देशको स्वाधीनता संकटमाः प्रवक्ता प्रकाण्ड
नुवाकोट : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले देशको स्वाधीनता संकटमा परेको बताएका छन्। उनले यतिखेर सबैतिर निराशा, अविस्वाद र संकटले मात्रै घेराबन्दी गरिरहेका कारण यसको निराकरण जरुरी रहेको बताएका हुन्।
नुवाकोटको विदुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री समेत रहेका प्रकाण्डले देशलाई निकास आवश्यक रहेको र आशामुखी अवस्थामा लैजान आवश्यक रहेको बताए। देश अहिलेको जस्तो जटिल अवस्थामा यसअघि कहिले पनि नआएको प्रकाण्डले दाबी गरे।
देशको भन्दा आफ्नो मात्र स्वार्थ हेर्ने प्रवृत्तिका कारण देश जटिल मोडमा आइपुगेको उनले बताए। स्वार्थ केन्द्रित राजनीतिका कारण देशमा धेरै पक्षले गलत आँखा लगाइरहेको समेत उनले बताए।
अनेक समस्या युवाहरू विदेशिनु, राजनीतिक स्वार्थ, देश हितको मुल मुद्दा बिर्सनु, अर्थतन्त्र खस्कनुले नेपाल पेचिलो परिस्थितिमा पुगेको उनले बताएका छन्। प्रकाण्डले नेपालको राष्ट्रिय स्वाधीनता आजको विश्वको ध्रुवीकृत राजनीति, नेपालको भूराजनीतिका कारणले निकै ठूलो समस्यामा रहेको बताएका छन्।
उनले नेपाल सुन्दर र स्रोत साधनले पूर्ण रहेकाले सबैको आँखा नेपालमा रहेको बताए। उनले दलहरुको अविश्वासका कारण विश्वका विभिन्न कुदृष्टि नेपालमाथि परिरहेको बताए। प्रकाण्डले नेपालमा रहेको स्रोत साधनलाई कब्जा गर्ने होडबाजी चलिरहेको समेत आरोप लगाए।