प्रहरीको रक्तदानबाट ६८ पिन्ट रगत संकलन
विराटनगर : विराटनगरमा प्रहरीले मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ। नेपाल प्रहरीले आफ्नो ६९ औं दिवस मनाउँदै छ।
दिवसका अवसरमा कोशी प्रदेश प्रहरी कार्यालयले रक्तदान कार्यक्रम गरेको हो। प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङको अध्यक्षतामा विराटनगर महानगरपालिका–९ महेन्द्र चोकमा रक्तदान सम्पन्न भएको छ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक एसएसपी अविनारायण काफ्ले र प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी भीमबहादुर दाहाललाई ‘ब्लड ब्याग’ हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरे। काफ्ले र दाहाल पनि कार्यक्रमका रक्तदाता हुन्।
प्रहरी शान्ति सुरक्षाका साथै सामाजिक कार्यहरु पनि गर्दै आएको मन्त्री अधिकारीले बताए। ‘रक्तदान, जीवनदान’ भएकाले मानवीय सेवामा समर्पित हुन सबैमा उनले आह्वान गरेका छन्। मन्त्री अधिकारीले रक्तदातालाई प्रशंसापत्र समेत प्रदान गरे।
नेपाल प्रहरी अस्पताल इनरुवा सुनसरी र नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोगमा आयोजित रक्तदानमा नेपाल प्रहरी र सर्वसाधारणले रगत दिएका थिए। ६८ पिन्ट रगत संकलन भएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालले बताए।
संकलित रगत रक्तसञ्चार सेवा केन्द्रलाई हस्तान्तरण गरिएको छ। कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका एसएसपी जयराज सापकोटा, प्रदेश प्रहरी कार्यालयका एसपी दीपक पोखरेल, मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीलगायत उपस्थित थिए।
डीआईजी खापुङले प्रहरीको रक्तदानका कारण तत्कालको रगत अभाव टर्ने बताए। ‘प्राय रगतको अभाव भइरहेको हुन्छ। प्रहरीले गरेको रक्तदानका कारण केही राहत मिल्छ भन्ने अपेक्षा छ,’ उनले भने।
प्रतिक्रिया दिनुहोस !