मोरङमा बाढी र डुबानले ४० परिवार विस्थापित

मोरङमा बाढी र डुबानले ४० परिवार विस्थापित

विराटनगर : मोरङमा निरन्तर वर्षापछिको बाढी र डुबानका कारण शुक्रबार साँझ ४० परिवार विस्थापित भएका छन्। मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार मोरङको रंगेलीमा १६ र धनपालथानमा २४ परिवार विस्थापित भएका हुन्। रंगेली नगरपालिका–२ लक्ष्मीपुरका १६ परिवार साँझ ५ बजेतिर विस्थापित भएको उनले बताए। 

रंगेली–२ स्थित कोचेनी खोलामा पानीको बहाव उच्च भएर बाढी वस्तीमा पसेको थियो। खोला बस्तीमा परेर घरघरमा पानी छिर्न थालेसँगै असुरक्षित भएर स्थानीय घरबार छाड्न बाध्य भएको जानकारी जोशीले दिए। विस्थापित भएकालाई इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोली र विभिन्न युनिटबाट परिचालित प्रहरीले उद्धार गरेका थिए। उद्धार गरेर बाढीपीडितलाई सरस्वती माध्यमिक विद्यालयमा राखिएको जोशीले बताए। 

त्यस्तै, धनपालथान गाउँपालिका–३ बेतौना टोलका २४ परिवार विस्थापित भएका छन्। मंगलबारे नहरमा पानीको बहाव बढेर बाढी गाउँमा छिरेपछि स्थानीय विस्थापित भएको प्रहरीले जनाएको छ। 

जोशीका अनुसार बाढी र डुबानबाट पीडित बनेकालाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको छ। पीडितहरुले आफ्ना सरसामान र चौपायासहित घर छाडेका छन्। डुबानका कारण केही घरमा क्षतिसमेत पुगेको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण कोशी प्रदेशको राजधानी 

विराटनगरसहित पूर्वको जनजीवन प्रभावित बनेको छ। विराटनगरका अधिकांश स्थान डुबानमा परेका छन्। यद्यपि, विराटनगरमा सर्वसाधारण भने विस्थापित नभएको प्रहरीले जनाएको छ। विराटनगरको पूर्वतर्फ सिंघिया र पश्चिमतर्फ केसलिया खोला छन्। दुवै खोलामा आएको बाढी ‘ओभरफ्लो’ भएर बस्तीमा छिर्ने सम्भावना बढेको प्रहरीले जनाएको छ। जसका कारण ५ सयभन्दा बढी घरहरु डुबानको जोखिममा परेका छन्।
 
वर्षासँगै सडक जलमग्न हुँदा कोशी लोकमार्गमा सवारीसाधन आवागमनमा समस्या भएको थियो। निरन्तरको वर्षासँगै विराटनगरका अधिकांश स्थान जलमग्न बनेका छन्। विराटनगरमा पानी निकासको उचित प्रबन्ध छैन। जसका कारण सामान्य वर्षामै डुबान हुन्छ। बाढी एवं डुबानको सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको जानकारी मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले दिए। ‘ठाउँठाउँमा पीडितको उद्धारका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ,’ उनले भने, ‘जोखिमयुक्त स्थान र सम्भावित जोखिमलाई ध्यानमा राखेर उद्धारको आवश्यक प्रबन्ध मिलाइएको छ।’ 

एसपी कार्कीले जोखिमयुक्त ठाउँहरूको निरीक्षण गरेर सर्वसाधारणलाई सचेत गराइएको बताए। विपद्को सम्भावित जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन सबैमा आग्रह गरिएको उनको भनाइ छ। प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले त्यही अनुसारको तयारी गरिएको उनले बताए। ‘सबै निकायबीच एकआपसमा समन्वय गरेर काम भइरहेको छ,’ कार्की भन्छन्, ‘विपद्मा उद्धार र सूचना संकलनलाई पनि प्रभावकारी बनाइने छ।’

उनका अनुसार मोरङका विभिन्न खोलामा जलसतह बढेको छ। एसपी कार्कीले खोला तथा नदी र तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको बताए। बिहीबार साँझदेखि सुरु भएको वर्षा शुक्रबार दिनभर रोकिएन। वर्षाका कारण विराटनगरलगायत विभिन्न स्थानका विद्यालयमा पठनपाठनसमेत प्रभावित बन्यो। अधिकांश विद्यालयमा शुक्रबार बिदा दिइएको थियो। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.