कोशीको मन्त्रिपरिषद् बैठक : स्वास्थ्य मन्त्रालयका कर्मचारीको सरुवा,अस्थायी दरबन्दी स्वीकृत

कोशीको मन्त्रिपरिषद् बैठक : स्वास्थ्य मन्त्रालयका कर्मचारीको सरुवा,अस्थायी दरबन्दी स्वीकृत
कोशीको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी । तस्बिर :अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयका कर्मचारीको सरुवा गरेको छ । सरकारले तीनजना कर्मचारीको सरुवा गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयका १० औं र ११ औं तहका कर्मचारीको सरुवा गर्ने निर्णय लिएको हो । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका निर्देशक डा. वीरेन्द्रकुमार मण्डललाई जिल्ला अस्पताल उदयपुरमा सरुवा गरिएको छ । उनी ११ औं तहका कर्मचारी हुन् ।

त्यस्तै,१० औं तहका वरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतलाई प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाबाट स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा सरुवा गरिएको छ । मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. सुरेश मेहतालाई प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटामा सरुवा गर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले बताए । 

यसैबीच, मन्त्रिपरिषद् बैठकले खानेपानी सिचाईं तथा उर्जा मन्त्रालयअन्तर्गतकै जलवायु अनुकुलित बृहत् खानेपानी आयोजनामा कार्यरत ३३ जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा प्रशासनीक समिति, आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीको संयोजकत्वमा कानुन न्याय तथा प्रदेश मामिला समिति र भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईको संयोजकत्वमा आर्थिक सामाजिक तथा पूर्वाधार समिति गठन गरेको छ । 

त्यस्तै, खानेपानी सिचाईं तथा उर्जा मन्त्रालयअन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा र साउदी फण्ड फर डेभलपमेन्टको सहलगानीबाट कोशी प्रदेशमा सिचाईं आयोजना सञ्चालन गर्न वार्ता र सहमति गर्न स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको छ । यो परियोजनाअन्तर्गत कोशी प्रदेशमा करिब २७ वटा सिचाईं आयोजनाहरु संचालन हुने छन् । 

अर्कोतर्फ, मन्त्रिपरिषद् बैठकले ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रमको नाम परिवर्तन गरेको छ । उक्त कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हरेक वर्ष संचालन गर्दै आएको थियो । ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रमको नाम परिवर्तन गरेर यस वर्षदेखि ‘जनतासँग कोशी प्रदेश सरकार’ बनाइएको छ । अबदेखि ‘जनतासँग कोशी प्रदेश सरकार’ नामबाट कार्यक्रम संचालन गरिने भएको छ । 

मन्त्रिपरिषद् बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार’ कार्यक्रम सञ्चालन कार्यविधि पास गरेर नयाँ ढंगले कार्यक्रम संचालन गर्न लागेको हो । सरकाले २०७८ सालदेखि स्थानीय टेलिभिजन र एफएम रेडियोहरुबाट यो कार्यक्रम प्रशारण गर्न बन्द गरेर नेपाल टेलिभिजनमार्फत मात्रै प्रशारण गर्दै आएको थियो । यस वर्षदेखि कोशी प्रदेशका रेडियो तथा टेलिभिजनबाट प्रशारण गर्ने गरी कार्यविधिमा व्यवस्था गरिएको छ । 
सरकारको यो निर्णयले कोशी प्रदेशमा रहेका स्थानीय सञ्चारमाध्यमलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ ।  यस क्षेत्रका रेडियो तथा टेलिभिजन प्रशारण संस्थाहरुले यो कार्यक्रम आफ्नो सञ्चारमाध्यमबाट प्रशारण गर्न पाउनु्पर्ने माग गर्दै आएका थिए । 

 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.