मोरङका खोला र पैनीमा ३ जना मृत भेटिए

मोरङका खोला र पैनीमा ३ जना मृत भेटिए

विराटनगर : मोरङका भिन्दाभिन्दै स्थानका खोला र पैनीमा ३ जना मृत भेटिएका छन्। खोलाले बगाएर ल्याउँदै गरेको र डुबेर मृत्यु भएको अवस्थामा सोमबार शव फेला परेको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले बताए।

उनका अनुसार कानेपोखरी र ग्रामथान गाउँपालिका तथा विराटनगर महानगरपालिकामा मृत फेला पर्नेमा वृद्धसहित २ जना पुरुष र १ जना महिला छन्। महिलाको पहिचान खुल्न बाँकी छ। 

कानेपोखरी गाउँपालिका–४ खोरियामा डाँस खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा १ जना वृद्ध मृत फेला परेका छन्। इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार पथरीशनिश्चरे नगरपालिका–८ का ७५ वर्षीय लाखबहादुर राईलाई खोलाले बगाउँदै गरेको अवस्थामा स्थानीयले देखेर बाहिर निकालेका थिए। 

दिउँसो १ बजेतिर बाहिर निकालिएका राईको मृत्यु भइसकेको पाइएको उनले बताए। प्रहरीका अनुसार कानेपोखरी–४ स्थित माइली छोरीको घरमा आएका राई ५ दिनदेखि सम्पर्कविहीन थिए। छोरीकोमा खाना खाएर आफ्नो घरतिर फर्किने क्रमममा राईलाई डाँस खोलाले बगाएको हुनसक्ने प्रहरीको अनुमान छ। 

डीएसपी दाहालका अनुसार घटनास्थलबाट करिब साढे ३ किलोमटिर तल शव फेला परेको हो। ‘घर फर्किने क्रममा तर्न खोज्दा खोलाले बगाएर मृत्यु भएको हुनसक्ने आशंका छ। ५ दिनसम्म कतै अड्किएको थियो होला’ दाहालले भने, ‘स्थानीयले बगाउँदै गरेको देखेपछि बाहिर निकालेर हेर्दा मृत्यु भइसकेको रहेछ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ।’

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पथरीबाट इन्स्पेक्टर खगेन्द्र येक्तेनको नेतृत्वमा टोली खटिएको थियो। इन्स्पेक्टर येक्तेनकै टोलीले कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएको छ। 

त्यस्तै, सिंघिया खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा विराटनगरमा १ जना महिलाको शव भेटिएको छ। डीएसपी वेदप्रकाश जोशीका अनुसार विराटनगर महानगरपालिका–८ हाटखोलामा शव फेला परेको हो। अन्दाजी ३० वर्षीयाजस्तो देखिने महिलाको पहिचान नखुलेको उनले बताए। 

बगाएर ल्याउँदै गरेको देखेपछि स्थानीयले खोलाको बीचबाट दिउँसो १२:४५ बजेतिर शवलाई बाहिर निकालेका थिए। घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर हेमराज ओली नेतृत्वको टोली परिचालन गरिएको छ। 

प्रहरीले कानुनी प्रक्रिया पूरा गर्दै घटनास्थलबाट शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगेको छ। मृतकको चिउँडोमा चोट देखिएको छ। खोलाले बगाएर मृत्यु भएको हुनसक्ने बताउँदै डीएसपी जोशीले मृतकको पहिचानको प्रयास गर्दै घटनाको अनुसन्धान अघि बढाइएको जानकारी दिए। 

यसैबीच, ग्रामथान गाउँपालिका–६ का ३५ वर्षीय सत्यनारायण भगत घरनजिकैको पैनीमा मृत फेला परेका छन्। माछा मार्न भनेर आइतबार घरबाट हिँडेका उनको भोलिपल्ट शव भेटिएको हो। फर्किएर नआएपछि खोजी गर्ने क्रममा घरदेखि करिब २ सय मिटर पश्चिममा रहेको पैनीमा डुबिरहेको अवस्थामा शव फेला परेको जानकारी डीएसपी जोशीले दिए। उनका अनुसार भगत बिहान ९ बजेतिर मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन्। 

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोली घटनास्थल पुगेको थियो। खत्री नेतृत्वकै टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ। घटनाको थप अनुसन्धान भइरहेको डीएसपी जोशीले बताए। उनका अनुसार पैनीमै डुबेर भगतको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.