‘सिधा कुरा’ले अदालतको अवहेलना गरेको ठहर, सञ्चालक र सम्पादकलाई कैद सजाय (पूर्णपाठ)

‘सिधा कुरा’ले अदालतको अवहेलना गरेको ठहर, सञ्चालक र सम्पादकलाई कैद सजाय (पूर्णपाठ)
फाइल तस्बिर।

काठमाडौं : सिधा कुरा डटकमविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा संलग्न सबैलाई जेल सजाय हुने फैसला भएको छ। सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले आज ‘फेक अडियो’ बनाउने राजकुमार तिमल्सिनालाई ६ महिना र प्रकाशन/प्रसारण गर्ने सिधा कुरा अनलाइनका सञ्चालक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई ३/३ महिना कैद सजाय सुनाएको हो।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, हरिप्रसाद फुँयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल रहेको बृहत् पूर्ण इजलासले मुद्दाको किनारा लगाएको हो।

‘प्रत्यर्थीहरूबाट अदालतको अवहेलना हुने कसूर भएको छ वा छैन? निजहरूलाई प्रतिवेदन मागबमोजिम अदालतको अवहेलनामा सजाय हुनुपर्ने हो वा होइन? भन्ने सम्बन्धमा हेर्दा, माथिल्ला प्रकरणहरूमा विश्लेषण गरिएअनुसार विवादित सामग्री सत्यतामा आधारित नभई भ्रामक, झुठा, बनावटी, काल्पनिक, स्वकल्पित र स्वसृजित रहेको पुष्टि हुन आएको छ। यस्तो सामग्री प्रकाशन प्रशारण गर्दा सत्यताको परीक्षण गर्ने सम्पादक/प्रकाशकको आधारभूत दायित्व निर्वहन भएको पाइँदैन। यति गम्भीर र संवेदनशील सामग्री प्रशारण गर्नुपूर्व यसको सत्यताको परीक्षणका लागि अदालत वा न्याय प्रशासनको जिम्मेवारीमा रहेका अधिकारीसँग कुनै सम्पर्कको प्रयाससमेत गरेको देखिएन,’ आदेशमा भनिएको छ, ‘यी सबै तथ्य र माथिल्ला प्रकरणहरूमा विश्लेषण गरिएका आधार प्रमाणहरूबाट प्रत्यर्थीहरू राजकुमार तिमिल्सिना, नविन ढुंगाना र युवराज कंडेलले अदालतको न्याय सम्पादनसम्बन्धी कार्यमा अवरोध गर्ने उद्देश्य बदनियत, दुरासययुक्त र प्रवृत्त भावना राखी विवादित सामग्री उत्पादन तथा प्रशारण गरी अदालत, न्यायिक प्रकृया र समग्र न्यायप्रणालीप्रति भ्रामक हल्ला फिँजाई भ्रम र अनास्था पैदा गरी अदालतको गरिमा र मर्यादामा आँच पुर्‍याएको देखिन आयो। त्यसैले यी प्रत्यर्थीहरू तीनै जनाले न्याय प्रशासन ऐन, २०७३ को दफा १७ को उपदफा (१) र (४) बमोजिम अदालतको अवहेलनाको कसर गरेको पुष्टि हुन आयो।’

उक्त अनलाइनले सर्वोच्च अदालतका न्यायाधीश, मिडिया सञ्चालक, कानुन व्यवसायीका सम्बन्धमा भ्रामक प्रचार सामग्री तयार पारी प्रसारण र प्रकाशन गरेको थियो। उक्त कार्यले अदालतको न्याय सम्पादनमा गम्भीर असर परेको भन्दै सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्द घिमिरेले सिधा कुराविरुद्ध अदालतको अवहेना मुद्दामा निवेदन दिएका हुन्।

सर्वोच्च अदालतले स्वतन्त्र न्यायपालिका र व्यावसायिक मिडियामाथि लाञ्छना लगाउँदै प्रकाशित मिथ्या समाचारको विषयवस्तु र प्रसारणलाई गम्भीरताका रूपमा लिँदै सिधाकुरा डटकमका प्रकाशक र सम्पादकविरुद्धको निवेदनलाई फौजदारी लगतमा राख्न आदेश दिएको थियो। ‘फेक अडियो’ सार्वजनिक भएपछि वरिष्ठतम् न्यायाधीश, कानुन व्यवसायी, सञ्चार व्यवसायी र सञ्चारकर्मीमाथि अतिरञ्जित लाञ्छना लगाइएको समाचारलाई लिएर न्यायाधीश समाज नेपाल, नेपाल बार एसोसिएसन, सर्वोच्च बारलगायतले आपत्ति जनाएका थिए। 

पूर्णपाठ


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.