एकदिन साँझपख सुपर्णखाले मेरो निवासलाई पवित्र पारिदिए। अचम्मै भयो किनभने साँझमा उनी कहिले झुल्किएका थिएनन् अहिलेसम्म। यत्रो वर्षको मित्रता हुँदाहुँदै पनि उनी साँझमा कहिले मकहाँ आएका हैनन्। मैले सदा झैं मुस्कुराउँदै उनको स्वागत गरें। उनी मकहाँ आउँदा रमाइलोका साथै मलाई डर पनि लाग्छ। ‘मलाई खराबसँग डर लाग्दैन, सज्जन देखेपछि टिक्न सक्दिनँ’ खलनायकले हिन्दी सिनेमामा भने झैं। कुरा त गर्नै पर्यो। भलाकुसारीपछि उनले भने, ‘म एउटा कथा सुनाउन आएको तिमीलाई।’
उनले थपे, ‘भालुको मन खन्यूमाथि झैं लाग्यो तिम्रो यो कुरा त।’
मैले नरिसाई भनिदिएँ, ‘तिमी जहिले पनि हाम्रो आलोचना मात्र गर्छौ, प्रशंसा कहिले हैन अनि तिमी के भन्छौ थाहा छ भन्नु परेन त ?’
उनले पनि नरिसाई भने ‘प्रशंसा गर्न लायकको काम गर्या भए पो गर्नु त। लुट छलछामको कामबाहेक केही नगरेपछि कसरी प्रशंसा गर्नु ? ल भैगो, ती कुरा नगरौं। त आज म अरू नै कुरा गर्न आएको। खासमा भन्छौ भने आज बिहान मैले एउटा कथा पढेको थिएँ, राम्रो लागेर तिमीलाई सुनाउन आएको।’
मलाई पनि आजको विषय फरक हुने भएकाले खुसी लाग्यो। भनें, ‘सुनाउ न त।’
उनले सुरु गरे– एउटा लुट्ग्राम नामको ठूलो बस्ती रहेछ, कुनै बेला कुनै ठाउँमा। प्राकृतिक सम्पत्तिको अथाह सागरले भरिपूर्ण हुने वरदान पाएको त्यस लुट्ग्राममा कुनै बेला विवेकहीन तथा समवेदनाहीन जमातको बाहुल्य हुन गएछ। त्यस ग्राममा विवेकशील तथा समवेदनाशील मानिसहरू पटक्कै नभएका त हैन रहेछ। तर तिनका जमात निकै न्यून संख्यामा भएकाले तिनको लाखौं कोशिशको हुँदाहुँदै पनि विवेक र समवेदनाले कतै ओत पाएन छ। उल्टै ती गुण भएकाहरू माथि आघात गर्ने काम भएछ। एकपटक यस्तो विपत्ति आयो कि ती विवेकहीन र समवेदनाहीनहरूले सद्गुण भएकाहरूको दमन गर्न डाँका र हत्याराहरूलाई भित्र् याउन थालेछन्।
ध्यान दिएर सुन्दै थिएँ, अचम्म लागेर सोधें, ‘हैन, आफ्नै ग्राममा पनि विकृतिका भण्डार भित्र्याउन सक्ने कस्ता नाराधम रहेछन् तिनीहरू ? त्यस्तो पनि होला र ?’
उनले थपे, ‘त्यो मात्र हो र ! सुन्दै जाउन। पहिले पहिले त त्यस्तो थिएन रे ! पछि केही मान्छेलाई बाहिरकाले सिकाएर पठाए कुकर्म गर्न। त्यो कुकर्मबाट धेरै कमाई, धेरै सुविधा प्राप्त हुन थालेपछि नजिककाहरूलाई पनि त्यही कुकर्ममा हौस्याएर आफ्नो जमात बनाइहाले। बाहिरबाट भिœयाएका डाँकासँग मितेरी साइनो गाँसी हाले। अनि के चाहियो ? राम्रा काम गर्न खोज्ने युवालाई अनेक बहानामा खोजी खोजी लखेट्न थाले। टिक्न नसकेर ती पलायन भए। केहीले तिनका कुकृत्यबाट टसमस नभएर राम्रो कामको थालनी गरेका थिए। त्यो जमातले देखी सहेन। अब आफ्नो मनपरी केही गरे पनि नचल्ने जस्तो भएपछि त्यो कुकर्मी जमातले गाउँले नभट्किउन् भनेर मीठा मीठा कुराले फकाउन थाले रे ! उद्घोष गरे रे ‘बदमासीलाई शून्य सहनशील हुन्छौं हामी।’
उनले कथा जारी राख्दै भने ‘बस् के चाहियो ! डाँकासँग मितेरी लगाइसकेको त्यो जमात् आफ्नो मुखियाको उद्घोषले त्रस्त र आक्रोशित भएर एक लस्कर मुखियाकहाँ पुगेर आफ्नो असन्तुष्टि र आक्रोश पोखेछन् र मुखिया फेर्ने धम्की दिएछन्। त्यहाँको कस्तो परिपाटी बसेकोरहेछ भने सुख, सुविधा, सम्पत्ति सबैभन्दा बढी अर्कोले जोड्ला भनेर कहिले मिलेर कहिले एकथरी फुटेर अर्कोसँग मिल्दै मुखिया फेर्ने चाल चलिराख्दो रहेछ। अब यो मुखियालाई आपद आउने भयो भन्ने डरले चिन्तित बनाएछ।
आफ्नो चिन्तालाई दबाएर उसले हकारेछ ‘यस्ता मित्रहरूको जमात लिएर कसैको कल्याण हुँदैन। कुरो बुझ्नु छैन, त्यत्तिकै कराउँछौ तिमीहरू। हामी सबैको बेहाल हुने अवस्था आइसक्यो। अब जुक्तिले काम नगरे सबै सिद्धिन्छ। त्यसैले यी सोझा गाउँलेलाई छकाउन पो मैले सकुनी पासा फालेको हुँ त। केको शून्य सहनशील ? जे जे गरिराख्या थियो गरिराख्ने हो। विरोध भयो भने केही दिन कारबाही गरे झैं गरेर सफाई दिने हो। त्यति पनि नबुझ्ने भए यो मित्रताको के फाइदा ? शून्य सहनशीलताको पासोमा म आफैं पनि त पर्छु नि। आफैं फस्ने कुरा कसैले बोल्छ ?’
पूर्व मुखियाले सोधेछ, ‘अनि हामीसँग झगडा गर्ने त्यो पहिलेको मुखियाको जमातले त यस्तो कुरा बुझेको हुँदैन। त्यो जमात नै हाम्राविरुद्धमा उठेर उपद्रो मच्चायो भने नि !’
‘तिनीहरूलाई पनि कारबाही गर्ने त हैन, तर्साएर राख्ने मात्र हो। ता कि हाम्रो विरुद्धमा उनीहरू नउठून् तिनीहरूलाई कारबाही थाल्यो भने हामी पनि भुंग्रोमा पर्न सक्छौं। तर यो कुरा उनीहरूले थाहा नपाउन् नि नत्र बित्याँस पर्ला।’
सबैजना दंग परेछन् यो मुखियाको चाल बुझेर। त्यसैले यसको जयजयकार गर्दै सबैजना त्यहाँबाट हिँडेछन्।
सुपर्णखाले प्रश्न तेस्र्याए ‘गज्जबको कथा छैन त यो ?’
मैले सहमति जनाउँदै टाउको हल्लाएँ। हामी दुवै मक्ख पर्यौं। उनी गैसकेपछि पो मैले बुझें उनले त मलाई नै पो भनेका रहेछन्। आखिर म पनि त कुनै बेला मुखिया थिएँ। बज्ज्याले मलाई नै पो हानेर गएछ, पख्लास् !