कृषि विश्वविद्यालय २० दिनदेखि बन्द

कृषि विश्वविद्यालय २० दिनदेखि बन्द
सुन्नुहोस्

चितवन : सामान्य भनाभनको विषयले राजनैतिक रङ लिएपछि रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयमा शैक्षिक वातावरण धमिलिएको छ। सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका भ्रातृसंगठनका विद्यार्थीबीच द्वन्द्व चर्किएको मात्रै होइन, विश्वविद्यालय नै बन्द भएको छ। 

अघिल्लो साँझमा पढाइ सकेर जान लागेका साथीको बिदाइमा होस्टलमा खाना खुवाउने क्रमम नेविसंघले हल्ला गरेको भन्दै एमाले निकट अनेरास्ववियुले आपत्ति जनाएपछि दुई पक्षबीच भनाभनमा सकिएको विवादले भोलिपल्ट उग्ररूप लियो। लाठी, ढुंगा, रडसहित विद्यार्थी आक्रमणमा उत्रिए। 

अनेरास्ववियुको आक्रमणले नेविसंघका आठ जना घाइते भएका छन्। एक जनाको आँखा फुटेको छ। अर्का एकको टाउकोमा गम्भीर चोट लागेको छ। त्यसपछि असुरक्षाको कारण देखाउँदै दोषीलाई कारबाहीको माग गर्दै नेविसंघले कलेजका विभिन्न एकाइ र कार्यक्रमका विभागसहित मुख्य कार्यालयमा तालाबन्दी गर्‍यो। 

नेविसंघको भनाइमा एक पक्षीय आक्रमण झडप होइन, सुनियोजित आक्रमण थियो। ‘यहाँ दोहोरो झडप भनिएको छ। कोठामा चुक्कुल लगाएर बन्धक जस्तो बनाए। हामी साथी लिन जाँदा ढुंगा लाठीसहित आक्रमण गरे। एउटाको आँखामा ढुंगाले हानेर आँखा फोरेका छन्। यस्तो अवस्थामा कसरी पढ्न सकिन्छ’, नेविसंघ अध्यक्ष निकेश शर्माले भने, ‘ज्यान भन्दा ठूलो पढाइ होइन। सुरक्षाको प्रत्याभूति हुनुपर्‍यो। आक्रमणकारीलाई कारबाही नभएसम्म ताला खोलिँदैन।’

भदौ १२ गते साँझ विश्वविद्यालयको कञ्चनजंगा होस्टेलमा खाना खाँदा हल्ला भएको भन्दै सगरमाथा होस्टेलमा रहेकाबीच भनाभन भयो। भोलिपल्ट भदौ १३ गते दिउँसो साढे ३ बजे धौलागिरमिा बसिरहेका नेविसंघका विद्यार्थीलाई सगरमाथा होस्टेलमा रहेका अनेरास्ववियुले एक्कासि आक्रमण गरेको नेविसंघले आरोप लगाएको छ। ‘हामी पढ्न आएको हो। होस्टेलमा बसेका विद्यार्थीमाथि आक्रमण गरेर घाइते बनाउँदा पनि विश्वविद्यालयले उनीहरूलाई कारबाही गरेको छैन। हाम्रो माग भनेको दोषी को हो छर्लङ्ग छ। उनीहरूलाई निष्कासित नगरेसम्म ताला खोल्दैनांै’, नेविसंघका स्पर्ष नहर्कीले भने। 

अनेरास्ववियुको आक्रमणबाट कृषि संकायमा अध्ययनरत कमन दाहालको आँखा फुटेको छ। अर्का विद्यार्थी प्रितम भण्डारीको टाउकोमा गम्भीर चोट लागेको छ। घटनामा संलग्न रहेको आरोपमा महेश खड्का, एकराज पराजुली, बवन पुरी, चिरन खनाल, प्रशन्न पोखरेल, विनोद भण्डारीविरुद्ध मुद्दा दायर भएको छ। प्रहरीले पक्राउ गरेको पोखरेल, भण्डारी र खनाल अदालतबाट तारेखमा छुटेका छन्। बाँकी फरार छन्। 

यस विषयमा अनेरास्ववियुका एकाइ अध्यक्ष सक्षम काफ्ले सम्पर्कमा आउन चाहेनन्। 

विश्वविद्यालयका उपकुलपति प्रा.डा पुण्यप्रसाद रेग्मीले सरोकारवालासँग छलफल र संवाद भएको बताए। ‘हामीले बनाएको आन्तरिक छानबिन समितिले पनि प्रतिवेदन दिएको छ। तर, कारबाहीका लागि हाम्रो दायरा नभएकाले प्रधानमन्त्री, गृह र शिक्षामन्त्रीलाई जानकारी गराएको छु। जिल्लामा पनि सरोकारवाला पक्षसँग संवादमै छौं’, उपकुलपति डा. रेग्मीले भने, ‘फेरि झडप नहोस्, पठनपाठन राम्रोसँग सुचारु होस् भनेर त्यसको वातावरण तयार गर्न हामी लागेका छौं।’

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लामा छलफल गरेर समाधानको पहल गरेको बताए। ‘हामीले विश्वविद्यालयसँग छलफल गरेर टुंगो नलागेपछि असोज ५ गते शनिबार जिल्ला प्रशासनमा बैठक राखिएको छ’, उनले भने, ‘व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा यो बैठकले टुंगो लगाउने आशा गरेका छौं।’ आन्दोलनका कारण विश्वविद्यालयको विभिन्न तहको परीक्षा प्रभावित भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.