नेपाली सेना र अमेरिकी सेनाबीच आइतबारबाट संयुक्त अभ्यास हुने
काठमाडौं : नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुने भएको छ। शुक्रबार नेपाली सेनाले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त रूपमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि अभ्यास हुने जानकारी दिएको हो।
नेपाली सेनाका अनुसार आइतबारदेखि शुक्रबासम्म ‘प्यासिफिक एन्जल’को नामको अभ्यास सुरू हुनेछ। विज्ञप्तिमा भनिएको छ, ‘अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनु पर्ने विद्यमान विधि तथा प्रक्रियाहरूका सम्बन्धमा ज्ञान आदान प्रदान हुनेछ। काठमाडौँ, मकवानपुर र धादिङ जिल्लाहरूमा सो सम्बन्धी विभिन्न अभ्यासहरु सञ्चालन हुनेछन्।’
सेनाका अनुसार सन् २०१२ बाट सुरु भएको उक्त अभ्यासको यो चौथो संस्करण हो।