१४ सय मेगावाट विद्युत् उत्पादन बन्द, माथिल्लो तामाकोशीको मुख्य बाँधमा क्षति
काठमाडौं : दुई दिनदेखिको अविरल वर्षाका कारण करिब १४ सय मेगावाट विद्युत्् उत्पादन बन्द भएको छ। ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनासहित करिब १४ सय मेगावाट विद्युत्् उत्पादन बन्द भएको नेपाल विद्युत्् प्राधिकरणका प्रवक्ता चन्दन घोषले जानकारी दिए। पूर्वाञ्चल क्षेत्रका केही आयोजनामा वर्षाले असर पुर्याएको र केही आयोजनाहरूले सर्तकता अपनाउँदै पावरहाउस बन्द गरिएको छ। मुलुकको अहिलेको कुल आन्तरिक विद्युत् जडित क्षमता करिब ३१ मेगावाट रहेको छ।
अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा क्षति पुर्याएको हो। हेडवक्र्समा क्षति पुगेका कारण आयोजनको उत्पादन अनिश्चितकालका लागि बन्द भएको उनले जानकारी दिए।
योसँगै नेपाल प्राधिकरणको उत्पादन रहेको २२.१ मेगावाटको चिलिमे जलविद्युत्् आयोजना निजी क्षेत्रका २२.१ मेगावाटको तल्लो हेवा खोला, २१.६ मेगावाटको हेवा खोला तथा बागमती नदीमा बनिहरेको २२ मेगावाटको माण्डु आयोजनमा क्षति पुगेको छ। निजी क्षेत्रका तल्लो हेवा र हेवा खोला सञ्चालनमा रहेका आयोजना हुन् भने माण्डु जलविद्युत्् आयोजना निर्माणाधीन रहेको थियो। सबै आयोजनाको पावर हाउस डुबेको नेपाली स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का महासचिव बलराम खतिवडा बताउँछन्।
२०८० सालको असार १ गते आएको बाढीले क्षतिपुर्याएको पाँचथरको हेवा खोलाको पहुँच मार्गको पुल निर्माण गरेर संचालनको तयारी अवस्थामा रहेकोमा अविरल वर्षाले पावरहाउस पुनः डुबेको खतिवडाले जानकारी दिए। तल्लो हेवाको पावरहाउस डुब्नुका साथै मुख्यबाँध पनि क्षति पुगेको जानकारी पाएको खतिवडा बताउँछन्। वर्षाले अहिलेसम्म धेरै आयोजना भने क्षति नपुर्याएको उनले बताए। अविरल वर्षाका कारण मुलुकको एकमात्र जलाशययुक्त आयोजना कुलेखानी (१०६ मेगावाट) को ड्याम भरिएको छ। ड्याम भरिएपछि आयोजनाका सबै ढोका खोलिएका छन् भने आयोजनालाई पूर्ण क्षमतामा चलाउन तीनवटै विद्युत्् गृह खोलिएको छ।
यता, नेपाली लगानीमा बनेको र अहिलेसम्म बढी क्षमताको पिकिङ रन अफ रिभर (पीआरओआर) माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाट विद्युत्् उत्पादन बन्द गरिएको थियो भने बाँधका सम्पूर्ण ढोका (गेट)हरू खुला गरिएको छ। बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्र्याउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने नहर (कल्भर्ट)मा क्षति पुगेको छ। नियन्त्रण कक्ष, डिस्यान्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको अनुमान गरिएको छ। मुख्यबाँधमा कार्यरत २ कर्मचारी, गरुडदल गणका २ जवान र १ सुरक्षागार्डसहित ५ जना बेपत्ता भएका छन्। उनीहरूको खोजी कार्य भइरहेको बताइएको छ।
तामाकोशी आयोजनाको डिजाइन डिस्चार्ज (पानीको बहाव) ६६ क्युमेक हो। अहिले तामाकोशी नदीको बहाव बाँधस्थलमा ४६१ क्युमेक छ। नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद बिक्री सम्झौता बामोजिम नदीमा पानीको बहाव २५० क्युमेक हुनासाथ विद्युत््गृह बन्द गर्नुपर्ने छ। शुक्रबार दिउँसो ४ बजेपछिबाट पानीको बहाव २५० क्युमेक नाघेको र पानीको बहाव बढ्ने क्रम रहेपछि साँझ ७ बजेबाट विद्युत्् उत्पादन पूर्णरूपमा बन्द गरिएको थियो।
योसँगै दमकदेखि गोरखपुरसम्मको काबेली प्रसारणलाइनको टावर नम्बर ५१ माइखोलाले बगाउँदा काबेली क्षेत्रको २ सय मेगावाट राष्ट्रिय प्रसारणबाट काटिएको छ। पूर्वीक्षेत्र इलाम, फिदिम, पाँचथर, ताप्लेजुङलगायत कोशीपारीका क्षेत्रहरूमा बिजुली काटिएको छ। पूर्वी क्षेत्रमा विद्युत् उत्पादन लगभग ठप्प भएको छ।
यस्तै, विद्युत् आपूर्तिका लागि काठमाडौं उपत्यकाको लाइफलाइनका रूपमा रहेको खिम्ती–लामासाँघु १३२ केभी प्रसारणलाइनको ७ नम्बर टावर कोशी नदीले बगाएको छ। टावर बगाउँदा उपत्यकाको विद्युत् आपूर्तिमा बाधा पुगेको छ। केही ठाउँमा पिक समयमा विद्युत् कटौती भएको प्रवक्ता घोषले जानकारी दिए। धेरै ठाउँमा आपूर्ति कटौती हुँदा विद्युत् उच्च माग करिब १७ सय मेगावाटमा सिमित भएको छ। उच्च माग करिब २२ सय मेगावाट हुने गरेकोमा आपूर्तिमा भइरहेको बाधाले केही घटेको हो। उपत्यकामा वर्षामा कमिसँगै जनजीवन सामान्य बने पनि नदी किनाराका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनसक्ने प्राधिकरण प्रवक्ता घोषले बताए।
आन्तरिक उत्पादनमा भारी कटौतीपछि भारतबाट विद्युत् आयात गरिएको छ। आन्तरिक आपूर्ति व्यवस्थालाई सहज बनाउनका लागि करिब ३ सय मेगावाट बिजुली भारतबाट निर्यात गर्नुपरेको प्रवक्ता घोषले बताए। ढल्केवर–मुज्जफपुर ४ सय केभि प्रसारणलाइनबाट विद्युत् आयात गरिएको छ।