मुस्ताङमा बोन गुम्बा निर्माण
जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ पाक्लिङमा पर्यटक लोभ्याउने कलात्मक बोन गुम्बा निर्माण भएको छ।
मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्र तथा विदेशी फाउन्डर संघसंस्थाहरुको आर्थिक सहयोगमा शेम्तेन थाग्यालिङ धार्मिक बोन गुम्बा एवं आध्यामिक अध्ययन केन्द्र परियोजनाले गुम्बा निर्माण गरेको हो।
नवनिर्मित धार्मिक कलात्मक बोन गुम्बाको धार्मिक पूजापाठसहित बुधबार उद्घाटन तथा प्राण प्रतिष्ठान गरिएको छ। गुम्बाको ३४ औं मेनरी मठाधिस परमपुज्य लुङतोक धावा धाग्र्याल रिन्पोर्छे तथा पुज्यनीय मेनरी पोनलोव ठिनले ङिमा रिन्र्पोछे, गुम्बाका प्रमुख लामा खेन्पो छुल्डीम तेन्जिङ रिन्पोर्छे र मुस्ताङ सांस्कृतिक तथा शिक्षा केन्द्रका अध्यक्ष गेशे सोनाम लगायत दर्जनौं लामाहरूको सहभागितामा धार्मिक अनुष्ठानसहित औपचारिक रुपमा गुम्बा उद्घाटन गरे।
२१ करोड लागतमा निर्माण सम्पन्न भएको धार्मिक बोन गुम्बा स्थल वरपरबाट कालिगण्डकी करिडोर, सडकमार्ग र निलगिरी र धौलागिरी हिमाल निकै मनमोहक देखिन्छ।