स्टयाग गोल्बल च्याम्पियन्स लिग सिजन टु हुने
काठमाडौं : यही असोज ७ गतेदेखि स्टयाग गोल्बल च्याम्पियन्स लिग सिजन टु हुने भएको छ। अखिल नेपाल टेबल टेनिस संघको वार्षिक कार्यक्रम अन्तर्गत स्टयाग च्याम्पियन्स टेबल टेनिस एकेडेमी लिग आयोजना गर्न लागेको हो।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा असोज ७ गतेदेखि १२ गतेसम्म लिग आयोजना हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा दुई विभागीय टोली (नेपाल प्रहरी र सशस्त्र प्रहरी बल) सहित ज्ञानभैरव डिल्लीबजार टेबल टेनिस क्लब, यल टेबल टेनिस, होप्स टेवल टेनिस एकेडेमी, रेड टाइल्स र आयोजक स्टयाग च्याम्पियन्स टेबल टेनिस एकेडेमी गरि जम्मा ७ टिमले सहभागीता जनाउने छन्। लिगमा सहभागी हुने आयोजक एकेडेमीसहित नेपाल प्रहरी र यल टेवल टेनिसले एक महिला र एक पुरुष विदेशी खेलाडी अनुबन्ध गरेका छन्।
प्रतियोगिताको मुख्य प्रायोजक तथा इक्युप्मेन्ट पार्टनरमा स्टयाग गोल्बल प्रालि इन्डिया रहेको छ। जसले प्रतियोगितालाई आवश्यकता पर्ने टेबल टेनिस टेबल, बल, स्कोर बोर्ड, तावेल बक्स, अफिसियल किट आदि सम्पूर्ण सामग्रीहरू प्रदान गर्नेछ।
सह-प्रायोजकमा समाजसेवी तथा अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष श्री सुमन खड्गी र मेटल सेपर रहेको छ जसले प्रतियोगिताको कुल अनुमानित बजेटको २०% रकम (तीन लाख एकान्नब्बे हजार रुपैया) प्रदान गर्नेछ।
साथै मेटल सेपरले प्रतियोगिताको रनिङ ट्रफी समेत प्रदान गर्नेछ। हस्पिटालिटि पार्टनरमा नेपाली घर होटल, ठमेल रहेको छ। जसले प्रतियोगितामा सहभागी सम्पूर्ण विदेशी खेलाडीहरुको खानपिन र बसोबासको व्यवस्थापन गर्नेछ। ब्रोडकास्टिंग पार्टनरको रुपमा एक्सन स्पोर्टस एच डि १ र स्ट्रिम लीग रहेको छ भने इन्टरनेट पार्टनरका रूपमा डिश होम इन्टरनेट रहेको छ।
प्रतियोगितामा १९ लाख ५५ हजार रुपैयाँ खर्च हुने अनुमान छ। प्रतियोगितामा प्रथम हुने टिमले नगद दुई लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। द्वितीय हुने टिमले नगद एक लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् र तृतीय हुने (दुवै सेमी फाइनलिष्ट) टिमले नगद पचास हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।