सप्तकोशी नदीमा खसेको बसका चालक प्रहरीको नियन्त्रणमा, सबै यात्रु सकुशल

सप्तकोशी नदीमा खसेको बसका चालक प्रहरीको नियन्त्रणमा, सबै यात्रु सकुशल

विराटनगर : कोशी ब्यारेजबाट सप्तकोशी नदीमा खसेको बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बसमा रहेका सबै यात्रुको सकुशल उद्धार भएको छ।

सप्तरी प्रहरीका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले बसका चालक सिराहाको लहान नगरपालिका–८ घर भएका अन्दाजी ३५ वर्षीय चन्दनकुमार मेहतालाई नियन्त्रणमा लिइएको जानकारी दिए। उनका अनुसार चालक मेहतालाई इलाका प्रहरी कार्यालय भारदहमा राखिएको छ। चालक मेहता सकुशल छन्।

चलक १, सहचालक २ तथा यात्रुसहित बसमा १७ जना रहेको र सबैको सकुशल उद्धार भएको जानकारी डीएसपी न्यौपानेले दिए। सबै जनालाई स्थानीय र प्रहरीले उद्धार गरेर उपचारका लागि विभिन्न अस्पतालमा पठाएको उनको भनाइ छ। उनका अनुसार दुर्घटनामा मानवीय क्षति हुन पाएन। उद्धार गरिएका सबैको अवस्था सामान्य छ। 

न्यौपानेले घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको जानकारी दिए। उनका अनुसार विराटनगरबाट यात्रु लिएर उदयपुरको गाईघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको नर्सिङ डिलक्स बस कोशी ब्यारेजको ३५ नम्बर ढोकाबाट साँझ ६ः१० बजेतिर सप्तकोशी नदीमा खसेको थियो। बस खसेको स्थान सप्तरीमा पर्छ।

सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजबाट बस नदीमा खसेको जानकारी उनले दिए। ‘विराटनगरबाट गाईघाटतर्फ जाँदै गरेको यात्रुवाहक बस आफैं अनियन्त्रित भएर सप्तकोशी नदीमा खसेको हो,’ उनले भने, ‘ब्यारेजको ३५ नम्बर ढोकादेखि दक्षिणतर्फको साइडबाट बार भत्काउँदै बस नदीमा खसेको थियो।’ दुर्घटनाको कारण थप अनुसन्धानपछि पत्ता लाग्ने उनले बताए।

उनका अनुसार नदीमा खस्ने क्रममा बसले ब्यारेजको पुलका बारहरु भत्काएको छ। बस अहिले पनि नदीमै रहेको र बाहिर निकाल्ने प्रयास भइरहेको न्यौपानेले बताए। सप्तरी र सुनसरीबाट खटिएका प्रहरी तथा स्थानीय उद्धारमा सक्रिय भएर लागेका थिए। 

ब्यारेजको ३५ नम्बर ढोका खुला नभएका कारण बस खसेको स्थानमा पानीको सतह कम थियो। पानी सतह कम भएकैले नदीमा खसे पनि बस डुब्न पाएन। जसका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ। ‘केही वरपरका अरु ढोका खुला भएपनि बस खसेको स्थानको ३५ नम्बरसहित आसपासका ढोकाहरु खुला थिएनन्,’ न्यौपानेले भने, ‘ढोका खुला नभएको ठाउँमा पानीको सतह कम भएकैले बस डुब्न पाएन।’ ढोका खुला भएको ठाउँमा पानीको बहाव उच्च हुने उनले बताए। 

‘ढोका खुला भएको ठाउँमा बस खसेको भए सकुशल उद्धार सम्भव नहुन सक्थ्यो,’ उनी भन्छन्, ‘पानीको बहावले बस नै बगाउने सम्भावना हुन्थ्यो।’ न्यौपानेका अनुसार पानीको सतह कम र बहाव नभएकै कारण चाँडो एवं सकुशल उद्धार सम्भव भयो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.