कैलालीमा भारी वर्षा, नदीमा पानीको सतह बढ्दै
टीकापुर : बिहीवार बिहानदेखि कैलालीका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कैलालीको अत्तरिया, बलिया, बचैलामा भारी वर्षा भएको हो ।
विभागले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ८ को बचैलामा १५८, अत्तरियामा १५५.६ र लम्कीचुहाकै बलियामा १४३.८ मिलिलिटर वर्षा भएको छ ।
बचैलामा सर्वाधिक वर्षा भएको हो । हावापानी मापन केन्द्र टीकापुरमा पछिल्लो २४ घण्टामा ११४ मिललिटर वर्षा भएको छ । लगातारको वर्षाका कारण कैलालीको दक्षिणी नदी तटीय क्षेत्रका बस्तीहरु जलमग्न भएका छन् । भजनी नगरपालिका, जानकी गाउँपालिका र कैलारी गाउँपालिकाका बस्तीहरू जलमग्न भएका हुन् ।
मौसम विज्ञान विभागका अनुसार कैलालीको खुटिया नदीले जल सतह पार गरेको छ । नदीको खुटिया खोला मुडिभारमा जल सतह ४.५ मिटर पुगेको छ । त्यहाँ ४ मिटरमाथि खतरा तह मानिन्छ ।
यता, कर्णाली नदीको चिसापानीमा समेत जल सतह बढ्दै गइरहेको मौसम सूचना केन्द्र चिसापानीकी गेजरिडर पार्वती गुरुङ्गले जानकारी दिएका छन् । हाल कर्णाली नदीको चिसापानीमा पानीको सतह ९.४७ मिटर पुगेको छ । कर्णालीमा १० मिटर पुगे चेतावनी तह र १०.८ मिटर पुगे खतरा तह मानिन्छ । पहाडी जिल्लामा समेत भारी वर्षा भएको र कर्णाली नदीका सहायक नदीहरु सेती, बुढीगंगामा पानीको सतह बढ्दै गएकाले कर्णालीमा पानीको सतह बढ्ने अनुमान गरिएको छ ।
लगातारको वर्षाका कारण जिल्ला प्रशासन कार्यालय कैलालीले सर्तकता अपनाउन आग्रह गरेको छ ।