बाढीपहिरोमा परी २१८ जनाको मृत्यु, २७ बेपत्ता
काठमाडौं : बाढीपहिरोमा परेर देशभर २१८ जनाको मृत्यु भएको छ। २७ जना बेपत्ता भएका छन्। बाढी र पहिरोमा परेर १४३ जना घाइते भएका छन्।
प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त विवरण प्रस्तुत गर्दै विपदमा परेका नागरिकको खोज तथा उद्धार र राहतमा सरकार केन्द्रित भएको जानकारी दिएका छन्।
उनले घाइतेको निःशुल्क उपचार र पहिरोका कारण अवरुद्ध मुख्य राजमार्ग र सहायक राजमार्ग खोलेर आवागमन सहज बनाउनेतर्फ सरकार केन्द्रित भएको जानकारी दिए। ‘खोज तथा उद्धार जारी छ। राहत सामग्री वितरणको कार्य पनि जारी छ। सरकारी अस्पतालमा घाइतेको निःशुल्क उपचार भइरहेको छ । राहत सामग्री परिचालन र पुनःस्थापनालाई प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समिति सक्रियतापूर्वक लागेका छन्’, उनले भने।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्वयम् सेवकले विपदमा फसेका चार हजार २२ जनाको उद्धार गरेका उनले बताए।