अख्तियारले सम्पत्ति शुद्धीकरणमा हाल्यो पहिलो मुद्दा

अख्तियारले सम्पत्ति शुद्धीकरणमा हाल्यो पहिलो मुद्दा
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले आमा जनक नन्दनी भट्टराईको नाममा २ रोपनी ११ आना १  पैसा १ दाम जग्गा किनेका थिए। तर, उक्त जग्गा घूसबापतको रकमबाट किनेको अख्तियारको दाबी छ। 

कोषमा कार्य गरिरहेका निर्माण कम्पनीबाट घूस लिएर ०७९  वैशाख २७ मा भट्टराईले आमाको नाममा भक्तपुर गुण्डु वडा नं.३ स्थित कि.नं. १३७४, क्षेत्रफल २–९–०–१ र कि.नं.१३७५, क्षेत्रफल ०–२–१–० को जग्गा खरिद गरेको अख्तियारको आरोप छ। कोषमा काम गरिरहेका बाबुल निर्माण सेवा एकल र अर्घाखाँची–बाबुल जेभीबाट १ करोड ८५ लाख घूस लिएको रकमबाट त्यो जग्गा किनिएको  अख्तियारको अनुसन्धानमा देखिएको छ।

लुम्बिनी विकास कोषबाट बोलपत्र आह्वान भई बाबुल निर्माण सेवाले एकल तथा जेभीमा बोलपत्र प्रस्ताव गरी आर्थिक वर्ष २०७५/०७६ भन्दा पछि ५ करोड वा सोभन्दा बढी सम्झौता रकमका १ अर्ब ३७ करोड २५ लाख ९७ हजार ६०३ रुपैयाँ बराबरका ठेक्का पाएका थिए।  

तत्कालीन प्रमुख भट्टराईले ठेक्का सम्झौता गर्न सहजीकरण तथा  मिलाई दिएबापत बाबुल निर्माण सेवाका प्रोप्राइटरसँग घूस रकम पठाउन भनी बैंक खाता नम्बरहरू उपलब्ध गराएको  अनुसन्धानमा पाइएको छ। मूल्यांकन समितिका संयोजकसमेत रहेका भट्टराईलाई बाबुल निर्माण सेवाको प्रोप्राइटरले सिधै ८० लाख रुपैयाँ घूस÷रिसवत बापत जम्मा गरे÷गराएको  पाइएको छ। त्यस्तै बाबुल निर्माण सेवाको प्रोप्राइटरले वकालतनामा  पाई  आफ्नो एकल दस्तखतबाट सञ्चालित अर्घाखाँची–बाबुल जेभीको खाताबाट विभिन्न बैंक खातामा १ करोड ५ लाख रुपैयाँ घूस÷रिसवत वापतको रकम दिएको देखिएको छ।  भट्टराईले यसरी घूसबापत लिएको  रकमबाट भक्तपुर, साबिक गुण्डु गाविस वडा नं.३ हालको सूर्यविनायक नपा वडा नं. ७ स्थित कि.नं. १३७४ र १३७५, क्षेत्रफल क्रमशः २–९–०–१ र ०–२–१–० का जग्गा आमा जनक नन्दनी भट्टराईको नाममा खरिद गरेको देखिएकोे अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

भट्टराई र उनकी आमाविरुद्ध घूस रिसवत लिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धीसमेत कसुर गरेको अख्तियारको दाबी छ। प्रवक्ता भट्टराईका अनुसार आमा छोराले भ्रष्टाचारजन्य कसुर गरी आर्जन गरेको  १ करोड ८५ लाख सम्पत्तिको गैरकानुनी स्रोत (इलिसिट अरिजिन) लुकाउने छल्ने उद्देश्यले जग्गामा लगानी गरी सम्पत्तिको गैरकानुनी स्रोत (इलिसिट अरिजिन) लुकाउने, रूपान्तरण तथा हस्तान्तरण गर्ने कार्य गरी÷गराई सम्पत्ति शुद्धीकरण अन्तर्गतको कसुरसमेत गरेको  पाइएको छ। उनीहरूविरुद्ध घूस रिसवत  तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धीसमेत कसुर गरेको सम्बन्धमा मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। कोषका तत्कालीन योजना प्रमुख भट्टराईविरुद्ध घूस÷रिसवतबापत भ्रष्टाचार गरी आर्जन गरेको आरोपमा १ करोड ५ लाख बिगो जरिवानासहित १० वर्षको कैद सजायको माग दाबी गरिएको छ। घूसबापतको रकमबाट खरिद गरेकोे जग्गा जफतको पनि मागदाबी गरिएको छ। अख्तियारले सरोज भट्टराईकी आमा जनक नन्दनीलाई पनि प्रतिवादी बनाएको छ। 

मुख्य कसुरदार छोरा सरोज भट्टराईसँगको मिलेमतो तथा योजनामा जग्गा आफ्नो नाममा खरिद गरी लाभ प्राप्तसमेत गर्ने प्रकृतिको मतियार भई  काम गरेको आरोपमा जनक नन्दनीविरुद्ध मुद्दा चलाइएको छ। जनक नन्दनीविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा २२ बमोजिमको कसुरमा छोरा सरोजको भन्दा आधा सजायको दाबी गरिएको छ । 

उनको नाममा रहेको भक्तपुर साविक गुण्डु गाविस वडा नं. ३ स्थित कि.नं. १३७४ र १३७५, क्षेत्रफल क्रमशः २–९–०–१ र ०–२–१–० जग्गा जफतको  मागदाबी गरिएको छ। 

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धीसमेत कसुर 

उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धीसमेत कसुरमा पनि मुद्दा चलाइएको छ।  भट्टराई आमा छोरालाई प्रचलित सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ मा परिभाषित एवं निषेधित कसुरजन्य वारदात कार्यसमेत भए गरेको अनुसन्धानका क्रममा संकलित सबुद प्रमाण एवं कागजातबाट देखिएको अख्तियारका प्रवक्ता एवं सहसचिव घिमिरेले जानकारी दिए।   

सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गरी मुद्दा हालेको अख्तियारको यो  पहिलो हो। घूसबाट पाएको १ करोड ८५ लाख रकम बैंक तथा वित्तीय संस्थाहरूमा प्रवेश गराउने कार्य गरेको देखिएको छ।  गैरकानुनी सम्पत्तिको प्राप्तिको चरण भएकाले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरबाट प्राप्त सम्पत्तिको शुद्धीकरण गर्ने क्रममा कसुरबाट प्राप्त सम्पत्तिको स्रोत लुकाउने, छिपाउने काम गरेको अनुसन्धानमा देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।  

 घूसको सम्पत्तिलाई बहुतहमा कारोबार गर्ने गराउने कार्य गरी सम्पत्तिको तहीकरण गरेको अख्तियारले जनाएको छ। त्यस्तै  बहु तहको कारोबारबाट सम्पत्तिको स्रोत तथा कारोबारमा जटिलता सिर्जना गरिसकेपछि कसुरबाट प्राप्त सम्पत्ति र गैरकानुनी स्रोतको सम्बन्ध अन्त्य भएको विश्वास गरी÷गराई निजी लाभका लागि प्रतिवादी भट्टराईले आमा जनक नन्दनी भट्टराईको नाममा जग्गासमेत खरिद गरेको आरोप पत्रमा छ। घूस÷रिसवत बापतको रकमबाट जग्गा खरिद गरी सम्पत्तिको एकीकरण गरेको पुष्टि भएकाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनबमोजिमको कसुर तथा सजाय मागदावीसँगै बिगो असुल उपरको थप मागदावी गरिएको छ। कसरी बैंकमार्फत घूस लिए भट्टराईले ?    

भट्टराईले आइते लामाबाट आमा जनक नन्दनीको नाममा जग्गा किनेका थिए। आइते लामालाई कोषका ठेकेदार नानीकाजी थापा र बेन्जु थापामार्फत सानिमा बंैक र कृषि विकास बैंकमार्फत विभिन्न मितिमा घूस रकम जम्मा गरिएको थियो। 

नानीकाजी  र बेन्जु थापामार्फत खानी अर्घाखाँची जेभीको खाताबाट विभिन्न मितिमा १ करोड ५ लाख रकम तामाङको खातामा जम्मा गराइएको छ। त्यस्तै बबुल निर्माण सेवा र अर्घाखाँची बुबल जेभीको खाताबाट आइते तामाङको कृषि विकास बैंकको खातामा ८० लाख रकम जम्मा गराएको छ। त्यसपछि भट्टराईकी आमा जनक नन्दनीको नाम जग्गा हस्तान्तरण भएको छ। सञ्चालित खानी अर्घाखाँची–बाबुल जेभी, लुम्बिनी अर्घाखाँची बाबुल जेभी र अर्घाखाँची बाबुल जेभी थापाका एकल दस्तखतबाट सञ्चालित कम्पनी हुन्। यी निर्माण कम्पनी कोषमा कार्य गरिरहेका निर्माण कम्पनी  हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.