विद्युत् जडानमा स्थानीयको अवरोध, उद्योग सञ्चालन अनिश्चित

विद्युत् जडानमा स्थानीयको अवरोध, उद्योग सञ्चालन अनिश्चित
सुन्नुहोस्

महोत्तरी : ३३ केभी बिजुलीको तार र पोल जडान गर्न स्थानीयले अवरुद्ध गरेपछि महोत्तरीको गौशालामा स्थापना भएको पेपर उद्योग सञ्चालन हुन सकेको छैन। गौशाला नगरपालिका– १ रामनगरमा दुई अर्बको लागतमा निर्माण भएको नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज सञ्चालनमा अनिश्चितता देखिएको हो। 

गौशाला नगरपालिका–१ इटाटारमा स्थापित भएको उद्योगमा दैनिक एक सय टन ‘राइटिङ एन्ड प्रिन्टिङ पेपर’ उत्पादन गर्न सक्ने क्षमताको उद्योग स्थापना भएको छ। उद्योग स्रोतले दिएको जानकारीअनुसार यहाँ प्लान्ट निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यहाँ एकमात्र विद्युत् संरचनाकै कारण उद्योग परिसरमा जडान गरिएको ठूलाठूला उपकरणहरू प्रयोगविहीन अवस्थामा रहेका छन्। विद्युत् नहुँदा ती उपकरणहरू अझ परीक्षण हुन पनि सकेका छैनन्।

आईएमई ग्रुपको नेतृत्व र एभरेस्ट ग्रुपको सहकार्यमा स्थापना भएको उद्योग विद्युत् लाइन जोडिएपछि परीक्षणका लागि सञ्चालन गरिने उद्योगका निर्देशक अरुण भण्डारीले बताए। उनले भने, ‘दुई अर्बको लागतमा निर्मित यो उद्योगको हरेक संरचनाहरू तीन महिनापहिले नै तयार भइसकेका छन्। अब उद्योग सञ्चालनका लागि आवश्यक विद्युत् तार र पोलको विस्तार नै मुख्य समस्याको रूपमा रहेको छ।’ 

निर्देशक भण्डारीले थपे, ‘उद्योग इन्स्टल भइसकेको छ। स–साना मेसिनहरू चलाएर परीक्षण गरी सेट भइसकेको अवस्था छ। तर, केही मेसिनहरू परीक्षण हुन नसक्दा ती मेसिनहरू महिनौंदेखि छोपेर राखिएको छन्।’

बस्ती क्षेत्रबाट ३३ केभीको प्रसारण विद्युत् लाइन विस्तार रोकिएको स्थानीय नरेश महतोले बताए। उनले भने, ‘गाउँ बस्तीबाट बिजुली लानु परे अन्डरग्राउन्ड गरेर पनि बिजुलीको तार लान सकिन्छ।’ जंघा नदी हुँदै उद्योगसम्म पोलको माध्यमबाट तार लगे पनि स्थानीयको कुनै आपत्ति नरहने कुशवाहाको भनाइ छ। ‘सडक विस्तारले घडेरी मासियो। बाँकी रहेको जग्गामा लाइन जाँदा घर नक्सा पास नहुने, घर बनाउन नपाइने, बैंकले कर्जा नदिने भएकाले विद्युत् लाइनको अवरोध गरिएको हो,’ गौशाला–१ रामनगरकी मेनुका पौडेलले बताइन्। 

उद्योगका लागि आवश्यक विद्युत् प्रवाह निर्वाध रूपमा उपलब्ध गराउन ुपर्नेमा गौशाला नगरपालिका– १ का वडाध्यक्ष नवीन साहले जोड दिए। उनले भने, ‘उद्योग र स्थानीयवासीलाई क्षति नहुने किसिमले विद्युत्को बन्दोबस्तका लागि पहल गरिरहेको छु। स्थानीयलगायत सरोकारवाला निकायसँग राय सल्लाह लिई प्रक्रिया अगाडि बढिसकेको छ। यस वडा कार्यालयबाट उपलब्ध हुने हरेक सहयोग उद्योग सञ्चालनका लागि उपलब्ध गराउन तत्पर छु।’ 

उद्योग पक्ष र स्थानीय दुवैको सहमतिमा विद्युत् सेवा प्रवाह गर्नुपर्नेमा महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए। उनले भने, ‘यस विषयमा स्थानीयले इलाका प्रशासन कार्यालय गौशालामार्फत आफूकहाँ डेलिगेसन आएको थियो। आफूले ती दुवै पक्षलाई छलफलमार्फत सहमतिको बाटो खोजी विद्युत् सेवा सुचारु गर्नका लागि निर्देशन दिइसकेको छु।’ जिल्ला प्रशासन कार्यालयले हरसम्भव उद्योग सञ्चालनका लागि सहमतिका आधारमा पहलकदमी गरिने सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए। पूर्व–पश्चिम राजमार्गबाट गौशाला रोड–सुर्ती विकास–इटाटार १२ किलोमिटरमा ३३ केभीको विद्युत् प्रसारण लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेशले १ करोड ९९ लाख रुपैयाँमा ठेक्का लगाएको छ। १२ किलोमिटरमध्ये ७ किलोमिटरमा पोल गाडिएको छ। बाँकी रहेको पाँच किलोमिटर रामनगर गाउँ एरिया पर्दछ। जहाँबाट विद्युतीय पोल गाड्नका लागि स्थानीयहरूले अवरोध गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.