सहकारीको घोटाला गरेको आरोपमा अध्यक्ष पक्राउ

सहकारीको घोटाला गरेको आरोपमा अध्यक्ष पक्राउ
सुन्नुहोस्

विराटनगर : नेता र कर्मचारी मिलेर डुबाएको विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारीका अध्यक्ष पक्राउ परेका छन्। 

रकम हिनामिनामा मुछिएका सहकारीका अध्यक्ष अमलेश कर्णलाई प्रहरीले पक्राउ गरेको हो। कर्णविरुद्ध यसअघि नै उजुरी परेको थियो। गत बुधबार पक्राउ परेका उनीमाथि प्रहरीले अनुसन्धानको थप प्रक्रिया अघि बढाएको छ।  

माछापुच्छ्रे सहकारीमा सर्वसाधारण बचतकर्ताले जम्मा गरेको ९ करोड २५ लाख रुपैयाँ नेता र कर्मचारीले घोटाला गरेको पाइएको छ। आफूलाई राजनीतिकर्मी, अधिकारकर्मी र सामाजिक अभियन्ता भन्नेहरु नै सहकारीका संचालक थिए। उनीहरुकै मिलेमतोमा बचतकर्ताको रकम हिनामिना हुँदा सहकारी डुबेको छ। 

सहकारीको कार्यालय १ वर्षदेखि बन्द छ। अध्यक्ष कर्णसहितका संचालक फरार भएका थिए। बचतकर्तासँग सम्पर्कविहीन भएका संचालकविरुद्ध प्रहरीमा उजुरी परेको थियो। त्यसकै आधारमा प्रहरीले कर्णलाई पक्राउ गरेको हो। अरु फरार नै छन्। 

सहकारीको रकम हिनामिना प्रकरणमा संचालक र व्यवस्थापक जोडिएका छन्। सहकारीले लगानी गरेको ऋण उठ्न नसक्ने अवस्था छ। सहकारीका अध्यक्ष कर्ण तत्कालीन विवेकशील साझा पार्टी मोरङका अध्यक्ष हुन्। उनी २ पटक विराटनगरको मेयरमा उठेका थिए। 

ठगी प्रकरणमा जोडिएका संचालक प्रभाकर थापा (संजय) नेपाली कांग्रेसका महासमिति सदस्य एवं कांग्रेस भातृ संगठन तरुण दल मोरङका सभापति हुन्। सहकारी संचालक भागेपछि कोशी प्रदेश सरकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले गतवर्ष जिल्ला सहकारी संघ मोरङका सदस्य उमेश गुरुङको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेर छानबिन गरेको थियो।

छानबिनका क्रममा सर्वसाधारणले जम्मा गरेको ९ करोड २५ लाख ९१ हजार ६ सय १ रुपैयाँमध्ये अध्यक्षसहित ५ पदाधिकारीले ६ करोड २८ लाख ६३ हजार ८ सय २५ रुपैयाँ अपचलन गरेको देखिएको थियो। सो रकमको ५० प्रतिशत पूर्वसचिव तथा व्यवस्थापक अमित कार्की र बाँकी रकम अमलेश कर्ण, प्रभाकर थापा र राधादेवी लिम्बूबाट असुल गर्नुपर्ने प्रतिवेदन समितिले दिएको थियो। 

कार्कीले मात्रै ४ करोड ७३ लाख ७४ हजार रुपैयाँ हिनामिना गरेको छानबिन समितिको निष्कर्ष छ। समितिका अनुसार कार्कीले सहकारीको रकम आफ्नो बैंक खातामा राखेर कारोबार गर्थे। २ वटा बैंकको आफ्नो खाताबाट उनले ५ करोड २५ लाख रुपैयाँ शंकास्पद कारोबार गरेको देखिएको थियो।

सहकारीका पूर्वसचिव तथा संचालक प्रभाकर थापाले १ करोड ६० लाख ३३ हजार ४ सय २ रुपैयाँ, अध्यक्ष अमलेश कर्णले १ करोड ४७ लाख ८३ हजार २ सय ७५ रुपैयाँ र कोषाध्यक्ष राधादेवी लिम्बूले १ करोड ४३ लाख ९९ हजार ९ सय ६६ रुपैयाँ हिनामिना गरेको प्रतिवेदन समितिले तयार पारेको थियो।

सहकारीले लगानी गरेको ऋण असुल भएको अवस्थामा असुल भए बराबरको रकमको दायित्वबाट मुक्त गर्न सकिने र अपुग एवं नोक्सानी  भएको रकम संचालकले बेहोर्नुपर्ने छानबिन समितिले औंल्याएको थियो। सहकारीले २ करोड ८१ लाख ६७ हजार ऋण असुल गर्नुपर्ने देखिन्छ।

सहकारीविरुद्ध ९५ जना बचतकर्ताले प्रहरीमा उजुरी दिएका छन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले निवेदन आउने क्रम जारी रहेको बताए। उनले भने, ‘उजुरी आउने क्रम अझै जारी छ। १ जनालाई पक्राउ गरेर ल्याएका छौं। थप अनुसन्धान हुँदैछ। अनुसन्धान सकिएपछि विस्तृत कुरा पत्ता लाग्छ।’ 

सहकारी संकटमा परेपछि सहकारीका अध्यक्ष कर्णले पत्नीसँग सम्बन्धविच्छेद गरेको बताइएको छ। कांग्रेस नेता एवं सहकारीका संचालक थापाले सहकारीको पैसाबाट झापाको धुलाबारीमा जग्गा किनेको देखिएको थियो। छानबिन समितिले विराटनगरका बासिन्दा थापाले झापाको धुलाबारी नगरपालिका–२ मा १८ कट्ठा जग्गा खरिद गरेको फेला पारेको हो। 

जसमध्ये २ कित्ताको ९ कट्ठा जग्गा उनको श्रीमतीको नाममा छ। छानबिन समितिले थापा दम्पतीको जग्गा रोक्का राख्न सुझाव दिएको थियो। एकपक्षीय भएको भन्दै अध्यक्षसहितका पदाधिकारीले समितिको प्रतिवेदन स्वीकार गर्न मानेका थिएनन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.