सैन्य अभ्यासका लागि नेपाली सेनाको फौज चीन प्रस्थान

सैन्य अभ्यासका लागि नेपाली सेनाको फौज चीन प्रस्थान

काठमाडौं : सैन्य अभ्यासका लागि नेपाली सेनाको फौज चीन प्रस्थान गरेको छ। चीनको जनमुक्ति सेनासँग संयुक्त अभ्यासका लागि नेपाली सेनाको फौज शुक्रबार चीन प्रस्थान गरेको हो।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उनीहरू 'सगरमाथा फ्रेन्डसीप' नाम दिइएको सैन्य अभ्यासमा सहभागी हुनेछन्। उक्त अभ्यास असोज ५ देखि १५ गतेसम्म चीनको सिचुवान प्रान्तको छेन्दु नजिकैको सहर छोङछिङमा आयोजना हुँदैछ। विपद् व्यवस्थापन, संयुक्त राष्ट्र संघीय शान्ति मिसन, प्रतिआतंकवादलगायतका विषयमा अभ्यास केन्द्रित हुने नेपाली सेनाले जनाएको छ।

नेपाल सेना र चिनियाँ जनमुक्ति सेनाबीचको यो चौथो संस्करणको अभ्यास हो। दुई देशका सेनाबीच विसं २०७४ सालदेखि संयुक्त अभ्यास हुँदै आएको छ। कोरोना महामकारीका कारण केही वर्ष स्थगित भएको संयुक्त सैन्य अभ्यास पुनः सुरू भएको नेपाली सेनाले जनाएको छ। 

नेपाली सेनाका तर्फबाट पर्यवेक्षक टोली सहभागी भएको जंगी अड्डाले जनाएको छ। अभ्यासमा दुवै मुलुकका कम्तीमा १८/१८ जना फौज सहभागी छन्। २०७४ वैशाख ३ देखि १२ गतेसम्म पहिलोपटक काठमाडौंमा नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास भएको थियो। सैन्य अभ्यासको दोस्रो संस्करण २०७५ मा चीनको छेन्दुमा भएको थियो भने तेस्रो संस्करण नेपालमा भएको थियो।

यसअघि कोरोना संक्रमणको जोखिम देखाउँदै २०७६ (सन् २०१९) पछि दुई मुलुकका सैनिकबीच यस्तो अभ्यास हुन सकेको थिएन। कोरोना भाइरसको संक्रमण पूर्णरूपमा हटिसकेपछि पनि चिनियाँ पक्षले जोखिम कायम रहेको भन्दै सैन्य अभ्यास सुचारु गर्नेबारे ठोस कदम चालेको थिएन। 

निवर्तमान प्रधानसेनापति प्रभुराम शर्माले आफ्नै कार्यकालमा नेपाल र चीनबीचको सैन्य अभ्यासको मिति टुंगो लगाउन चाहेका थिए। शर्माले चिनियाँ पक्षलाई त्यस्तै सन्देश पनि पठाएका थिए। सोहीबमोजिम दुवै मुलुकका सैनिक अधिकारी सैन्य अभ्यास गर्न तयार भएको स्रोतले बताएको छ। 

निवर्तमान प्रधानसेनापति शर्माले उपरथी प्रेमध्वज अधिकारीलाई सैन्य अभ्यास अघि बढाउनेबारे छलफल गर्न केही समय पहिला चीन पठाएका थिए। उपरथी अधिकारी चीनबाट फर्किए लगत्तै सैन्य अभ्यासको प्रक्रिया अघि बढेको थियो। 

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यासलाई लिएर विश्वका शक्ति राष्ट्रहरूले भने अस्वाभाविक ठान्दै आएका छन्। त्यसैले पनि यस्तो सैन्य अभ्यासलाई भूराजनीतिसँग जोडेरसमेत हेरिने गरिएको छ। चीनले सैन्य अभ्यास वा विकासका लागि भन्दै एकपछि अर्को परियोजना नेपालमा कार्यान्वयन गर्न खोजेपछि अर्को छिमेकी मुलुक भारतलगायत पश्चिमा मुलुकहरू पनि उसको भूमिकाप्रति शसंकित हुन थालेका छन्। 

जापान, कोरिया, भारत, अमेरिका र युरोपेली मुलुकले नेपाल र चीनबीचको सैन्य अभ्यासप्रति असहजता प्रकट गर्दै आएका छन्। कतिपय मुलुकका कूटनीतिज्ञले विगतमा नेपाल र चीनबीच भएका सैन्य अभ्यासको खुलेरै विरोध गरेका थिए। ती मुलुकका अधिकारीहरूले सरकारी अधिकारी र सैनिक उच्च अधिकारीहरूसँग प्रत्यक्ष/अप्रत्यक्ष रूपमा नेपाल र चीनबीचको सैन्य अभ्यासको औचित्यप्रति प्रश्न उठाउँदै आएका छन्। 

यो पनि पढ्नुस्५ वर्षपछि नेपाल-चीन संयुक्त सैन्य अभ्यास हुँदै


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.