कांग्रेस, एमाले एक्लाएक्लै चुनाव लड्ने, माओवादी झनै अप्ठ्यारोमा
काठमाडौं : २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीले समानुपातिकतर्फ पायो– ३१ लाख ४४ हजार २ सय ४ मत। त्यस बेला माओवादीको आकार यति ठूलो थियो कि– कांग्रेस र एमाले मिल्दा पनि माओवादी जति पुग्दैनथे। उनीहरू त कति साना, कति साना। संविधानसभामा ठूलो पार्टी बने पनि माओवादीले संविधान निर्माण र शान्ति प्रक्रियाको नेतृत्व लिन सकेन। संविधान नबनाइ सभा बिघटन भयो। त्यसपछि ०७० मा दोस्रो संविधानसभा निर्वाचन भयो।
माओवादीको साइज एक्कासि घट्यो। माओवादीले समानुपातिकमा जम्मा १४ लाख ३९ हजार ७ सय २६ मत मात्रै पायो। त्यसपछि माओवादी झन्–झन् ओरालो लाग्यो। ०७४ को संसदीय निर्वाचनमा १३ लाख ३ हजार ७ सय २१ मात्रै प्राप्त गर्यो। ०७९ को निर्वाचनमा अझै घट्यो। ११ लाख ६२ हजार ५१ मतमै समेटिन बाध्य भयो। अर्थात्, १५ वर्षको अवधिमा माओवादीले १९ लाख ८२ हजार १ सय ५३ मत गुमाएको छ। यही तथ्यांकले भन्छ– माओवादीको यात्रा निरन्तर ओरालोतर्फ छ।
पछिल्ला दुई निर्वाचनमा अरू दलसँग गठबन्धन गरेर तेस्रो स्थानमा पुगेको माओवादीका लागि अबका दिन पनि निकै कठिन देखिन्छन्। किनभने, कांग्रेस र एमालेले अब कसैसँग चुनावी गठबन्धन नगरी एक्लाएक्लै चुनाव लड्ने निर्णय गरिसकेका छन्। त्यस्तो अवस्थामा एक्लै चुनाव लड्दा माओवादीको आकार झनै खुम्चिने भन्दै माओवादीका नेता चिन्तित छन्।
माओवादीले जनताबाट किन निरन्तर विश्वास गुमाउँदै गइरहेको छ ? पार्टीका केन्द्रीय सदस्य सुदन किराती भन्छन्, ‘हाम्रो कथनी र करणी मिलेन।’ पार्टी नेतृत्वले जनताको अल्पकालीन र दीर्घकालीन समस्यालाई विभाजन गर्न नसकेको उनको ठम्याइ छ। ‘कुरा एउटा गर्ने, काम अर्को गर्दा जनतामा माओवादीले विश्वास गुमाउँदै गयो’, नेता किरातीले भने, ‘अर्को कुरा माओवादीसँग जनताको अपेक्षा पनि धेरै ठूलो भयो। अहिलेलाई यति मात्रै गर्न सक्छौं भनेर जनतामा स्पष्ट पार्न सकेनौं।’
जनतासँगको सम्बन्ध कमजोर हुँदा माओवादीको राम्रो कामको प्रचार पनि हुन नसकेको उनको विश्लेषण छ। ‘जहिले पनि हामी ठूलो कुरा गर्यौं, अहंकारी कुरा गर्यौं,’ किराती भन्छन्, ‘भुइँ देखेनौं, आकाश मात्रै हेर्यौं। त्यसैको परिणामले माओवादी कमजोर भयो।’
०६३ मा १० वर्षे सशस्त्र युद्ध छोडेर शान्ति प्रक्रियामा आउँदा मुलुकमा माओवादीको रापताप थियो। त्यसैकारण ०६४ को पहिलो संविधानसभामा माओवादी देशको ठूलो दल बन्यो। अहिले बिस्तारै त्यो शक्ति क्षिण हुँदै गएको छ। पार्टी फुटेर टुक्राटुक्रा भयो। कति नेताकर्ताहरूले विदेश गए, कतिले पार्टी छाडे। अहिले नेपाली राजनीतिको दौडमा माओवादी निरन्तर ‘ब्याकगियर’मा छ।
डेढ दशकको अवधिमा मुलुकमा चारवटा निर्वाचन भए। यो अवधिमा माओवादीले समानुपातिक निर्वाचन प्रणालीतर्फको कहिले एमालेको साथमा त कहिले कांग्रेसको काँधमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) रमाए। अनि पार्टी जोगाए। हालै १८ महिनासम्म तेस्रोपटक प्रधानमन्त्रीको स्वाद पनि चाखे। तर, आउँदो ०८४ को चुनावमा एमाले र कांग्रेसले एक्लै चुनाव लड्ने निर्णय गरेका छन्। यो सँगै माओवादी अध्यक्ष प्रचण्ड डराएका छन्। अब सक्किने हो कि ? भन्ने चिन्ताले प्रचण्डमा छटपटाहट देखिन्छ।
कांग्रेस एमालेको निर्णयले झस्क्यो माओवादी
भदौ १६ मा कांग्रेसको केन्द्रीय समितिले निर्णय गर्यो ‘०८४ को निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्छ। त्यसका लागि पार्टीलाई बलियो र एकीकृत गरेर लैजानुपर्छ। कांग्रेसको बैठक लगत्तै भदौ १८ र १९ मा एमाले पोलिटब्युरोको पनि बैठक बस्यो। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरे, ‘वामपन्थीको नाममा अब कुनै मोर्चा बन्दैन। आउँदो निर्वाचनमा एमालेले नीति तथा कार्यक्रमको आधारमा एक्लै चुनाव लड्छ।’
असार २८ मा सत्ताबाट झरेपछि प्रचण्डले वामपन्थी एकता र समाजवादी मोर्चालाई बलियो बनाउने रणनीति लिएका थिए। तर, एमालेले वामगठबन्धन नबनाउने निर्णय गरेपछि प्रचण्ड थप अप्ठ्यारोमा परे। एमाले अध्यक्ष ओलीले भनेका छन्, ‘अब चुनावमा कसैको वैशाखी टेक्दैनौं। पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौं।’
यो सँगै माओवादी अध्यक्ष प्रचण्डको सत्ता बार्गेनिङ र शक्तिआर्जन गर्ने बाटोमा छेकबार लागेको छ। उनी यसले अत्तालिएका छन्। अब के गर्ने ? उपायको खोजीमा माओवादी अध्यक्ष प्रचण्ड देशदौडाहामा छन्। सिरहा पुगेका प्रचण्डले भदौ २५ को कार्यक्रममा भने, ‘अब अर्काको बैसाखीमा होइन, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं।’
०७९ मा कांग्रेस सहितका दलसँग मिलेर माओवादीले चुनाव लडेको थियो।
त्यसअघि ०७४ मा एमालेसँग गठजोर बनाएर माओवादी चुनावी मैदानमा गयो। एमाले र माओवादीको पार्टी एकता टुटेपछि प्रचण्डले कांग्रेससहितका दलसँग साँठगाँठ गरेका थिए। अब कांग्रेस र एमाले कुनै दलसँग गठबन्धन नगरी ०८४ को चुनाव लड्ने औपचारिक निर्णय गरेसँगै माओवादी बिलखबन्दमा परेको देखिन्छ।
माओवादी र एमालेबीच त सम्बन्धमा तित्तता बढ्दै गएको छ। संसदभत्र र बाहिर ‘हिंसा’ शब्दले माओवादी पछिल्लो समय निकै हैरान छ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले भदौ १५ गते एक कार्यक्रममा माओवादीले चलाएको १० वर्षे आन्दोलन जनयुद्ध नभएर हिंसा रहेको कडा टिप्पणी गरेका थिए। त्यस यता माओवादी—एमालेबीच संसद्मा वादप्रतिवाद भइरहेको छ। बुधबारको प्रतिनिधिसभा सदस्यको बैठकमा ‘हिंसा’ शब्दकै बहसले माहौल तातिदा बैठक अबरुद्ध नै भयो। १० वर्षे जनयुद्धको मर्म माओवादीले पुष्टि गर्न नसकेको एमालेको आरोप छ।
शक्ति आर्जनको जुक्ति खोज्दै प्रचण्ड
प्रतिनिधिसभामा ३२ सिट भए पनि माओवादी अध्यक्ष प्रचण्डले राजनीतिमा उथलपुथल गरे। १८ महिना प्रधानमन्त्री बने। जसलाई उनले ‘३२ सिटे जादु नम्बर’ भनेका थिए। एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवा मिलेर प्रचण्डको सरकार ढाले।
एमालेको बैशाखीमा प्रचण्ड सरकार बनेको थियो। सबै जुक्ति फेल खाएपछि प्रचण्ड अहिले शक्ति आर्जनका लागि सबैखाले बल लगाइरहेका छन्। जब–जब प्रचण्ड सत्ता बाहिर पुग्छन्, अनि मात्रै पार्टी संगठन र निमुखा जनताका मुद्दाको झल्को आउँछ।
‘अब पार्टीभित्र धोका दिनेहरू जोकोही भए पनि क्षम्य हुने छैन’, प्रचण्ड भन्छन्, ‘आफ्नै बलमा सरकार बनाउन माओवादी अघि बढिसकेको छ। हरेक नेता कार्यकर्ताले मिसन २०८४ मा माओवादीको बहुमतको सरकार बनाउने गरी काम गर्र्नुबाहेकको अर्को विकल्प छैन।’ प्रचण्डले एमाले र कांग्रेस मिलेर लोकतन्त्र सिध्याउन लागेको आरोप लगाउन थालेका छन्। ‘कांग्रेस र एमाले पहिलो तथा दोस्रो पार्टी मिलेर लोकतन्त्र सिध्याउन र भ्रष्टाचारी जोगाउन लागिपरेका छन्। संविधान संशोधनका नाममा जनअधिकार खोस्नतर्फ सरकार अगाडि बढे माओवादीले सडक र सदनबाट त्यसलाई रोक्ने छ।’
माओवादीले नेताहरू भने आफूमा लागेको धुलोमैलो सफा नगरेसम्म पार्टी बन्न नसक्ने अध्यक्ष प्रचण्डलाई सुझाव दिइरहेका छन्। भदौ २३ गते माओवादी केन्द्रको कोशी प्रदेशस्तरी परामर्श बैठकमा केन्द्रीय सदस्य किरातीले पार्टी अध्यक्ष प्रचण्डको कडा आलोचना गरेका थिए। उनले ६ बुँदे फरक प्रस्ताव पनि पेस गरेका थिए। प्रचण्डले समाजवादको रटान लगाए पनि कस्तो खालको समाजवाद ? भन्ने पार्टीसँग स्पष्ट नीति नभएको बैठकमा नेता किरातीले बोलेका थिए।
‘पार्टीलाई अहिले मूल आवश्यकता रणनीति र कार्यनीतिलाई मूर्तरूप दिनु हो। नेपाली मौलिकतामा समाजवादी विचारको विकास गर्नु हो’, पार्टी अध्यक्षलाई बुझाएको फरक मतमा भनिएको छ, ‘आज हाम्रो समाजवाद बर्मझियाको असली बुढो बाजेको पेडाजस्तै भएको छ। सबै दलले समाजवाद भन्छन् तर कसको समाजवाद कस्तो
हो ? स्पष्ट छैन।’ उनले पार्टी अध्यक्ष प्रचण्डसँग विचारको विकास गर्न ‘देश महायात्रा’ सञ्चालन गर्न माग गरेका छन्। पार्टीको संगठनात्मक संकटको निदान, नेतृत्व निर्माण र पार्टीप्रति गुमेको जनताको विश्वास फर्काउनु अहिलेको मुख्य आवश्यकता रहेको नेता किरातीको भनाइ छ।
माओवादीभित्र अन्तरकलह झागिँदै
झन्डै चार दशकदेखि प्रचण्ड पार्टीको नेतृत्वमा छन्। यसले नेता तथा कार्यकर्ताहरूमा तीव्र असन्तुष्टि पैदा गरेको छ। गुट, फुट, स्वार्थ र असन्तुष्टिले पार्टीभित्र असन्तोष भुसको आगो जस्तै फैलिँदै छ। प्रचण्डले पार्टी नेतृत्व छोड्नुपर्ने भन्दै पदाधिकारी बैठकमा उपमहासचिव जनार्दन शर्मा(प्रभाकर)ले फरक मत राखी सकेका छन्। तर, नेतृत्व पंक्ति त्यसप्रति खासै चिन्तित नरहेको भन्दै माओवादी नेताहरूको आक्रोश छ। पार्टी सकिँदा नेता कार्यकर्ताहरूमा राजनीतिक जीवन पनि सक्किने भन्दै पार्टीभित्र चिन्ता भइरहेको छ।
दुई दशकको शान्तिपूर्ण राजनीतिमा प्रचण्ड निकै कमजोर पात्र बन्न पुगेका छन्। निकै दबाबपछि पार्टीको अवस्थाबारे सूचना बटुल्न र कार्यकर्तासँग छलफल गर्न प्रचण्ड देश दौडाहामा छन्। अहिले उनी संघीयताको आधारभूमि मधेसमा छन्।
भदौ २५ र २६ गते मधेस प्रदेशस्तरीय परामर्श बैठक बर्दिबासमा गरे। महाधिवेशन भएको ३ वर्षमा पनि प्रदेश कमिटी गठन भएका छैनन्। गुटउपगुटले पार्टीमा ‘क्यान्सर’ को रुप लिँदै छ। ३२ वटा निर्वाचन क्षेत्र रहेको मधेस प्रदेशमा प्रतिनिधिसभा सदस्य—२०७९ को चुनावमा माओवादीको पत्तासाफ भएको थियो। पार्टीका छलफल पिच्छे पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नुपर्ने सवाल जोडले उठ्ने गरेको छ।
‘माओवादी पार्टी फुट्दै छ ? ’ कार्यकर्ताले उनलाई प्रश्न गरिरहेका छन। किन भने यस अघि माओवादी पटक–पटक फुटिसकेको छ। कार्यकर्ताले गर्ने तिखो प्रश्न र आलोचनाले प्रचण्ड हायलकायल देखिन्छन्। पार्टीमा कुनै गडबडी छैन भनेर महासचिव देव गुरुङ र अध्यक्ष प्रचण्डले हालै सर्कुलर पठाएका थिए। तर, पनि पार्टीभित्रको विवाद, अन्तरकलह, गुटउपगुट रहेको स्कुर्लरमै भनिएको छ। जुन विवाद भुइँतहमा झन्–झन् झागिँदै गएको छ। हरेक परामर्श तथा छलफलमा पार्टीलाई नयाँ उचाइमा पुर्याउन पुराना नेतृत्व बाधक भयो ? कार्यकर्ताले प्रचण्डलाई प्रश्न गर्छन्। यो सवाल पार्टीको शीर्षस्थतहदेखि तल्लोतहसम्म जोडले उठिरहेको छ। ‘कहिलेसम्म अर्काको बैशाखी टेकेर पार्टी चलाउने प्रचण्डजी’, यस अघिको माओवादी पार्टीको बागमती प्रदेशस्तरी बैठकमा नेताहरूले भनेका थिए, ‘अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुस्, तपाईंहरू संरक्षक बनेर पार्टीलाई उठाऔं।’
माओवादीमा एकल नेतृत्वले नेता तथा कार्यकर्ताहरू असन्तुष्टि बढेको राजनीतिक बिश्लेषक श्याम श्रेष्ठ बताउँछन्। ‘पार्टीमा असन्तोष निकै चर्को ढंगले बढेको देखिन्छ। ३०—४० वर्षसम्म प्रचण्ड पार्टीको नेतृत्वमा रहे। ‘नेतृत्व छोड्ने पनि होइन् राम्रो काम पनि गर्दैनन्’ भन्ने खालको असन्तोष पार्टीभित्र तीव्र छ’, उनी भन्छन्, ‘दोस्रो तहको नेता पनि बुढो हुन लागे। पहिलो तहको नेताले पनि नेतृत्व छोड्ने होइन्।
‘ती नमरेसम्म छोड्ने होइन कि क्या हो’ अरुलाई लाग्छ।’ प्रचण्डमाथि उठेको सवालमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भन्छन्, ‘पार्टीको सामूहिक अभिव्यक्ति नै प्रचण्डजी हो। त्यसैले पार्टीमा अहिले उहाँको विकल्प छैन।’
कांग्रेस र एमाले मिलेर सरकारबाट गलत्याएपछि प्रचण्डको शक्ति क्षीण भएको अर्का राजनीतिक विश्लेषक चन्द्रकिशोर सुनाउँछन्। उनका अनुसार माओवादीको सुरुको एजेन्डा, जनतामा गरेको प्रतिबद्धताभन्दा माओवादी धेरै टाढा गइसकेको छ।
चन्द्रकिशोर भन्छन्, ‘केहीले पार्टीभित्रको स्रोतसाधान र पावरको बाँडफाँडमा असन्तुष्ट छन्। पार्टीभित्र आफू निर्णायक छैन भन्ने ठानिरहेका छन्। यो अवस्थालाई नेतृत्वले व्यवस्थापन नगर्दा धेरैले पार्टी छोडेर एमालेमा गएका छन्। यस्तै विवाद रह्यो भने भोली पार्टी फुट्छ। अहिले माओवादी अन्तरिक र बाह्य रूपमा किनै गम्भीर अवस्था पुगेको छ।’
प्रचण्डको स्वच्छाचारी प्रवृत्तिले नेता÷कार्यकर्ता आजित
पार्टीका उपमहासचिव शर्माले नेतृत्व हस्तान्तर गर्नु पर्ने एजेन्डा उठाएपछि पार्टीको विवाद फैलिँदो छ। त्यो विवाद पार्टीको पदाधिकारीदेखि केन्द्रीय कमिटिसम्म पुगेको छ। नेतृत्वकै कारणले पार्टी फुट्ने हो कि ? भन्ने चिन्ता बढ्दै गएको छ। तर, प्रचण्ड दाबी गर्दै भन्छन्, ‘झगडा हुँदै छ। फुट्ने हो कि ? भनेर कसैले हाम्रो पार्टी फुटाउन सक्दैन। बरु फुटेर गएका माओवादीहरूलाई एकताबद्ध हुन्छन्। एकतावार्ता हुँदैछ। त्यसका लागि प्रयासमा छौं। टेन्सन नलिनुहोला। हामी मिल्छौं।’ तर, विगतमा माओवादीका ठूला नेताहरू प्रचण्डको स्वच्छाचारी प्रवृत्तिले आजित नभएका होइनन्। बाबुराम भट्टराई, मोहन वैध, नेत्रविक्रम चन्द विप्लब जस्ता थुप्रै नेताले प्रचण्डसँग ‘डिभोर्स’ गरे। कोही एमालेमा गए त कसैले नयाँ पार्टी खोले। अब फेरि उनीहरू प्रचण्डसँग ‘मित्रता’को साइनो लगाउँछन् कि सचेत बन्छन्? त्यो अहम प्रश्न छ।
हालैको पदाधिकारी तथा स्थायी कमिटी बैठकमा प्रचण्डको एकल र एकहोरो नेतृत्व र निर्णयको विरुद्धमा नेता शर्मा पहाड झैं उभिए। प्रचण्डले नेतृत्व हस्तान्तरणको विषयलाई दस्तावेजमा राख्ने र केन्द्रीय कमिटीमा छलफलका लागि पेस गर्न तयार भएका थिए। अहिले त्यो विषय जारी प्रदेश कमिटीका बैठकहरूमा दिनहुँ उठ्ने गरेको छ। अधिकांस नेताहरू भन्छन्, ‘अब कामरेड प्रचण्ड पार्टीको अध्यक्ष हुन पार्टीभित्र चुनाव लडेर आउनुपर्छ।’
प्रचण्डले अबसर पाउँदा पनि आफूलाई कहिले ठूलो बनाउन सकेका छैनन्। एमाले र माओवादी मिलेर नेकपा बन्दा उनी गुटमै रमाए। त्यसको धक्का प्रचण्डलाई जोडले लागेको होइन्। त्यो बेला माओवादीका ठूला नेतालाई एमालले तान्यो। तर, माधव नेपालसँग मिलेर प्रचण्ड रमाए। आजित माओवादी नेताहरू प्रचण्डलाई त्यो बेला छोडे। लेखक राजेश विद्रोही भन्छन्, ‘प्रचण्डले जहिले पनि अरूको संरक्षण खोजे। आफ्नो पटुकी बाँध्न सकेनन्।’
अब ‘टिके प्रथा’ विरुद्ध उपचार
प्रचण्डले चार दशकदेखि चलाइरहेको ‘टिके प्रथा’ विरुद्ध यसअघि पार्टीभित्र नयाँ पुस्ताहरूले बलियो ढंगले उपचार खोजेका थिए। जसका कारण पार्टी विधान सम्मेलनबाट यसअघि सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट कमिटी चयन गर्ने निर्णय लिन प्रचण्ड बाध्य भएका थिए। अब प्रचण्डले स्वतः नेतृत्व हस्तान्तरण गर्ने कि चुनावबाट हटाउने ? भन्ने सवाल कार्यकर्ता सामु छ।
राजनीतिक विश्लेषक रामरिझन यादवले माओवादी पार्टीभित्र पूर्वमाओवादीहरूले बुझी बुझाउ अभिनय गरिरहेको बताउँछन्। ‘प्रचण्ड विरुद्धमा प्रभाकर(जनार्दन) उभिए। वास्तबमा प्रचण्डको विरुद्धमा उहिले पनि प्रभाकर थिएनन् र अहिले पनि रहँदैनन्’, उनी भन्छन्, ‘पूर्वमाओवादीबाटै यस्तो नेताहरूलाई जोगाउ कि पूर्वजनमोर्चाबाट आएका नारायणकाजीलाई भविष्यमा ठक्कर दिन सकोस् भन्ने अभिप्रायले प्रचण्ड र प्रभाकरबीच विवादको सिर्जना गर्न खोजिँदै छ।’ त्यसैकारणले अहिले पार्टीभित्र र पार्टीबाहिर प्रभाकरको भावी नेतृत्वका रूपमा चर्चा गरिएको उनको दाबी छ।
नेतृत्व हस्तान्तरणको एजेन्डा उठाउँदा उपमहासचिव शर्माले पार्टी नै फुटाउन लागेको आरोप लगाएको सुनिन्छ। नेता शर्माले ४० वर्षको माओवादी पार्टी जीवनमा प्रचण्डबाट हेपिएको दुःखेसो पोख्छन्। नेतृत्वको सवालमा प्रचण्ड र उपमहासचिव शर्माबीच पार्टीका कार्यक्रममा असन्तुष्टि र पार्टी फुटबारे सवाल जवाफको ‘हाजिरी जवाफ’ चलिरहेको छ।
प्रचण्डले आफूलाई कहिले माओवादी नै नठानेको नेता शर्माको प्रश्न छ। ‘एमालेसँग एकता गर्न भन्नुभयो केपी ओलीको मान्छे भए। कांग्रेससँग सहकार्य गर भन्नुभयो। अनि म कांग्रेसको भए। माओवादी हुने ठाउँ छ कि छैन अध्यक्ष कामरेड म ? ’ काठमाडौं–रुकुम पश्चिम सम्पर्क समन्वय समितिको बैठकमा प्रचण्डलाई प्रश्न गर्दै शर्माले भने, ‘माओवादीको कहिले हुन्छु होला म ? माओवादीको कहिले हुन्छु होला म ? हुन पाउनु परो नि, ४८ वर्ष भयो पार्टीमा लागेको म। माओवादी हुन पाउनु पर्दैन म ? प्रचण्डको कहिले हुन्छु होला म ? देउवा, केपीको मात्रै हुने भए। तपार्इं(प्रचण्ड)को म हुन पाउँदैन ? त्यसकारण तथ्य, तथ्य हो। भ्रम सिर्जना गरेर केही पनि हुने होइन।’
यसै कार्यक्रममा प्रचण्डले उपमहासचिव शर्मालाई प्रसंगहरू झिक्दै झपारेका थिए। यसले माओवादीभित्रको अन्तरकलह झाँगिदै गएको चर्चा छ। ‘पार्टीभित्रको आशंकालाई चिर्नका लागि उपायका र विधिका बारेमा समझदारी बनेको छ। त्यसकारण प्रभाकरले अब ममाथि अत्याचारका अत्याचार भनिराख्नु जरुरी छैन। तपाईंले उठाएका विषयमा बहस भएर राम्रै भयो’, प्रचण्डले भने, ‘तपाईंले उठाएका विषयमा फरक ढंगले मुल नेतृत्वले लिएर धर्यतापूर्वक २ घण्टा सुनेर सम्बोधन गर्ने थिएन। अब त्यो कुरालाई का. प्रभाकरले गहिरो गरी आत्मसाथ गर्नुपर्छ। पार्टी फुटको कुरालाई सम्बोधन गरिएको छ। पार्टी फुटको कुरालाई खारिज गरिएको छ। त्यो भ्रममा कोही पनि नपरोऔं।’
माओवादी केन्द्रको स्थायी समिति बैठकबाट पार्टीलाई एक ढिक्का बनाउने निर्णय भएको पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटा दाबी गर्छन्। ‘अन्तरसंघर्षको समय होइन् यो, वर्ग संघर्षको समय हो’, उनले भने, ‘बरु सदन र सडकलाई प्रभावकारी बनाउनुपर्छ त्यसमा सबैको सहमति भइसक्यो। पार्टी एकताबद्ध हुनुपर्छ।’
प्रचण्डको कहिले हुन्छु होला म ? , जनार्दन शर्मा (प्रभाकर), उपमहासचिव, माओवादी केन्द्र
अरूले चाहेर पनि पार्टी फुट्ने होइन्। पार्टी फुटाउन पनि खोजिएको होइन। जंगलको बाघले खाओस् नखाओस् , तर मनको बाघले खाएर तर्सित भएको मात्रै हो। एमालेसँग एकता गर्नु भन्नुभयो केपी ओलीको मान्छे भए। कांग्रेससँग सहकार्य गर भन्नुभयो। त्यो गर्न बार्ता गरे। अनि म कांग्रेसको भएँ। माओवादी हुने ठाउँ छ कि छैन अध्यक्ष कामरेड म ? माओवादीको कहिले हुन्छ होला म, माओवादीको कहिले हुन्छु होला म ? हुन पाउनु परो नि, ४८ वर्ष भयो पार्टीमा लागेको म। माओवादी हुन पाउनुपर्दैन म ? प्रचण्डको कहिले हुन्छु होला म ? देउवा, केपीको मात्रै हुने भए। तपाईं(प्रचण्ड)को म हुन पाउँदैन ? त्यसकारण तथ्य, तथ्य हो। भ्रम सिर्जना गरेर केही पनि हुने होइन।
‘प्रभाकरले ममाथि अत्याचारका अत्याचार भनिराख्नु जरुरी छैन’: पुष्पकमल दाहाल(प्रचण्ड), अध्यक्ष, माओवादी केन्द्र
प्रभाकरजी र मेरो स्वभाव सिंगै देशले बुझेकै कुरा छ। त्यो स्वभावका कारण अगुल्टो ठोसिएझै बेला–बेलामा ठोसिएकै छौं। अहिले मात्रै होइन्, जनयुद्ध कालमा पनि, शान्तिकालमा पनि ठोसिएकै हौं। यो विवाद र बहसले पार्टीलाई अझै एकताबद्ध गर्न, उहाँ र मेरो बीचमा हुने आशंका दुर गर्न र आपसी सम्झदारीलाई बलियो बनाउनेमा म विश्वास गर्छु। पार्टी फुट्छ कि भन्ने भ्रम छ। मैले त प्रभाकरले पार्टी फुटाउँदै छन् भनेर कहीँ भनेको होइन्। सोचेको पनि छैन। तर, भ्रमै भ्रम, भ्रमै भ्रम छ।