जाजरकोटमा अरिंगालको टोकाइबाट पुरुषको मृत्यु
जाजरकोट : जाजरकोटमा अरिंगालले टोकेर एक जना पुरुषको मृत्यु भएको छ। शुक्रबार राति जिल्लाको बारेकोट गाउँपालिका–५ पाखा गाँउका ४२ वर्षीय पृथ्वी विक्रम शाहीको उपचारका क्रममा शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको घर नजिकैको एक रुखमा रहेको अरिंगाल पोल्न गएको अवस्थामा अरिंगालले टोकी घाइते भएका थिए। उनलाई उपचारका लागि आधारभूत अस्पताल लिम्सा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि नलगाडको नगर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी पुरुषोतम प्रसाद पाण्डेले बताए। पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम तर्फ ल्याइएको छ।