तातेनोको पियानोको धुनमा मनै हरर
काठमाडौंं : हिमालजस्तै सेतो कपाल । सेतो स्वीटरको अर्कै चमक । अनुहारमा बुढ्यौलीका रेसा, तर हँसिलो मुहार । एउटा हात मात्रै हैन, शरीरको दाहिने भाग नै नचल्ने अवस्था । हिँड्डुल गर्नदेखि उभिनसमेत अर्कैको सहारा लिनुपर्ने । तर, उनको जोश जाँगर भने १६ वर्षे तन्नेरीको भन्दा कम छैन । उनी निकै सिर्जनशील छन् । हजारांै कर्णप्रिय धुनका सर्जक पनि हुन् ।
८७ वर्षे जापानी पियानोबादक इजुमी तातेनो एक साँझ काठमाडौंमा भुल्किए । नेपालका लागि जापानी राजदूत किकुता युताकाको सोल्टिमोडमा रहेको निवासमा आयोजना गरिएको पियानो कन्सर्टमा इजुमी तातेनोले उपस्थिति दर्शकलाई मन्त्रमुग्ध पारे । जापानी दूतावासले आयोजना गरेको उक्त कार्यक्रममा तातेनोले पियानोको सुमधुर स्वर र मिठासमा लठ्ठ बनाए अनि आफू पनि पियानो सँगै हराए । तातेनो सुन्न उपस्थित भएका दर्शकहरू गत शुक्रबारको सन्ध्याकालीन समयमा मदहोस बने ।
८७ वर्षको उमेरमा पहिलोपटक नेपाल आएका उनी सँगै नेपाल भिœयो एउटा बेजोड प्रस्तुति अनि दमदार पियानोको सुर । कन्र्सट स्थलमा तम्तयार थियो निकै भिमकाय पियानो सेट । एक महिला सहयोगीका साथमा ह्विलचियरमा कार्यक्रम स्थल पुगेका तातेनोको प्रस्तुति बेजोड थियो । उपस्थित दर्शकहरू उनको पियानोको धुनले लठ्ठिएका देखिन्थे । विभिन्न देशका राजदूत तथा विशिष्ट पाहुनाहरू उपस्थित कार्यक्रममा तातेनोले सबैको मनमा छोए । हरेकको धड्कनमा मिठास पस्किए, एक हातले बजाउँदै पियानोमा फरक–फरक ताल निकाले । ८७ वर्षीय तातेनोको यो पियानो क्रेज हेर्दा हरकोही चकित पर्छन् । हरेकले आफूभित्रै हराएको महसुस गर्छन् । आँखा चिम्लिएर पियानो सँगै बजेका जापानी संगीतमा हराउँछन् । उनलाई देख्ने हरकोही भन्न सक्छ,
सिर्जनाशक्ति कहिल्यै पनि हुँदैन विफल
राष्ट्रकवि माधवप्रसाद घिमिरेले भनेजस्तै सिर्जना शक्तिलाई कसले रोक्न सक्नु ? न उमेर, न त शारीरिक अवस्था वा अन्य समस्या । सिर्जनाको अथाह शक्तिलाई तातेनोले भरपुर फैलाए । पियानो मास्टर इजुमी तातेनोको जीवनका अनेका आरोह अवरोह आए । उनको शरीरको दाहिने भाग प्यारालाइसिस भएर काम गर्दैन । सहाराबिना सीधा उभिन सक्ने अवस्था छैन । तर उनको देब्रे हातको सहारामा निस्कने पियानोको धुनहरू अब्बल छन् । वाहवाह भन्न लायकका छन् । सबैलाई मोहित बनाउन सक्नु उनको विशेष खुबी हो । दर्शकलाई मन्त्रमुग्घ बनाएर सम्मोहित बनाउन सक्नु उनको क्षमता हो ।
सन् १९३६ मा जापानको टोकियोमा जन्मिएका तातेनो सन् १९६४ देखि फिनल्यान्डमा स्थायी बसोबास गर्छन्् । जीवनको ८७औं वर्षमा आइपुग्दा पनि उनको सक्रियता भने लोभलाग्दो देखिन्छ । नेपालमा आउनुअघि उनी भारतको दिल्ली र भुटानमा समेत आफ्नो पियानो कन्सर्ट सकाएर आएका हुन् । उनले पियानो कन्सर्ट गरेर विश्वका धेरै संगीत पारखीहरूको मन जितेका छन् । विभिन्न देशमा सांगीतिक प्रस्तुति दिएका छन् ।
नेपालमा पहिलोपटक आएर सिधैं कन्र्सटमा देखिएका उनी कुनै अपरिचित जस्तो देखिएनन् । नेपाली दर्शक र नेपालप्रति अत्यन्तै माया र सम्मानमा पटक–पटक शिर झुकाएर अनुगृहित भइरहे । सर्यौ जापानी तथा अन्य भाषाका गीतहरूमा संगीत र धुन भरेका तातेनो बोल्दा पनि सुमधुर सुनिन्थे । उस्तै झुकाव देखिन्थ्यो पियानोका ताल र संगीतप्रति ।
पियानो कन्सर्टमा उपस्थित भएका नेपालका लागि जापानी राजदूत किकुता युताकाले निकै सम्मानका साथ तातेनोको नाम उच्चारण गरेका थिए । उनको काम र क्षमताको मुक्तकण्ठले प्रशंसा गरेका थिए । पियानोका बादशाह, जापानी संगीतका विशेष सर्जक तातेनोप्रति राजदूत युताकाले सम्मान प्रकट गरेका थिए ।
ह्विलचियरको सहारामा कन्र्सट स्थल पुगेका तातेनो विभिन्न सुर र शैलीका आधादर्जन बढी धुनहरू प्रस्तुत गरे । एक हातले पियानोको कि दबाउँदा दबाउँदै उनी त्यही हराउँथे । धुन र लयको समाप्तिसँगै झल्यास्स बिउझिएर पुनः दर्शकदीर्घामा नजर दौडाउँथे । जव उनी एक प्रस्तुति सकेर टक्क अडिन्थे । कार्यक्रममा उपस्थित दर्शकहरूका हात स्वचालित रूपमा चल्न थाल्यो । तालिको गडगडाहट सँगै उनलाई सम्मान र आदर प्रकट गर्थे । चलिरहेको बतासलाई रोकेर उनले त्यो एक घण्टा पियानोमय बनाइदिए ।
संगीत, सुर र ध्वनिको मिठास सँगैसँगै समय टक्क रोकिदिए । तालको नशामा उनी झुम्थे, लर्खराउथे, र लयहरूमा पोखिन्थे । दर्शकहरू पटक–पटक
उनलाई पछ्याइरहन्थे । भन्ने गरिन्छ, कला र साहित्य सिर्जनाको कुनै भूगोल हुँदैन । कुनै भाषा र लय निश्चित हुँदैन । कुनै जात र धर्म हुँदैन । सिर्जनाले मानिसको मनलाई छुन्छ । धड्कनलाई महसुस गर्छ अनि दिलको भाषा बोल्ने गर्छ । शरद ऋतुको यो सन्ध्याकालीन साँझ पियानो मास्टर इजुमी तातेनोको पियानोको तालमा झुलिरह्यो ।