अन्नपूर्ण पोष्ट्का प्रधानसम्पादक अखण्ड भण्डारीलाई प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार

अन्नपूर्ण पोष्ट्का प्रधानसम्पादक अखण्ड भण्डारीलाई प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार
अन्नपूर्ण पोष्ट्का प्रधानसम्पादक अखण्ड भण्डारी।
सुन्नुहोस्

काठमाडौं : प्रेस काउन्सिल नेपालले आफ्नो ५५औँ वार्षिक उत्सवका अवसरमा गोपालदास पत्रकारिता पुरस्कारसहित विभिन्न पुरस्कार घोषणा गरेको छ। यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी र नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई)लाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय भएको छ। 

तीन दशकदेखि पत्रकारिताका विभिन्न विधामा सक्रिय रही सामाजिक रुपान्तरण र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर लागेका पत्रकार भण्डारी र पत्रकारिता प्रशिक्षणमा अग्रणी संस्था एनपीआईलाई यो पुरस्कार प्रदान गरिने भएको हो। यो पुरस्कारको राशि एक लाख ५१ हजार रुपैयाँ रहेको छ। पत्रकारिता तथा आमसञ्चार क्षेत्रको अध्ययन, अनुसन्धान, तालिम एवं प्रशिक्षण संस्थालाई गोपालदास पत्रकारिता पुरस्कारमा समावेश गरिएको काउन्सिलको इतिहासमा यो पहिलोपल्ट हो।

नेपाली पत्रकारिता क्षेत्रमा आजीवन समर्पित भएर पत्रकारिता जगतको संस्थागत विकास र प्रतिष्ठाको निम्ति अद्वितीय योगदान दिएका प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष स्व. गोपालदास श्रेष्ठको योगदानलाई चिरस्मरणीय बनाउन उनको स्मृतिमा यो पुरस्कार २०५७ सालदेखि प्रदान गरिँदै आएको हो। गत वर्ष यो पुरस्कार अग्रज पत्रकार निर्मला शर्मालाई प्रदान गरिएको थियो। शर्मा उक्त पुरस्कार पाउने पहिलो पत्रकार महिला हुन्।

त्यस्तै प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार बर्दिया स्थायी घर भएका अग्रज पत्रकार बद्री सिग्देललाई प्रदान गरिने निर्णय भएको छ। उक्त पुरस्कारको राशि १ लाख १० हजार रुपैयाँ रहेको छ। काउन्सिलका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको स्मृतिमा यो पुरस्कार स्थापना भएको थियो। पत्रकार सिग्देलले विस २०४९ सालमा रेडियो नेपालबाट पत्रकारिता सुरु गरेका छन्। उनले विभिन्न सञ्चारमाध्यममा राजनीति, कानुन, मानवअधिकार, वातावरणीय न्यायजस्ता विषयमा केन्द्रित रही पत्रकारिता गर्दै आएका छन्। उनी हालः अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)को एसिया प्रशान्त क्षेत्रका कार्यकारी सदस्यसमेत हुन्।

त्यस्तै प्रेस काउन्सिल आचारसंहिता पुरस्कार रातोपाटी डटकमलाई प्रदान गर्ने निर्णय समेत भएको छ। काउन्सिलको बिहीबार र शुक्रबार बसेको बोर्ड बैठकले विभिन्न पुरस्कारसम्बन्धी निर्णय गरेको हो। स्थापनाको ५५ वर्ष पुगेको अवसरमा असोज ६ गते आइतबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा काउन्सिलले यी पुरस्कार प्रदान गर्दैछ। सोही दिन काउन्सिलले सशक्त सञ्चारकर्मी, क्रियाशील, युवा, समावेशी, भाषागत, साहित्यिक, विधागतसहितका पुरस्कार र विभिन्न अग्रज पत्रकारलाई सम्मान समेत गर्ने निर्णय गरेको छ।

वार्षिकोत्सवको पूर्वसन्ध्यामा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पेसागत मर्यादा, प्रतिष्ठामा आँच नआउने गरी विश्वसनीय पत्रकारिता विकास गर्न नेपाली सञ्चारजगतले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए। मिडियामा युट्युबसहित सामाजिक सञ्जालको बाक्लो उपस्थिति भइरहेको सन्दर्भमा रचनात्मक पत्रकारिताको प्रयोगमार्फत यो क्षेत्रलाई बलियो बनाउन सञ्चार क्षेत्र र सम्बद्ध पक्ष गम्भीर भएर जुट्नुपर्ने खाँचोसमेत उनले औंल्याए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.