अमेरिकाबाट फर्किए प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क गएका प्रधानमन्त्री ओली सोमबार स्वदेश फर्किएका हुन्।
अमेरिका भ्रमणका क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेन, युएसएआइडीकी प्रमुख समान्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशनकी सीइओ एलिस अल्ब्राइट र युएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनकी डेप्युटी सीईओ निशा बिस्वाललगायतसँग भेटवार्ता गरेका थिए। ती भेटहरूमा अमेरिका र नेपालबीचको बलियो द्विपक्षीय सम्बन्धका साथै नेपालको दिगो र समृद्ध भविष्य सुनिश्चित गर्ने विषयमा छलफल भएको थियो।
त्यस्तै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभामा पनि सम्बोधन गरेका थिए। त्यसक्रममा आयोजित विभिन्न छलफलमा पनि उनी सहभागी बनेका थिए। प्रधानमन्त्री ओलीले जलवायु परिर्वतन, भूराजनीतिक द्वन्द्व र आर्थिक असमानताको सामना गर्न विश्वव्यापी एकताका लागि आह्वान गरेका थिए।
उनले विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न नेपाल तयार रहेको प्रतिबद्धता पनि जनाएका थिए। प्रधानमन्त्री ओलीले राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा सहयोग गर्न नेपाल सधैं तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए।