देशैभर भारी वर्षा, जताततै सडक अवरुद्ध

बाढीले जनधनको क्षति

देशैभर भारी वर्षा, जताततै सडक अवरुद्ध

काठमाडौं : बिहीबार रातिबाट परेको भारी वर्षाले देशैभरका दर्जनौं सडक अवरुद्ध भएका छन्। करोडौं रुपैयाँको क्षति भएको छ। गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख भीष्मकुमार भुसालका अनुसार पाँच प्रदेशका विभिन्न ठाउँमा भारी मात्रामा वर्षा भएको छ। 

वर्षाका कारण कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १७ वटा राजमार्गका विभिन्न सडकहरू पूर्णरूपमा अवरुद्ध भएका छन्। मध्यपहाडी लोकमार्ग, तमोर करिडोर, कान्ति लोकपथ, भीमफेदी सिस्नेरी, बीपी राजमार्ग, पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्गमा पर्ने सडकखण्ड अवरुद्ध भएका हुन्। 

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता विनोद घिमिरेका अनुसार नागढुंगा–काठमाडौं सडकमा हिलोसहितको पहिरो जाँदा शुक्रबार दिनभर सडक अवरुद्ध भयो। बाटो खुलाएर एकतर्फी गाडी सञ्चालन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। 

जल तथा मौसम विभाग महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार विगत १२ घण्टामा कोशी प्रदेशको झापा, इलामलगायत क्षेत्रमा अति भारी वर्षा भएको छ। झापाको अनारमनिमा २०३ मिलिमिटर र चन्द्रगढी विमानस्थलमा २६० मिलिमिटर पानी परेको छ। 

यस्तै, इलाममा २४३ मिलिमिटर वर्षा मापन गरिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबारदेखि पछिल्लो २४ घण्टामा देशभर विपद्का ५७ वटा घटना भए। प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार २४ घण्टामा देशभर भएको प्राकृतिक विपत्तिका कारण ३१ ठाउँमा पहिरो, १४ ठाउँमा बाढी र ७ वटा आगलागीका घटना भएका छन्। १० वटा परिवार विस्थापित छन्।

कुलेखानी ड्याम भरियो

गृह मन्त्रालयको विपत् महाशाखा प्रमुख भुसालका अनुसार मकवानपुरस्थित कुलेखानी ड्यामको बाँध भरिएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। कुलेखानी ड्याम केही घण्टामा भरिन सक्ने स्थिति देखिएको र बाँधको सुरक्षालाई मध्यनजर गर्दै ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुन सक्ने भुसालले बताए। 

ड्याम भरिएपछि पानी पोखिन सक्ने भएकाले बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनारका बस्तीहरूमा बाढी आउन सक्ने देखिएको छ। त्यसैकारण तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र हाइ अलर्टमा रहन आग्रह गरिएको भुसालले बताए। शुक्रबार बिहान ९ बजे १५२५ मिटर रहेको उक्त ड्याममा पानीको सतह साँझ ५ बजे १५२६.५५ मिटर पुगेको छ। यो सतह १५३० मि. पुगेपछि पानी पोखिन सक्ने सम्भावना रहेको महाशाखा प्रमुख भुसालले जानकारी दिए। 

उपत्यका जलमग्न

अविरल वर्षाका कारण काठमाडौं उपत्यका पनि जलमग्न भएको छ। जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार राजधानीका विभिन्न क्षेत्रमा जोखिम मापन गरिएको छ। 

जल तथा मौसक विज्ञान पूर्वानुमान महाशाखाका अनुसार कीर्तिपुरमा ८४ मिलिमिटर र बूढानीलकण्ठमा ६५ मिलिमिटर पानी परेको छ। ललितपुरको लेलेमा ११५ दशमलव पाँच र गोदावरीमा ९३ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ।

काठमाडौंका बागमती, विष्णुमती, धोबीखोला, ललितपुरको कर्मानाशा, भक्तपुरको हनुमन्ते खोलामा जलसतह उच्च रहेको छ। बागमती नदी, खोकना, मनोहरा, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोंगबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा भएकाले नदी तटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेले उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। 

वर्षाका कारण बालकुमारीको बलभद्र बस्तीमा पानी पसेर बस्ती डुबानमा परेको थियो। ललितपुरको बागमती सुन्दरीघाटबाट १८ जना मानिसलाई उद्धार गरिएको छ। बल्खुको तरकारी बजार पनि डुबानमा परेको छ। 

झापामा ३१ परिवार विस्थापित, १ बालिकासहित ३ बेपत्ता

दुई दिनदेखि परिरहेको अविरल वर्षाका कारण झापा जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ। 

अविरल वर्षापछि अहिलेसम्म जिल्लामा एक बालिकासहित ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। दक्षिणी झापाको कचनकवल गाउँपालिका–१ झकुवाटोलीकी पचूँ राजवंशीकी छोरी १४ वर्षीया नेहारिका राजवंशी जमुना खोलाले बगाउँदा बेपत्ता भएकी हुन्। भारत सानिमाको घरबाट पाहुना खाएर साइकल चढेर घर फर्कने क्रममा चमारभिट्टा पुल छेउको जमुना खोलाले शुक्रबार दिउँसो करिब ३ बजे उनलाई साइकलसहित बगाउँदा बेपत्ता भएको प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। 

बालिकाको खोजी कार्य भइरहेको उनले बताए। त्यस्तै, शुक्रबार दिउँसो १२ः२० बजेको समयमा कचनकवल गाउँपालिका– २ स्थित अमुलफुटा खोला तर्ने क्रममा प्र १–०२–०५प ६९७८ नम्बरको मोटरसाइकल खोलाले बगाएको हो। मोटरसाइकल चालक सोही ठाउँका २७ वर्षीय रबिन भट्टराई भने सकुशल रहेका छन्। मोटरसाइकलको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। वर्षाले जिल्ला १५ वटा पालिकाका होचो भूभागहरू जलमग्न भएको छ। खोला तथा सडक नालाका सयौँ घरभित्र पानी पसेको छ। जसकारण उनीहरूको दैनिक कामकाज प्रभावित बनेको थियो। 

विपद् कार्यालय झापाका अनुसार हालसम्म जिल्लामा ३१ परिवार विस्थापित भएका छन्। विस्थापित हुनेहरूमा सबैभन्दा बढी बिर्तामोडका रहेका छन्। बिर्तामोडका १८ परिवार विस्थापित भएका हुन्। त्यस्तै कनकाई नगरपालिका ३ झर्ना बस्तीमा सन्का खोला र सुरुंगा खोलाको पानीको बहाव पसेर ११ परिवार विस्थापित भएका छन्। कनकाई नदीले कटान सुरु गर्दा दुई परिवार विस्थापित भएका छन्। शिवसताक्षी नगरपालिका– १० बस्ने अमर ऋषिदेव र किरण ऋषिदेवको परिवार विस्थापित बनेका हुन्। शिवसताक्षी– १० बिहानी टोलको पश्चिमतर्फबाट कनकाई खोलाले कटान सुरु गरेको हो। उक्त टोलको १५ घरमध्ये ती दुई वटा घर अति जोखिममा परेपछि शिवसताक्षी नगरपालिका १० नम्बर वडा कार्यालयको समन्वयमा मुक्ति घाटको भवनमा स्थानान्तरण गरिएको हो।

त्यस्तै, शिवसताक्षी नगरपालिका वडा नं ७ को होली टोलका अन्दाजी २०–२२ घरमा सताक्षी खोलाको पानी पसेर डुबान परेको छ। घरमा सामान्य पानी पसेको र तत्काल क्षति गर्ने सम्भावना नरहेकोले उनीहरूलाई स्थानान्तरण नगरिएको जिल्ला विपद् कार्यालयले जनाएको छ। मेची, निन्दा, बिरिङ, मावा, कनकाई, रतुवा, अदुवा, हडिया, देउनियाँलगायतको नदीहरूमा जलस्तरसमेत ह्वातै बढेको छ। ती नदी आसपासका स्थानीयलाई उच्च सतर्कता अपनाउन झापा प्रशासनले आग्रह  छ।  बितेको २४ घण्टामा सबैभन्दा धरै वर्षा जिल्लाको सदरमुकाम भद्रपुरस्थित चन्द्रगढीमा भएको छ। 

खोलाले बगाउँदा १ बालिकासहित ३ बेपत्ता

खोलाले बगाउँदा झापामा एकै दिन एक बालिकासहित तीन जना बेपत्ता भएका छन्। कचनकवलको जमुना खोला, गौरीगन्जको किस्ने खोला र कमल गाउँपालिकाको किस्ने खोलाले बगाउँदा तीनजना बेपत्ता भएको प्रहरी कार्यालय झापाले जनाएको छ। 

गौरीगन्ज गाउँपालिका ३ र २ को सिमानामा रहेको हुलाकी राजमार्गमा पर्ने किस्ने खोलाको पुलबाट हाम फाल्दा गौरीगन्ज–२ भाकुरमारीस्थित सुकुम्बासी बस्तीका अन्दाजी ५० वर्षीय केमालाल ताजपुरिया बेपत्ता भएको प्रहरीले जनाएको छ। मादक पदार्थ सेवन गरेका उनले पुल माथिबाट शुक्रबार दिउँसो ४ बजे हाम फालेका थिए। उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय गौरीगन्जका प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए। 

त्यस्तै, कमल गाउँपालिका–१ का मुसे भन्ने रमेश चौधरीको छोरा ३५ वर्षीय टीकाराम चौधरी डुबेर बेपत्ता भएका छन्। शुक्रबार साँझ ७ बजे कमल १ स्थित किस्ने खोलामा माछा मार्ने क्रममा खोलामा डुबेर उनी बेपत्ता भएको प्रहरीले जनाएको छ। उनको खोजी कार्य भइरहेको छ। त्यसैगरी कचनकवल गाउँपालिका–१ झकुवाटोली बस्ने पचुँ राजवंशीकी छोरी १४ वर्षीया नेहारिका राजवंशी जमुना खोलामा डुबेर बेपत्ता भएकी छिन्। उनी अझै सम्म नभेटिएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

मोरङमा ४० परिवार विस्थापित 

मोरङमा निरन्तर वर्षापछिको बाढी र डुबानका कारण शुक्रबार साँझ ४० परिवार विस्थापित भएका छन्। 

मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार मोरङको रंगेलीमा १६ र धनपालथानमा २४ परिवार विस्थापित भएका हुन्। रंगेली नगरपालिका–२ लक्ष्मीपुरका १६ परिवार साँझ ५ बजेतिर विस्थापित भएको उनले बताए। 

रंगेली–२ स्थित कोचेनी खोलामा पानीको बहाव उच्च भएर बाढी बस्तीमा पसेको थियो। खोला बस्तीमा परेर घरघरमा पानी छिर्न थालेसँगै असुरक्षित भएर स्थानीय घरबार छाड्न बाध्य भएको जानकारी जोशीले दिए। 

विस्थापित भएकालाई इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोली र विभिन्न युनिटबाट परिचालित प्रहरीले उद्धार गरेका थिए। उद्धार गरेर बाढीपीडितलाई सरस्वती माध्यमिक विद्यालयमा राखिएको जोशीले बताए। 

त्यस्तै, धनपालथान गाउँपालिका–३ बेतौना टोलका २४ परिवार विस्थापित भएका छन्। मंगलबारे नहरमा पानीको बहाव बढेर बाढी गाउँमा छिरेपछि स्थानीय विस्थापित भएको प्रहरीले जनाएको छ। 

जोशीका अनुसार बाढी र डुबानबाट पीडित बनेकालाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको छ। पीडितहरूले आफ्ना सरसामान र चौपायासहित घर छाडेका छन्। डुबानका कारण केही घरमा क्षतिसमेत पुगेको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण कोशी प्रदेशको राजधानी विराटनगरसहित पूर्वको जनजीवन प्रभावित बनेको छ। विराटनगरका अधिकांश स्थान डुबानमा परेका छन्। यद्यपि, विराटनगरमा सर्वसाधारण भने विस्थापित नभएको प्रहरीले जनाएको छ। विराटनगरको पूर्वतर्फ सिंघिया र पश्चिमतर्फ केसलिया खोला छन्। दुवै खोलामा आएको बाढी ‘ओभरफ्लो’ भएर बस्तीमा छिर्ने सम्भावना बढेको प्रहरीले जनाएको छ। जसका कारण पाँच सयभन्दा बढी घरहरू डुबानको जोखिममा परेका छन्। 

वर्षासँगै सडक जलमग्न हुँदा कोशी लोकमार्गमा सवारीसाधन आवागमनमा समस्या भएको थियो। निरन्तरको वर्षासँगै विराटनगरका अधिकांश स्थान जलमग्न बनेका छन्। विराटनगरमा पानी निकासको उचित प्रबन्ध छैन। जसका कारण सामान्य वर्षामै डुबान हुन्छ। बाढी एवं डुबानको सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको जानकारी मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले दिए। ‘ठाउँठाउँमा पीडितको उद्धारका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ,’ उनले भने, ‘जोखिमयुक्त स्थान र सम्भावित जोखिमलाई ध्यानमा राखेर उद्धारको आवश्यक प्रबन्ध मिलाइएको छ।’ 

एसपी कार्कीले जोखिमयुक्त ठाउँहरूको निरीक्षण गरेर सर्वसाधारणलाई सचेत गराइएको बताए। विपद्को सम्भावित जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन सबैमा आग्रह गरिएको उनको भनाइ छ।  

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ। गए रातिदेखिको अविरल वर्षाका कारण स्याफ्रुदेखि रसुवागढी खण्डको विभिन्न स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो। 

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार टिमुरे–रसुवागढी सडक खण्डमा २ ठाउँमा पहिरो गएको छ। जसका कारण पैदलयात्रा गर्न समेत असहज छ। स्याफ्रुबेसी उत्तर कुलुङ पुलमा लेदोले सडक अवरुद्ध भएको छ। यस क्षेत्रमा भने पहिरो पन्छाउने काम भइरहेको कार्यालयले जनाएको छ। तातोपानी सडक खण्डमा पनि पहिरो झरेर सडक अवरुद्ध भएको र यस क्षेत्रमा आज सडक खुलाउन नसकिने कार्यालयले जनाएको छ। टिमुरे क्षेत्रमा विद्युत् र मोबाइल फोन अवरुद्ध छ।

रोशी र कोशीबीचमा ३३ जना फसे, पाँच घर बगे

 लगातारको वर्षातसँगै आएको बाढीमा सिन्धुलीमा ३३ जना फसेका छन् भने पक्कीसहित पाँच घर बगाएको छ। 

सिन्धुलीको सुनकोशी गाउँपालिका १ दुम्जामा रहेको आदी लिंगेश्वर कुशेश्वर महादेव गुरुकुलमा अध्ययनरत २६ बटुकसहित ३३ जना रोशी र सुनकोशीको बीचभागमा फसेका छन् भने सोही ठाउँमा पक्की साढे दुई तलासहित पाँच घर बगाएको हो। 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) गोविन्दराज काफ्लेका अनुसार रोशी र सुनकोशी नदीमा आएको बाढीका कारण कुशेश्वर दुम्जामा रहेको आदी लिंगेश्वर कुशेश्वर महादेव गुरुकुलमा अध्ययनरत २६ जना बटुक, ३ जना शिक्षक, २ जना कर्मचारी र अन्य दुई जना गरी ३३ जना शुक्रबार दिउँसोदेखि बाढीमा फसेका छन्। 

उनीहरूको उद्धार गर्ने प्रयास भए पनि बाढीका कारण समस्या भएको छ। रोशीमा आएको बाढीले मन्दिर प्रवेश गर्ने मार्ग बगाएर पूर्णरूपमा क्षति पु¥याएको छ। ‘मन्दिर अगाडि रोशीको बाढी पसेको छ। मन्दिर पछाडि सुनकोशीमा बाढी उर्लेको छ। अहिले उहा“हरूको उद्धार गर्न समस्या भएको छ,’ उनले भने।

‘बाढीमा फसेकाहरूको उद्धारका लागि कुशेश्वर प्रहरी चौकी दुम्जाका प्रहरी सहायक निरीक्षक बिसुराज थोकरको कमान्डमा ६ जना, इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक एल्जिना राईको कमान्डमा ९ जना र सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ११ जना गरी २६ जनाको टोली उक्त स्थानमा तैनाथ छ,’ उनले भने।

‘तर रोशीमा बाढी नघटेकाले उद्धार गर्न कठिन भएको छ। गुरुकुलमा रहेकाहरूसँग नियमित सम्पर्क भएको छ। उहाँहरूले हामीहरू सुरक्षित रहेको जनाउनु भएको छ।    खोलामा थप बाढी बढे उहाँहरूको उद्धारका लागि नेपाली सेनालाई समेत खबर गरिएको र गृह मन्त्रालयमा जानकारी गरिएको छ,’ काफ्लेले थपे।

बिहीबारदेखि लगातार परेको वर्षाका कारण सिन्धुलीको बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी लोकमार्गमा समेत अवरुद्ध भएका छन्।

बीपी राजमार्गअन्तर्गत सिन्धुली–धुलिखेल खण्डमा ठाउँठाउँमा पहिरो र लेदोले सडक अवरुद्ध भएको छ। सुनकोशीको साँदी, सिन्धुली र काभ्रेको सिमाना तथा काभ्रेको मंगलटारमा समेत बाढीले राजमागमा क्षति पुग्दा सडक अबरुद्ध भएको छ। 

शुक्रबार दिनभर अवरुद्ध सडक खुलाउने प्रयास गरिएको भए पनि वर्षात् कम नभएपछि त्यस स्थानहरूमा फसेका गाडीहरूलाई सुरक्षित स्थनामा रोक्ने प्रहरी परिचालन गरिएको छ भने सिन्धुलीमाढी र खुर्कोटमा सबै सवारीलाई रोकिएको छ। यस्तै मदन भण्डारी राजमार्गको सिन्धुलीमाढी–हरिहरपुरगढी खण्डमा समेत पहिरो खस्दा समस्या आएको छ भने मध्यपहाडी लोकमार्गमा समेत पहिरो खस्दा सडक अवरुद्ध भएको स्थानीयले जनाएका छन्।

यस्तै, बाढीका कारण कमलामाई नगरपालिका— ९ मा समेत क्षति भएको खबर आएको र त्यसतर्फ प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख काफ्लेले जानकारी दिए। घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको छ। 

वर्षात्का कारण आएको बाढीले सिन्धुलीको कमला, मरिण, सुनकोशी र बागमती नदी तटीय क्षेत्रमा त्रास बढेको छ। बाढीको सतह बढ्दै जाँदा नदी किनारामा बस्ने स्थानीयमा त्रास बढेको हो। 

उता मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको ड्याममा पानी भरिएर फुट्ने अवस्था आएपछि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको बागमती नदी तटीय क्षेत्रका नागरिकमा त्रास बढेको छ। त्यस क्षेत्रका नागरिकलाई सचेत रहन गाउँपालिकाले अनुरोध गरेको छ। 

धादिङमा ३ जना बेपत्ता 

अविरल वर्षापछि खसेको पहिरोले धादिङमा २ जना बेपत्ता भएका छन् भने एक बालिकालाई खोलाले बगाएर बेपत्ता भएकी छिन्।

नदीमा माछा मार्न गएका बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्तु चेपाङ पहिरोमा परेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए। नदीमा माछा मार्न जान लागेका उनीहरू निरन्तरको वर्षाका कारण गजुरी गाउँपालिका वडा नम्बर २ गुम्बाडाँडामा रहेको ओडारमा बस्दा पहिरो लडेर पुरिएका हुन्। पहिरोले पुरिएपछि बेपत्ता २ जनाको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले खोजतलास गरिरहेको प्रहरीले जनाएको छ। 

यसैगरी गजुरी गाउँपालिका वडा नम्बर ७ र ८ को बीचमा पर्ने घट्टेखोलाले  बगाएपछि एक बालिका बेपत्ता भएकी छिन्। त्यस्तै एउटा  मोटरसाइकल पनि  खोलाले बगाएको  स्थानीय योगेन्द्र बस्नेतले जानकारी दिए। हराइरहेका बालिकाको पहिचान खुलेको छैन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.