदैनन्। वातानुकूलित कक्षमा पनि चिकित्सकलाई मनको आगोले पोलेको हुन्छ, हेर्दा शान्त देखिए पनि उनको मन रोएको हुन्छ।
(डा. साह स्त्री–रोग तथा प्रसूति विशेषज्ञ हुन्)