ग्यास बुलेटको ठक्करबाट एक जनाको मृत्यु
मकवानपुर : मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ गोरक्षेश्वर मन्दिर नजिकै ग्यास बुलेटको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। हेटौँडाबाट थानाभर्याङतर्फ जाँदै गरेको ग्यास बुलेटले ठक्कर दिँदा ६० वर्षीय रमेश पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
उनका अनुसार ठक्करबाट गम्भीर घाइते पाण्डेलाई उपचारका लागि हेटौँडा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। उनी भक्तपुरको सुँडाल घर भई हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङ बस्दै आएका थिए।
बुलेट र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।