दसैंको समाजशास्त्रीय विश्लेषण

दसैंको समाजशास्त्रीय विश्लेषण

दसैंका अनेक पक्ष छन्। दसैं धार्मिक र सांस्कृतिक कर्ममा मात्र सीमित छैन। यसको आयाम फैलँदो छ।

दसैं कुनै जाति र धर्म विशेषको मात्र पेवा र विशेष पर्व होइन। यसको आयाम फैलँदो छ। किनभने दसैंका अनेक पक्ष छन्। दसैं धार्मिक र सांस्कृतिक कर्ममा मात्र सीमित छैन। दसैंको लामो बिदाले यसका नयाँ नयाँ सम्भावनाको खोज गरेको छ। दसैं राजनीतिक, धार्मिक, सांस्कृतिक, सामाजिक र पर्यटकीय चाडको रूपमा मनाउन र विश्लेषण गर्न मिल्ने पर्वको रूपमा विकास भएको छ। अझ रोचक पक्ष दसैंको बिदालाई पढ्ने लेख्ने र अनुसन्धानको कार्य गर्ने उपर्युक्त समयको रूपमा पनि परिभाषित गर्न थालिएको छ।

आलोचनात्मक चेत राखेर समाज विश्लेषण गर्नेहरू, मानवशास्त्र र समाजशास्त्रका अध्येताहरू पूजाकर्म, अनुष्ठान र यज्ञ यज्ञादिहरूमा राजनीतिक अर्थ र प्रयोजनको अभीष्ट पाइन्छ भनेर सोही मुताविक अध्ययन, अनुसन्धान, मूल्यांकन, विश्लेषण र विवेचना गर्छन्। दसैं ‘हाइयार्की’, ‘वर्चस्व’ र ‘हेजेमोनी’को राजनीतिक पर्व पनि हो। दसैंमा आफूभन्दा ठूलाको आशीर्वाद र टीका थाप्ने चलन मान्यजन भन्दै उच्च पदस्थ नेता कर्मचारी राजनीतिज्ञ, सांसद, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसम्म अभिभावकीय संरक्षण भनेर पुग्नु पनि एक प्रकारको अधीनस्थता स्वीकार गर्नु हो। त्यसैले दसैं एक प्रकारको हेजेमोनीको राजनीति हो।

नवरात्र  :  दसैं हिन्दु धर्मालम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म शक्तिकी देवी दुर्गाको पूजा–आराधना गरी दशमीको दिन टीका प्रसाद ग्रहण गर्छन्। प्रतिपदादेखि क्रमश :  शैलपुत्री, ब्रम्ह्चारिणी, चन्द्रघण्टा, कुश्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, माहागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नवदुर्गा र त्रिशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ। यसरी आराधना गरी शक्ति आर्जन गर्ने मनोवैज्ञानिक पक्ष पनि समाज शास्त्रको उल्लेख्य पक्ष हो। 

दसैंलाई सत्ता राजनीति भनियो भने यसमा विमति राख्नेहरू निस्कन्छन् र निस्केका छन्। दसैं विशुद्ध धार्मिक र सांस्कृतिक पर्व भन्ने तर्क गर्न थाल्छन्। किनभने राजनीतिलाई पार्टीहरू र व्यक्तिको चलखेल, क्रियाकलाप र शक्तिमा पुग्न गरिने निर्वाचन प्रयोजनमा सहभागितालाई मात्र बुझ्ने बजाउने गरिन्छ। राजनीतिको परम्परागत र संकुचित अर्थभन्दा यसको व्यापक फैलावट भनेको सामाजिक शक्ति, सत्ता र स्वरूपलाई हेर्ने बुझ्ने र महसुस गर्ने तरिका र विश्वदृष्टि हो। शक्ति सम्बन्धको अर्थबोध गर्ने तरिका हो राजनीति। सत्ता र शक्तिलाई दृष्टिबोध गर्ने समाज र समुदायका आआफ्ना विशिष्टता हुन्छन्। हिन्दु बाहुल्य देश भएकाले नेपालको शक्ति सम्बन्ध प्रायजसो धर्म संस्कारमा आधारित देखिन्छ। वर्चस्व आफैंमा एउटा शक्ति सम्बन्धको राजनीति हो। मान्छेहरू धर्मलाई राजनीतिसँग अलग राख्नुपर्छ भन्छन् तर धर्म स्वयंमा राजनीति हो।

बडादसैंमा नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नवदुर्गा र त्रिशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ। यसरी आराधना गरी शक्ति आर्जन गर्ने मनोवैज्ञानिक पक्ष समाज शास्त्रको उल्लेख्य पक्ष हो।

राजनीति नभएको स्थान हुँदैन, शक्ति र सामथ्र्यको अनुष्ठान हो राजनीति। मान्छेको शरीरलाई समेत दार्शनिक मिसेल फुकोले राजनीतिक क्षेत्र भनेर अथ्र्याएका छन्। राजनीति त्यस्तो शब्द अर्थ र भूमि हो यो जताततै फैलिएको पाइन्छ। राजनीतिक रूपमा दसैं भनेको विगतको गोरखाको हिन्दु सत्ताको औचित्यको पुष्टि र त्यससम्बन्धी शक्ति र देवीदेवताको पूजा अर्चना हो भन्दै मानवशास्त्री डम्बर चेम्जोङ लेख्छन्, ‘दसैंका लागि गोरखाबाट काठमाडौंमा फूलपाती भित्र्याउनु सत्तासीनहरू अझ सेनाका खास तहका अधिकृतभन्दा माथिकाले अनिवार्य रूपमा राँगा बली चढाउनु आदिले गोरखा राज्य विस्तारको औचित्य र हैकमलाई धार्मिक सांस्कृतिक रूपमा वैधता दिने मात्र नभएर गोरखाली अधीनस्थता र हैकम अस्वीकार गर्नेहरूलाई राजनीतिक रूपमा बलि चढाइने प्रतीकात्मक अर्थ पनि हो।’

धार्मिक र सांस्कृतिक पर्वको रूपमा दसैं हिन्दुको विशेष र महत्त्वपूर्ण चाड भए पनि सामाजिक, सांस्कृतिक र पर्यटकीय भ्रमण, अध्ययन, लेखन र अनुसन्धानको अवसरको रूपमा अरू समुदाय, धर्म र सम्प्रदायका लागि पनि दसैंको बिदालाई सदुपयोग गर्ने अवसर प्राप्त छ। दसैं मान्ने मनाउने प्रक्रियाले समेत विभिन्न समाजमा कस्तो सामाजिक र राजनीतिक सम्बन्ध निर्माण गर्दै लान्छ भन्ने बुझाउँछ।

दसैंको रातो, सेतो र कालो टीका  :  हिन्दु धर्मावलम्बीहरू रातो टीका लगाउँछन्। हिन्दु धर्मबाहेकका अन्य धर्मालम्बी र समुदायको दसैं मान्ने र मनाउने प्रचलन फरक छ। दसैंमा हिन्दुहरू रातो अबिर टीका लगाएर यसको सांस्कृतिक अर्थ र विजयोत्सवको रूपमा ग्रहण गर्छन्।

अन्य समुदाय राई, लिम्बू तामाङलगायत गैरहिन्दुले दसैंको टीका लाउने लगाइदिने परम्परा गर्दागर्दै पनि टीकालाई सेतो अक्षता मात्र बनाएर प्रयोग गर्नेहरू पनि छन्।

दसैं ‘फेस्टिभल मुड’  :  दसैं आस्तिक र नास्तिक दुवैले मान्छन् धर्मलाई अफिम भन्ने कम्युनिस्ट भौतिकवादीहरूले पनि मान्छन्। धार्मिक समुदायले पनि मान्छन्। दसैं मान्नेले धार्मिक र सांस्कृतिक रूपमा जय र विजयको पर्व भनेर मनाइन्छ। धर्म नमान्नेले खानपिन र राम रमाइलोको पर्वको रूपमा मान्छन्। दसैंमा लामो बिदा हुन्छ। यही बेला घरआँगन सफासुग्घर गर्ने, रंगरोगन गर्ने, कमेरो माटो गर्ने आदि सरसफाइसम्बन्धी काम गरिन्छ। त्यसैले यो बेला घरपरिवार र नातागोता कुटुम्बसँग भेटघाट गर्न, आरामसँग बसेर मीठो, मसिनो खान माछामासुका परिकार खान, राम्रो लाउन, पिङ खेल्न, अन्य मनोरञ्जन गर्न, शुभकामना आदानप्रदान गर्न, विवाहित छोरी–ज्वाइँ माइत–ससुराली जान अनि भान्जाभान्जीलाई मामाघर जान यो समय उचित छ।

यी सबै कारणले दसैंको धार्मिक र सांस्कृतिक महत्त्व छ। साथै सामाजिक मूल्य र सामाजिकीकरणको अभ्यास पनि छ। आन्तरिक पर्यटन र बाह्य पर्यटनका लागि पनि दसैंको बिदालाई सदुपयोग गर्ने प्रचलन बढेको छ। दसैं मनाउन नमिल्ने र मनाउन नचाहने जुनसुकैले दसैंको धार्मिक र सांस्कृतिक पक्षलाई बहिष्कार गरे पनि यसको सामाजिक पक्ष, मनोरञ्जनको पक्ष र देश देशावर घुम्ने समय व्यवस्थापन गर्ने समयको रूपमा यसको भरपुर उपयोग गर्न सक्छन्। 

दसैंको सांस्कृतिक र धार्मिक पक्ष  :  दसैंमा धार्मिक विधिपूर्वक गरिने पूजाआजा र देवी दुर्गा भवानीको नौ दिनसम्मको उपासना यसको धार्मिक र सांस्कृतिक रूपमा मनाइने विशेषता हो। आफ्नो धार्मिक र सांस्कृतिक आस्थाका देवीदेवताको पूजा गर्नु, शक्तिपीठहरूको भ्रमण बली र पूजा र शक्ति आर्जनको लागि दुर्गा भवानीको साधना गर्नु हिन्दुहरूको परम्परा हो। धार्मिक आस्था र विश्वास हो। शक्ति साधनको भय र तागत देखाएर आफूलाई बलवान् ऊर्जावान् ठान्दै वर्चस्वको राजनीति देखाउनु दसैंभित्रको धार्मिक राजनीति हो।

जित्नेहरूको इतिहास लेखिने हुनाले विजयको इतिहासको एकातिर व्याख्या विश्लेषण हुन्छ भने आलोचनात्मक दृष्टि राखेर विमर्श गर्नेहरू दसैंको पुनव्र्याख्याको माग गर्छन्। जो विजित सबै सत् र देव हार्ने सबै राक्षस र दानव हुँदैनन् र थिएनन् भनेर आजको युग चेतनाको चस्माबाट हिजोलाई हेर्नुपर्ने विचार व्यक्त गर्छन्।

जनजाति अधिकारकर्मी दुर्गाहाङ याख्खा राई भन्छन्, ‘सजंगबहादुर राणा प्रधानमन्त्री भएपछि गैरहिन्दु किराँत समाजका अगुवा राम्लिहाङ र रिदामको हत्या गरी त्यही वर्षदेखि दसैं मान्न लगाइयो।’ समाजशास्त्री सुरेश ढकालका अनुसार, ‘राजा पृथ्वीनारायण शाहले नेपाल राज्य एकीकरण गरेपश्चात लिम्बूलाई पनि दसैं मान्न र बली दिन बाध्य पारियो र दसैं मानेको प्रमाणस्वरूप पशुको रगतको पञ्जाछाप भित्तामा लगाएर प्रमाण राख्ने र सरकारी हाकिम आएको बेला देखाउने चलन बसालियो।’

दसैं कुनै धर्म विशेषको मात्र पर्व नभएर सबै नेपालीको धार्मिक, सांस्कृतिक र सामाजिक र अर्थ राजनीतिको पनि पर्व हो। आजको सन्दर्भमा दसैंलाई आआफ्नो तरिकाले मनाउने छुट सबैलाई छ। कसैलाई पनि बाध्यकारी अवस्था छैन। दसैंको बलियो पक्ष भनेको यसको समाजशास्त्र बहुआयामिक छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.