युवा नेताको अवमूल्यन

युवा नेताको अवमूल्यन
सांकेतिक तस्बिर।

नेपाली राजनीतिमा पुराना दलका दोस्रो तहका नेताहरू अहिले सबैभन्दा बढी जोखिममा छन्। आफ्नो जीवनको ठूलो हिस्सा व्यवस्था परिवर्तनका लागि समर्पित गरेका नेताहरू चेपुवामा परेका छन्। दोस्रो तहका नेताहरूले आन्दोलन, संघर्ष र विद्यार्थी राजनीति हुँदै आफ्नो राजनीतिक करियरको शिखरमा पुराना दलभित्र प्रवेश गरेका हुन्। तर, आज आफ्नै नेतृत्वका कारण पेलानमा परेका छन्। गगन थापा, योगेश भट्टराई, र रामकुमारी झाँक्रीजस्ता युवा नेताहरू ज्वलन्त उदाहरण हुन्, जहाँ उनीहरूको राजनीति असमझदारी, निराशा र सीमित अवसरको बीचमा फसेको छ।

नेपाली विद्यार्थी आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्, नेतृ झाँक्री। बोल्नमा प्रखर, संगठनात्मक रूपमा बलियो र देशको राजनीतिक परिवर्तनका लागि ज्यान दिएर लागेकी झाँक्री अहिले अलपत्र झैं छिन्। हाल उनी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा छन्, तर पार्टीभित्रै विश्वासको कमीले गर्दा उपाध्यक्षको चुनाव हारेपछि उनी निराश देखिन्छिन्। अहिले विभिन्न सञ्चारमाध्यमहरूमा अन्तर्वार्ता दिँदै आत्मविश्लेषण गरिरहेकी छन्। यो आत्मसमीक्षाको भाव केवल भावुकता होइन, बरु उनले विगतमा आफ्नो जीवन र ऊर्जा जुन राजनीतिक परिवर्तनमा समर्पित गरेकी थिइन्, त्यसको निराशाजनक परिणाम हो। एकपटक मन्त्री बनेकी झाँक्री अहिले न दलमा प्रभावकारी छन्, न त युवा राजनीतिमा उनीहरूको उपस्थिति छ। प्रहरीको लाठी खाँदै गरेका आन्दोलनकारीहरूले दिएको योगदान अहिले उनीहरूले समर्थन गरेको नेतृत्वकै कारण ओझेलमा परेको छ। 

त्यस्तै, नेकपा एमालेका युवा नेता योगेश भट्टराई पनि राजनीतिक अन्योलमा छन्। कहिलेकाहीँ एमालेभित्रै विद्रोही देखिने भट्टराईले दशबुँदेमार्फत एमालेमै बसेका थिए। तर, त्यो निर्णयले उनी पार्टीभित्रको आफ्नो स्थान सुरक्षित गर्न असफल भए। एमालेभित्रको पुरानो गुटबन्दीमा उनी पनि फसे, जसले गर्दा उनी पुराना नेतृत्वको आक्रोशको सामना गरिरहेका छन्। युवाहरूको नजरमा उनी पुरानो दलको प्रतिनिधि पात्र बनेका छन्, जसलाई परिवर्तन चाहने नयाँ शक्तिले आलोचना गरिरहेको छ। अवसरका हिसाबले एक पटक मन्त्री भएका भट्टराई अहिले गालीको सिकार भएका छन्। उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई फकाएर पार्टीभित्रको क्षति न्यूनीकरण गर्ने प्रयास गरेका छन्, तर त्यो प्रयास पनि असफल जस्तै देखिन्छ। 

नेपाली कांग्रेसका महामन्त्री गगन थापा अर्को उदाहरण हुन्, जहाँ उनी दोस्रो तहको नेताको रूपमा संघर्षरत छन्। थापाले विद्यार्थी राजनीति हुँदै कांग्रेसमा महत्त्वपूर्ण स्थान बनाएका थिए। उनी कांग्रेस पार्टीभित्र प्रगतिशील नेता मानिन्छन्, तर पार्टी सभापति शेरबहादुर देउवाले उनलाई निरन्तर पेल्दै आएका छन्। थापा आफ्नो पार्टीको आन्तरिक गुटबन्दी र पुराना नेताहरूको दबाबबीच पनि आगामी निर्वाचनमा पार्टीलाई एक्लै चुनाव लडाउने एजेन्डा पास गर्न सफल भएका छन्। यो सानो सफलता भए पनि थापाले यसबाट केही सन्तोषको सास फेरेका छन्। तर, यो सफलताले उनको दीर्घकालीन राजनीतिक भविष्यलाई कति मद्दत पुु¥याउँछ, त्यो भने अनिश्चित नै छ।

यी तीन नेता मात्र प्रतिनिधि पात्र हुन्। नेपाली राजनीतिमा पुराना दलका थुप्रै दोस्रो तहका नेताहरू अहिले यस्तै समस्यामा फसेका छन्। उनीहरूले व्यवस्थापन र परिवर्तनका लागि संघर्ष गरे, निजी चाहनाहरूलाई त्यागे र देशको लागि ठूलो योगदान दिए। तर, आज उनीहरू नेतृत्वमा आउन असफल भएका छन्। पुराना नेताहरूको छायाँमा बाँधिएर बस्नुपर्ने अवस्था छ, जसले गर्दा उनीहरू असमझदारी, निराशा र सीमित अवसरको बीचमा छन्। यी नेताहरूको जीवनमा मुख्य समस्या भनेकै पुरानो नेतृत्वबाट आएको दबाब हो। आन्दोलनकारी नेताहरूले जति संघर्ष गरे पनि आज उनीहरूले अपेक्षित सम्मान र अवसर पाएका छैनन्। आफ्नो नेतृत्व सुधार्न र नयाँ दिशातर्फ अघि बढ्नको लागि विद्रोह गर्न पनि सकेका छैनन्। नयाँ शक्ति र युवाहरूले पुराना दलहरूलाई अस्वीकार गर्दै आएका छन्, जसको कारण दोस्रो तहका नेताहरू दोहोरो चेपुवामा परेका छन्। 

नयाँ शक्तिले पुराना दलका नेताहरूलाई परिवर्तनप्रति उदासीन र गतिहीन ठानेको छ। उनीहरू पुराना पार्टीभित्रको सुधारको सम्भावना न्यून देख्छन् र पुराना नेताहरूले अवसरहरू कब्जा गरेको भन्छन्। फलस्वरूप, दोस्रो तहका नेताहरू आफूले विगतमा गरेको संघर्षको सही मूल्यांकन नपाएजस्तो अनुभव गरिरहेका छन्। यो अनुभवले गर्दा उनीहरू निराशाजनक अवस्थामा पुगेका छन्। यो समस्या केवल नेताहरूको लागि मात्र नभएर, देशको राजनीतिक व्यवस्थाको लागि पनि खतरनाक बन्न सक्छ। देशलाई नेतृत्व दिन सक्ने योग्य नेताहरूलाई पुराना गुटबन्दी र नेतृत्वको असफलताले अवरुद्ध गरिरहेको छ। राजनीतिक व्यवस्थामा नयाँ नेतृत्व जन्मिनु स्वाभाविक हो, तर पुराना नेताहरूले नै नयाँ नेतृत्वको उदयमा अवरोध सिर्जना गर्दा देशको समग्र प्रगति प्रभावित हुन्छ। 

दोस्रो तहका नेताहरूको योगदानलाई नकारात्मक ढंगले प्रस्तुत गरिनु पनि अर्को चुनौती हो। उनीहरूले व्यवस्था परिवर्तनका लागि गरेको संघर्षलाई अस्वीकार गर्दै पुराना नेतृत्वको छायामा धकेलिनु देशको राजनीतिक भविष्यका लागि शुभ संकेत होइन। योगदान गरेकै आधारमा सबै थोक पाउनुपर्छ भन्ने सोच नहुन सक्छ, तर काम गर्ने अवसर नपाएर निरन्तर गाली खानुपर्ने अवस्था उनीहरूको लागि अस्वीकार्य छ। यस अवस्थाले केवल नेताहरूलाई मात्र होइन, पूरै राजनीतिक प्रणालीलाई नै कमजोर पार्ने जोखिम छ। राजनीतिमा सफल हुनका लागि केवल व्यक्तिगत योगदानले मात्र पुग्दैन। समय, परिस्थिति र नेताहरूको नेतृत्व क्षमताले पनि ठूलो भूमिका खेल्छ। तर, जब पुराना दलका नेताहरूले आफ्ना दोस्रो तहका नेताहरूलाई अवरुद्ध गर्छन्, त्यसले मुलुकलाई चाहिने नयाँ नेतृत्व जन्मिन कठिन बनाउँछ। यसका कारण पुराना नेताहरूले नयाँ नेतृत्वलाई जन्माउन नदिँदा, राजनीतिमा नकारात्मक प्रवृत्ति मौलाउँछ। यसले गर्दा आज पुराना दलका दोस्रो तहका नेताहरू निराश, अलमलमा र असमझदारीमा छन्। यो अवस्थामा उनीहरूले के गर्ने भन्ने स्पष्ट छैन। विद्रोह गर्न नसकेको भन्दै नयाँ शक्ति र युवाहरूको आलोचनामा परेका उनीहरू असमझदारीमा बाँचिरहेका छन्। 

यस परिस्थितिमा पुराना नेताहरूले आफ्नो भूमिका पुनः मूल्यांकन गर्नु आवश्यक छ। पुराना नेताहरूले नयाँ नेतृत्वलाई अवसर दिन तयार हुनुपर्छ, ताकि देशले सही नेतृत्व पाउन सकोस्। निराश नेताहरूको प्रयासले मात्रै देशलाई सही दिशा दिन सक्दैन। पुराना र नयाँ नेतृत्वले सहकार्य गर्न सकेमा मात्र देशको राजनीति र व्यवस्थापनले सही दिशा लिनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.