पुरुषको काम, महिलाको नाम

पुरुषको काम, महिलाको नाम

नेपाली साहित्यको विभिन्न विधामा महिलाहरूले पुर्‍याएको योगदानबारे विभिन्न रोचक तथ्यहरू फेला परेका छन्। तीमध्ये कतिपय महिला साहित्यकारका नाममा प्रकाशित कृति विभिन्न कारणवश पुरुषले लेखेको तथ्य पनि भेटियो।

छद्म नामका रूपमा महिला नामको प्रयोग : साहित्यमा उपनाम एवं छद्म नामको प्रयोग गर्ने चलन नयाँ होइन। नेपाली साहित्यको माध्यमिक कालदेखि नै उपनाम एवं छद्म नामको प्रयोग हुँदै आएको पाइन्छ। माध्यमिक कालमा कतिपय साहित्यकारले तत्कालीन राणा शासनको वक्रदृष्टिबाट जोगिन छद्म नामको प्रयोग गरेको पाइन्छ। यसरी छद्म नामको प्रयोग गर्दा महिलाको नाम पनि प्रयोग भएको पाइन्छ। शम्भुप्रसाद ढुंगेलद्वारा सम्पादित ‘राजभक्ति’ (१९८३) नामक पत्रिकाको पहिलो अंकमा लावण्यमयी देवीको ‘स्नेहको रुक्षता’ शीर्षक कथा प्रकाशित छ। उल्लिखित लावण्यमयी कुनै महिला लेखक नभएर शम्भुप्रसाद ढुंगेल नै हुन् भन्ने तथ्य उल्लेख गरिएको पाइन्छ। यसका अतिरिक्त यसै पत्रिकामा स्वर्णकुमारी, विरहिणी, नलिनीदेवी आदि महिला नामधारी कविका कविता प्रकाशित छन् तर ती महिला नामधारी प्राय: सबै कविताका स्रष्टा आँसुकवि शम्भुप्रसाद ढुंगेल नै हुन् भन्ने तथ्य विभिन्न अनुसन्धानबाट पुष्टि भइसकेको छ। यसैगरी, निबन्ध लेखक सुकेशीदेवी पनि कुनै महिला लेखक नभएर शम्भुप्रसाद ढुंगेलको छद्म नाम तथा श्रीमती कुमुदिनीदेवी पनि अर्कै पुरुष लेखकका छद्म नाम हुन् भन्ने अनुमान पनि गरिएको छ।

नेपाली साहित्यको आधुनिक कालमा पनि उपनाम वा छद्म नामको प्रयोग गरेर लेख्ने थुप्रै स्रष्टा छन्। यसरी छद्म नाम वा उपनाम प्रयोग गर्दा कतिपय लेखकले पुस्तकाकार कृतिका लागि बेग्लै र पत्रपत्रिकाका स्तम्भ लेखनको प्रयोजनका लागि बेग्लाबेग्लै नामको प्रयोग गरिएको पाइएको छ। यसका अतिरिक्त एउटा विधामा प्रतिष्ठा आर्जन गरिसकेका साहित्यकारले पारि श्रमिक लाभको प्रयोजनका लागि सस्ता उपन्यासको लेखन एवं गेसपेपर एवं गाइडमा अर्कै नामको प्रयोग गरेको पनि भेटिन्छ। स्थापित साहित्यकारले लेखकीय प्रतिष्ठामा आँच आउने भयले यस प्रकारका कृतिमा बेग्लै नामको प्रयोग गरेको अनुमान गर्न सकिन्छ। यसरी छद्म नामको प्रयोग गर्दा कतिपय साहित्यकारले महिलाको नाम पनि प्रयोग गरेको पाइन्छ।

सिक्किमका साहित्यकार शिवलाल पाण्डेको साहित्यिक नाम गंगा कप्तान हो। सिक्किम साहित्य परिषद्का सदस्यसमेत रहेका गंगा कप्तानका ‘सम्बन्धको खोलो तिम्रो र मेरो’ शीर्षक कविता संग्रह, ‘कुरै कुराका कुराहरू’ शीर्षक कथा संग्रहका अतिरिक्त ‘निर्दयी’, ‘जिउँदो लास’, ‘महŒवहीन कुमारीत्व’, ‘इन्दु’ शीर्षक उपन्यास तथा ‘गंगा कप्तानका विचार कतिपय’ शीर्षक निबन्धात्मक कृति प्रकाशन भएको जानकारी पाइन्छ। डा. शुकराज राईको साहित्यिक नाम चमा थुलुङ हो। यिनका ‘नाचीनाची बेसारा’ शीर्षक बालकविता संग्रह, ‘युम्पी’ शीर्षक गीतिकाव्य प्रकाशित छन्। यसका अतिरिक्त ‘मेरो तर्कबहादुर’ शीर्षक कथा संग्रह, ‘जमाना टेन्सन र चिन्तनको : घाँटीमुनिको’ शीर्षक हास्यव्यंग्य संग्रह प्रकाशन भएको देखिन्छ। सुप्रसिद्ध साहित्यकार नारायण ढकालले रजनी श्रेष्ठ र राजनीतिज्ञ प्रदीप ज्ञवालीले स्मृति अर्यालका नामबाट विभिन्न लेख लेखेका छन्। आहुतिका रूपमा विशेष पहिचान बनाएका विश्वभक्त दुलालले आशा लामाका नामबाट पनि आफ्ना रचना छपाएको जानकारी पाइन्छ।

पत्नीका नामको प्रयोग : कतिपय साहित्यकारले विभिन्न समयमा पत्नीका नामबाट रचना प्रकाशन गरेको जानकारी पाइन्छ। यसरी पत्नीको नाम प्रयोग गरी रचना प्रकाशन गरिएका तथ्यहरूलाई तल क्रमश: उल्लेख गरिन्छ :

(१) १९९१ देखि प्रकाशन हुन थालेको ‘शारदा’ पत्रिकामा जुनुमाया राइनीका केही निबन्धात्मक लेख प्रकाशित छन्। देवी शर्माले ‘शोध र समीक्षा’ शीर्षक पुस्तकमा जुनुमाया राइनीलाई नारी साहित्यकारका रूपमा चर्चा गरेको पाइन्छ तर जुनुमाया राइनी कुनै लेखक नभएर प्रसिद्ध साहित्यकार हरिप्रसाद ‘गोर्खा’ राईकी पहिली पत्नी हुन्। नेपाली भाषाका साथै विभिन्न जनजातीय भाषामा कलम चलाउने नागाल्यान्डका प्रसिद्ध साहित्यकार हरिप्रसाद ‘गोर्खा’ राईले सुरुसुरुमा अधिकांश रचना जुनुमाया राइनी, फक्करसिंह सिपाहीजस्ता विभिन्न छद्म नामबाट पनि लेखेका थिए। ‘शारदा’मा जुनुमाया राइनीका नामबाट प्रकाशित रचना जुनुमाया राइनीका नभई हरिप्रसाद ‘गोर्खा’ राईका भएको कुरा स्वयं राईले नै बताएको कुरा मदन थापाले ‘हरिप्रसाद गोर्खा राईको जीवनी, व्यक्तित्व र कृतित्व’ शीर्षक अप्रकाशित स्नातकोत्तर शोधपत्रमा उल्लेख गरेका छन्। हरिप्रसाद गोर्खा राईका ‘बाबरी’ तथा ‘मनचरीको बोली’ शीर्षक कविता संग्रहलगायत ‘यहाँ बदनाम हुन्छ’ तथा ‘हरिप्रसाद ‘गोर्खा’ राईका कथाहरू’ शीर्षक कथा संग्रह प्रकाशित छन्। यिनका धेरै रचना दोस्रो विश्वयुद्धताका जापानले कोहिमामा गरेको बमबारीमा नष्ट भएको जानकारी पाइन्छ। नेपालमा यिनी जगदम्बा पुरस्कारबाट सम्मानित भएका हुन्।

(२) टीकाराम धनञ्जयले वि.सं. १९९१ मा ‘ श्रीचन्द्रकलादेवि ‘धनञ्जय’ विरचिता’ भनेर ‘उपदेशचन्द्रकला’ नामक पुस्तक पत्नीका नामबाट प्रकाशन गरेको पाइन्छ। यो पुस्तक श्री शिवप्रसाद राधोराम, गोर्खा पुस्तकालय, रामघाट, बनारसबाट प्रकाशन भएको हो। यसैलाई आधार बनाएर ‘विश्व नारी नेपाली स्रष्टा कोश’ शीर्षक कृतिको लेखकका रूपमा चन्द्रकलादेवी धनञ्जयको परिचय दिइएको छ तर उक्त पुस्तकका लेखक चन्द्रकलादेवी स्वयं नभएर उनका पति टीकाराम धनञ्जय भएको कुरा चन्द्रकलादेवी स्वयंले साहित्यकार मोदनाथ प्रश्रितलाई दिएको एउटा अन्तर्वार्तामा यसरी खुलाएकी छन् :

 उपदेश चन्द्रकला मैले लेखेकी हैन। त्यस्तो लेख्नसक्ने पढाइ र कला मसँग छँदै छैन। ‘उपदेशमञ्जरी’ मा प्रतिबन्ध लागेपछि उहाँले धेरै कुरा हेरफेर गरी मेरो नाम राखेर उपदेश चन्द्रकला छाप्नु भएको हो। उहाँले ‘शिशुबोध तरंगिणी’ पनि मेरा नाममा छपाउनु भएको छ। ‘लघुकौमुदी’को नेपाली टीकाचाहिँ उहाँले आफ्ना पिता एकदेव मरासिनीको नाममा छपाउनु भएको छ। आफ्ना बाबु र आफ्नी श्रीमतीको पनि नाम रहोस् र महिलालाई पनि लेख्ने प्रेरणा मिलोस् भनेर त्यसो गर्नुभएको हो।’ माइजू चन्द्रकलादेवी निरक्षर रहेको र तत्कालीन प्रशासनको टेढो नजरबाट बच्न मामा टीकाराम धनञ्जयले निरक्षर पत्नी चन्द्रकलादेवीका नामबाट पुस्तक प्रकाशन गर्नु परेको जानकारी साहित्यकार मोदनाथ प्रश्रितबाट प्राप्त भएको हो।

(३) विश्वेश्वरप्रसाद कोइरालाले लेखेका केही कथा पत्नी सुशीला कोइरालाका नामबाट प्रकाशन भएका छन्। ‘शारदा’ पत्रिका (५ र १, १९९६) मा श्रीमती सुशीला कोइराला र विश्वेश्वरप्रसाद कोइरालाको सहलेखनमा ‘द्वन्द्व प्रेम’ शीर्षकको कथा प्रकाशित छ। यसैगरी, सुशीला कोइरालाका नामबाट ‘शारदा’ (५ र ९, १९९६) मै ‘दुलही’ शीर्षक कथा प्रकाशन भएको पाइन्छ। यी दुई कथाबाहेक सुशीला कोइरालाका अन्य कुनै पनि कथा प्रकाशन भएको देखिँदैन भने नेपाली कथाका क्षेत्रमा विश्वेश्वरले विशिष्ट स्थान बनाएको कुरा सर्वविदितै छ। अर्काेतिर ‘सुशीला कोइरालाले एउटा अन्तर्वार्तामा आपूmले कथा लेखेको बिर्सिएको’ भनी बताएको कुरा उल्लेख देवी शर्माले उल्लेख गरेकी छन्। यी तथ्यले सुशीला कोइरालाले कुनै पनि कथा नलेखेको र उनका नाममा छापिएका कथा स्वयं विश्वेश्वरले नै लेखिदिएको स्पष्ट हुन्छ। यसरी विश्वेश्वरले एकल लेखन र सहलेखनमा सुशीला कोइरालाका नामबाट कथा प्रकाशन गरिदिनुको मूल ध्येय सुशीला कोइरालालाई साहित्यलेखनतर्फ प्रेरित गराउन हो भन्ने अनुमान गर्न सकिन्छ।

महिलाको नामको दुरुपयोग : विभिन्न साहित्यकारले विभिन्न ध्येयले महिला नामको प्रयोग गरेका तथ्यहरू निकै पाइन्छन् तर लेखनमा महिला नामको दुरुपयोग भएको पनि भेटिएको छ। लेखकको नाम सुजाता रिमझिम उल्लेख गरी तालबेताल प्रकाशन दार्जिलिङबाट प्रकाशित ‘काउकुती’ नामक उपन्यास भनिएको कृति पनि भेटिएको छ। ४८ पृष्ठको संरचनामा आबद्ध उक्त कृतिको मूल्य रु. २० लेखिएको छ। इन्टरनेटबाट लिइएका अत्यन्त फोहोरी एवं घिनलाग्दा फोटाहरू समावेश गरिएको यो कथित उपन्यास अत्यन्तै अश्लील छ। सुजाता रिमझिम नाम भएकी महिला सर्जकका बारेमा कतैबाट कुनै पनि जानकारी नपाइएको र यही नाम उल्लेख गरी अन्य कुनै पनि फुटकर रचना प्रकाशन भएको देखिँदैन। अध्ययनका क्रममा कुनै पनि पत्रपत्रिकामा यस नामबाट फुटकर रचना पनि प्रकाशित भएको नपाइएका कारण प्रस्तुत कृतिको लेखकमा महिलाका नामको दुरुपयोग गरिएको स्पष्टै देखिन्छ। यसर्थ यस कृतिका लेखकको नाम काल्पनिक रहेको र यो महिला सिर्जना पनि नभएको स्पष्ट हुन्छ।

अन्त्यमा, नेपाली साहित्यमा आफ्नो औपचारिक नामलाई छोडेर अन्य नामको प्रयोगमा अनेक कारण देखिएका छन्। तीमध्ये कतिपय नाम युवा सुलभ रहर एवं लहडबाट प्रेरित भएर गरिएको पाइन्छ भने कतिपय स्रष्टाले प्रशासनको वक्रदृष्टिबाट जोगिन छद्म नामको प्रयोग गरेको पाइन्छ। टीकाराम धनञ्जयले पत्नीको नाम प्रयोग गरी पुस्तक छपाउनुको कारण चाहिँ प्रशासनको वक्रदृष्टिबाट जोगिन तथा पत्नीको नाम पनि प्रकाशनमा आओस् भन्ने उद्देश्यले प्रेरित देखिन्छ। अर्काेतिर विश्वेश्वरप्रसाद कोइरालाले सुशीला कोइरालाका नामबाट कथा प्रकाशन गर्नुको मूल अभीष्ट चाहिँ पत्नीलाई पनि लेखनतर्फ उन्मु्ख गराउनु नै हो भन्ने बुझिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.