वीरगन्जको आइसिपी चोक आज पनि बिहानैदेखि तनावग्रस्त
वीरगन्ज : वीरगन्ज–१७ अलौंस्थित एकीकृत भन्सार जाँच चौकी (आइसीपी) चोकमा आज (शुक्रबार)पनि बिहानैदेखि स्थानीयले प्रदर्शन सुरु गरेका छन् । बिहीबार अपराह्ण ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका वीरगन्ज-१७ अलौंका २२ वर्षीय टिनुकुमार साह तुराहाको मृत्यु भएपछि त्यसैको आक्रोशमा स्थानीयले शुक्रबार बिहानैदेखि प्रदर्शन सुरु गरेका हुन्।
उनीहरूले आइसिपी चोकमा सडकमै टायर बालेर अवरुद्ध पार्दै प्रदर्शन गरिरहेका छन् । ठक्कर दिने ट्यांकरका चालकलाई कारबाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेको बताइएको छ।
आइसीपी चोकमा बिहीबार अपरान्ह ३:३० बजेतिर ना ६ ख ७५०३ नम्बरको ट्यांकरको ठक्करबाट ना २९ प ६९५१ मोटरसाइकल चालक वीरगन्ज–१७ अलौंका तुराहा गम्भीर घाइते भएका थिए । वीरगन्जको गण्डकस्थित वयोधा मेडिसिटी हस्पिटलमा उपचारका क्रममा बिहीबार राति उनको मृत्यु भएको थियो।
दुर्घटनालगत्तै गम्भीर घाइते तुराहालाई उपचारका लागि सुरुमा बाराको नौतनस्थित एलएस न्यूरो अस्पतालमा लगिएको थियो । त्यसपछि वयोधा मेडिसटी हस्पिटलमा भर्ना गरिएका तुराहाको उपचारका क्रममा राति मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए । ठक्कर दिने ट्यांकर र त्यसका चालकलाई प्रहरीले बिहीबार नै नियन्त्रणमा लिइसकेको छ ।
आक्रोशित स्थानीयबासीले बिहीबार पनि अलौंको आइसिपी चोकमा टायर बालेर सडक अवरुद्ध गरेका थिए । त्यस क्रममा प्रदर्शनकारी र प्रहरीबिच झडप पनि भएको थियो । सडकमा टायर बालेर सडक अवरुद्ध गरेका प्रदर्शनकारीमाथि प्रहरीले लाठी चार्ज गर्दा झडप भएको थियो । झडपमा प्रहरीको लाठी चार्जबाट अलौंका स्थानीय मोहित साह घाइते भएका थिए ।