बाढी–पहिरोले क्षत विक्षत सुन्दर बीपी राजमार्ग
कोशी र मधेस प्रदेशलाई छोटो दूरीमा संघीय राजधानी काठमाडौं जोड्ने बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्ग बाढी र पहिरोका कारण ध्वस्त भएको छ। गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले मुलुककै सुन्दर र पर्यटकिय राजमार्गको सिन्धुली–धुलीखेल खण्ड क्षतविक्षत छ। सडकका दर्जनौं स्थान भत्किदा पाँचदिनदेखि यातायात प्रभावित छ।
बीपी राजमार्गको खुर्कोट–नेपालथोक, नेपालथोक–भकुण्डेबेंसी र भकुण्डेबेंसी–धुलिखेल खण्डको दुई हजार पाँच सय मिटर सडक रोशीको बाढीले पूरै बगाएको छ। त्यस खण्डमा सडकको नामोनिसाना नै छैन। उक्त राजमार्ग कहिले पूनर्निमार्ण हुन्छ ? एकिन छैन्। तर, अस्थायी रूपमा ट्र्याक निर्माण गरेर यातायात सञ्चालनमा ल्याउनसमेत अझै केही दिन लाग्ने बताइएको छ। ठूला चाडपर्व दसैं तथा तिहार नजिकिँदै छन्। देशको राजधानी काठमाडौंसँग जोड्ने थानकोटपछिको सबैभन्दा ठूलो मार्ग अवरुद्ध हुँदा पूर्व जाने यात्रुलाई असर पर्ने निश्चित छ।
यो मार्ग भएर दैनिक १० हजार बढी सवारीसाधन राजधानी काठमाडौं ओहोर दोहोर गर्थे। तर, अविरल वर्षाका कारण रोशीमा आएको बाढीले सडक भत्काउँदा शुक्रबारबाट उक्त राजमार्ग ठप्प भयो। हजारौं यात्रु भोकभोकै पैदल हिँडेरै राजधानीतर्फ लागे। कतिपय सिन्धुलीतर्फ फर्कन थालेका छन्।
मित्रराष्ट्र जापान सरकारको करिब २६ अर्ब जापानी येन अर्थात् झन्डै २५ अर्ब अनुदान सहयोगमा चारखण्डमा विभाजन गरेर ०५२ सालबाट यस राजमार्गको निर्माण थालिएको थियो। करिब २० वर्ष लगाएर बनेको बीपी राजमार्ग नेपालको प्रमुख बैकल्पिक राजमार्ग समेत हो। प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक नेता विशेश्वरप्रसाद कोइराला (बीपी कोइराला) को नाममा निर्माण गरिएको यस राजमार्गले धनुषा, महोत्तरी, सिन्धुली, रामेछाप र काभ्रे जिल्लाका पहाडी क्षेत्रको विकासको ढोका समेत खुला गरेको थियो। पूर्वी नेपाल र मध्य तराईलाई छोटो दूरीमा संघीय राजधानी काठमाडौं जोड्ने मात्र हैन, बीपी राजमार्गले यस क्षेत्रको आर्थिक तथा सामाजिक गतिशीलतालाई समेत बढाउन मद्दत गरेको थियो।
तर, दुईदिनको वर्षातले निर्माण सम्पन्न भएको १० वर्ष पनि नबित्दै क्षतविक्षत बनाइदिँदा नियमित यातायात सञ्चालन सँगै यस क्षेत्रको विकास क्रम समेतपछि धकेलिएको छ।
चौथो खण्डमा सबैभन्दा बढी क्षति
सिन्धुलीको सुनकोशी र काभ्रेको रोशी खोला नदीको किनारैको भागलाई चौथो खण्ड भनिन्छ। सिन्धुलीको नेपालथोकदेखि काभ्रेको धुलिखेलसम्मको अधिकांश भाग सुनकोशी र रोशीको किनारमा पक्कीवाल निर्माण गरेर बनाइएको थियो। तर, यस खण्डमा रोशीमा आएको बाढीले सबैभन्दा बढी क्षति पुर्याएको छ। सवारी सञ्चालन अबरुद्ध मात्र भएको छैन नागरिकहरू पैदलयात्र गर्नसमेत नसक्ने अवस्था आएको छ।
सिन्धुलीको नेपालथोकदेखि काभ्रेको भकुण्डेबेंसीसम्म ३० किलोमिटर दूरी छ। त्यसमध्ये नेपालथोक–आँपटार खण्डमा एक सय मिटर, कालढुंगा र डालाबेंसी खण्डमा पाँच–पाँच सय मिटर, चिउरीवास खण्डमा तीन सय मिटर, एक नम्बर पुल परिसरमा २ सय ५० मिटर सडक बाढीले बगाएको प्रहरीले जनाएको छ।
यस्तै काभ्रेस्थित नार्केबजारमा १ सय ५० मिटर, चौकीडाँडामा १ सय मिटर, दाउन्नेमा १ सय मिटर, माम्ती खोलामा १ सय मिटर र ४ सय बेंसीमा ५० मिटर सडक रोशीको बाढीले बगाएको छ। बाढीले रोशी खोलाको पुल पनि बगाएको छ। यस खण्डमा झन्डै दुई हजार ३ सय मिटरको ट्रयाकसमेत नरहेको सडक डिभिजन कार्यालय खुर्कोटका प्रमुख पारशमणि हमालको भनाइ छ।
राजमार्गको यस खण्डअन्तर्गत नै काभ्रेतर्फको डम्फु डाँडास्थित भ्याकुरेखोला, बर्खेखोला, घ्याम्पेखोला पक्की पुल नहुँदा यातायात अबरुद्ध छ। यी खोलामाथिबाट आउने खहरे र बाढीका कारण हरेकदिन जसो राजमार्ग अबरुद्ध हुँदै आएको थियो। तर, यसपटक भने ती स्थानमासमेत राजमार्ग पूर्णरूपमा क्षति भएको स्थानीय बताउँछन्। ‘यी खोलाहरूमा पक्की पुल निर्माणका लागि राज्यले यस अघिनै ठेक्का लगाई सकेको थियो। तर, निर्माण कम्पनीको लापरबाहीका कारण वर्र्षांैंदेखि पुल निर्माण हुन सकेका थिएन। अहिले त सडक नै सखाप भयो अव पुल र सडक कहिले बन्ने हो कुनै टुंगो छैन,’ स्थानीयले गुनासो गर्दै भने।
स्थानीयका अनुसार यस क्षेत्रमा धेरैमात्रामा क्रसर उद्योगहरू सञ्चालनमा थिए। राज्यको नियामक निकायको कमजोरीका कारण मापदण्डविपरीत राष्ट्रिय राजमार्ग नै अबरुद्ध हुने गरी उद्योगहरू सञ्चालन भएका थिए। क्रसर उद्योगबाट निस्केका ढुंगा तथा माटोका कारणसमेत राजमार्गमा यसपटक धेरै क्षति हुन पुगेको स्थानीयको अनुमान छ। बाढीले यस खण्डमा मात्र करोडौंको क्षति पुर्याएको छ। नेपालथोक–धुलिखेल खण्ड अन्तरगत भकुण्डेबेंसी–धुलीखेल खण्डमा भने सोमबारबाट एकतर्फी यातायात सुचारु भएको छ। भकुण्डेबेंसीदेखि धुलिखेलसम्म अबरुद्ध पहिरोहरू पन्छाएपछि यातायातका साधनहरू एकतर्फी सञ्चालनमा आएको काभ्रे प्रहरीले जनाएको छ।
रोशीलाई तर्काएर अस्थायी ट्र्याक खन्न थालियो
सिन्धुली–२ का संघीय सांसद लेखनाथ दाहालका अनुसार चौथो खण्डअन्तर्गत नेपालथोक–भकुण्डेबेंसी खण्ड सञ्चालनका लागि रोशीलाई तर्काएर अस्थायी ट्र्याक निर्माण गर्न थालिएको छ। रोशी खोलालाई पूर्वतर्फ डाइभर्ट गरेर तत्कालका लागि अस्थायी ट्र्याक सडक बनाउन सुरु गरिएको हो।
रोशीमा आएको बाढीका कारण यस खण्डमा मात्रै करिब दुई हजार ३ सय मिटर बीपी राजमार्ग पूर्णरूपमा क्षति भएपछि तत्कालका लागि मंगलबारबाट अस्थायी ट्र्याक निर्माणको काम थालिएको दाहालको भनाइ छ। ‘राजमार्गको पहिलाको ट्र््याकको नामोनिसानानै छैन। सडकको जगदेखि नै बाढीले बगाएको छ। कतिपय स्थानमा भित्ता फोडेर ट्रयाक खन्न सक्ने सम्भावना छैन। त्यसैले रोशीकै पानी तर्काएर अस्थायी ट्र््याक निर्माण थालिएको हो,’ उनले भने।
बाढीपछि रोशी खोला आफ्नो लयमा फर्किए पनि पानीको सतह घटिसकेको छैन। खोलामा थप बाढी नआए केही दिनमै राजमार्गलाई अस्थायी रूपमा सञ्चालनमा ल्याइने सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेको भनाइ छ। यस खण्डमा मात्र सयौं गाडीहरू फसेका छन्। ती गाडीका झन्डै ६ हजार बढी यात्रुहरू बाढी र पहिरोका कारण पाँच दिनदेखि अलपत्र थिए। ‘करिब ६ सय जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ भने तत्काल राजमार्ग सुचारु हुने सम्भावना नदेखेपछि सोमबार र मंगलबार गरेर एक हजार बढी यात्रुहरू पैदल हिँडेर भकुण्डे निस्केका छन्। अझै नि हजारबढी यात्रु र सवारीसाधन अलपत्र परेका कारणर जतिसक्दो चाँडो सडक खुलाउने गरी कामलाई रफ्तारमा अघि बढाइएको छ,’ काफ्लेले भने। अबरुद्ध राजमार्ग सञ्चालन गर्न अस्थायी ट्र्याक खोल्ने काम सुरु भएपछि अलपत्र परेका यात्रु र सवारी साधनलाई गन्तव्यसम्म पुर्याउन सकिन्छ कि भन्ने आस पलाएको छ।
नेपालथोकसहित यो खण्डका ६ स्थानमा रोशीको बाढीले कालोपत्रेसहितको सडकमा पूर्ण क्षति गरेको छ। त्यसमध्ये रोशी र घ्याम्पेडाँडामा नेपाल प्रहरीको पहलमा स्काभेटर, जेसीबी तथा डोजरको प्रयोग गरेर ट्रयाक निर्माणको काम थालिएको छ। काभ्रेको चौकीडाँडामा भने झन्डै ५ सय मिटर रोशीले बगाउँदा ट्रयाक खोल्न समेत निक्कै कठिनाइ हुने बताइएको छ। रोशी गाउँपालिकाको कालढुंगा र बोक्सीकुना भन्ने ठाउँमा २ सय मिटर सडक बगेको छ। त्यस क्षेत्रमा पनि ट्र््याक निर्माणमा समस्या देखिएको छ। तर, ती स्थानमा ट्र्याक निर्माण तथा बैकल्पिक व्यवस्थाका बारेमा कुनै पहल थालिएको छैन।
काभ्रेकै थली बेंसी, र नार्के पुलनजिक दुई/दुई सय मिटरको हाराहारीमा सडक रोशी खोलामा बगेको छ। बीपी राजमार्गको दोस्रो र तेस्रो खण्ड निर्माणको जिम्मा जापानी हाज्मा÷आन्दो जेभीले गरेको भए पनि यस खण्ड नेपाली निर्माण कम्पनीले बनाएको थियो। तेस्रो खण्ड अस्थायी रूपमा सञ्चालन कोशी र मधेस प्रदेशका जिल्लाहरूलाई राजधानी काठमाडौं जोड्ने बैकल्पिक मार्गका रूपमा निर्माण गरिएको बीपी राजमार्ग विक्रम सम्वत् २०१५ सालमै जननायक विशेश्वरप्रसाद कोइराला (बीपी) ले परिकल्पना गरेका थिए।
२०१७ सालको राजनीतिक परिवर्तनपछि ओझेलमा परेको राजमार्गलाई ०४६ सालको राजनीतिक परिवर्तनपछि निर्वाचित सरकारको पहलमा ०५२ सालबाट चार खण्डमा विभाजन गरेर निर्माण थालिएको थियो।
कुल १ सय ५८ किलोमिटर लामो राजमार्गको पहिलो खण्ड महोत्तरीको बर्दिबास–सिन्धुलीमाढी ३७ किलोमिटर रहेको छ। दोस्रो खण्ड सिन्धुलीमाढी–खुर्कोट ३९ किलोमिटर छ भने खुर्कोट–नेपालथोक तेस्रो खण्डअन्तर्गत ३७ किलोमिटर रहेको छ। नेपालथोक–धुलिखेल चौथोखण्ड हो। चौथो खण्डअन्र्तगत ४५ किलोमिटर दूरी रहेको छ।
पहिलो खण्ड महोत्तरी र सिन्धुली जिल्लाअन्तर्गत रहेको ३७ किलोमिटरमा सामान्य मात्र क्षति छ। यहाँ निर्वाध यातायात सञ्चालनमा छन्। दोस्रो खण्ड सिन्धुली–खुर्कोट खण्डको ३७ किलोमिटरमा समेत यातायातका साधन संचालन भइरहेको छ।
तर, तेस्रो खण्डको रूपमा रहेको खुर्कोट–नेपालथोक ३७ किलोमिटरअन्तर्गत सुनकोशी गाउँपालिका ७ कानढुङ्ग्री, दुम्जा, कमेरेफाँट र टुपीडाँडामा बाढीपहिरोले क्षति पुर्याएको छ। सडक डिभिजन कार्यालय खुर्कोटका प्रमुख पारशमणि हमालका अनुसार कानढुङ्ग्रीमा सडक धसीदा करिब १ सय मिटर सडक अबरुद्ध छ। यी स्थानहरूमा सडक विभाग, स्थानीय सकार, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको मदतमा बैकल्पिक व्यवस्था गरिएपछि सोमबारबाट अस्थायी रूपमा सञ्चालनमा आएको छ।
यसअघि ०७२ को भूकम्पले खुर्कोट–नेपालथोक खण्डअन्तर्गत शीतलपाटीमा ३० मिटर बढी राजमार्गको पिचनै खसेर सुनकोसी नदीमा पुगेको थियो। झन्डै ६ महिना सडक अबरुद्ध भएको थियो। यस खण्डलाई समेत स्थायी रूपमा निर्माण गर्न समय लाग्ने बताइएको छ।
१० वर्षमै क्षति
मुलुककै पर्यटकीय र सुन्दर राजमार्गमा निर्माण सम्पन्न भएको दश वर्ष नबित्दै ठूलो क्षति भएको छ। ०७२ सालको भूकम्पले पुर्याएको क्षतिलाई पुनर्निर्माण गरिएको आठ वर्षमै बाढीले क्षति गराएको छ। जापानले सन् १९९६ मा निर्माण सुरु गरेर २०१५ मार्च अर्थात् २०७२ साल असार १८ गते शुक्रबार काभ्रेको धुलिखेलमा आयोजित एक भव्य कार्यक्रमका बीच यस राजमार्गको उद्घाटन गरिएको थियो। बीपी कोइरालाको नामबाट निर्माण थालिएको राजमार्ग तत्कालीन नेपाली कांग्रेसका सभापति तथा तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले ०७२ साल असार १८ गते धुलिखेलमा उद्घाटन गरेका थिए।
राजमार्ग निर्माणले धनुषा, महोत्तरी, सिन्धुली, रामेछाप र काभ्रे जिल्लाका पहाडी क्षेत्रको विकास सँगै यी जिल्लाका ग्रामीण क्षेत्रलाई समेत राजधानी काठमाडौंसँग सहज जोड्दै आएको थियो।
सडक विभागका सम्भार महाशाखा प्रमुख तथा उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालका अनुसार रोशीले बगाएको करिव दुई किलोमिटर क्षेत्रमा सडक निर्माणका लागि नयाँ ट्र्याक नै निर्माण गर्नुपर्ने अवस्था छ। ‘स्थायी रूपमा दसैंँअघि बिपी राजमार्ग सञ्चालन सम्भव नभए पनि अस्थायी रूपमा सञ्चालन गर्ने गरी आवश्यक काम भइरहेको छ,’ उनले भने, ‘मौसमले साथ दिएको खण्डमा एक÷दुईदिन भित्रनै अस्थायी ट्रयाक खोल्न सकिने आशा राखेका छौं।’
तर बाढीले ठूलो क्षति पुर्याएपछि दसंैअघि नै राजमार्ग सञ्चालनमा आउने हो कि हैन ? दसैंमा घर जान खोज्नेमा पनि चिन्ता थपिएको छ। राजमार्ग क्षतिको एकिन विवरण संकलन गर्न नसकिए पनि रोशी–नेपालथोक खण्डमा दुई हजार ५० मिटर सडकको नयाँ ट्र्याक नै खोल्नुपर्ने अवस्था आएकोले करोडौंको क्षति भएको अनुमान छ। सडकको पुनस्र्थापना गर्नुपर्ने स्थानहरूमा थप बजेट व्यवस्थापन गरी खरिद प्रक्रियाबाट तत्काल पुनर्निर्माणको अघि बढ्ने छ। यसका लागि के कति बजेट आवश्यक पर्छ भनेर स्थलगतरुपमा प्राविधिक अनुगमन तथा मूंल्याकनपछि मात्र भन्न सकिने उनको भनाइ छ।
यसअघि भूकम्पले क्षति गरेको सडकलाई यसपटक रोशीमा अनपेक्षित बाढी आउँदा धेरै ठूलो क्षति भएको सडक विभागको भनाइ छ।
यस साजमार्ग निर्माणका क्रममा जापानले यहाँको भौगोलिक विकटतालाई मध्यनजर गर्दै नेपालमै पहिलोपटक ‘सटक्रिट’ र ‘जियोटेक’ प्रविधि अपनाइएको थियो। पहिरोलाई नियन्त्रण गर्न सटक्रिट (सिमेन्ट छ्याप्ने कार्य) र पहिरो तथा थलथल भएको जमिनमा सडक निर्माण गर्न जियोटेक प्रविधिको प्रयोग गरिएको थियो।
बीपी राजमार्ग निर्माणले सिन्धुलीको भित्रीमधेस, महाभारत, सुनकोशीगढतिर तथा रामेछाप र काभ्रेका नागरीकहरूलाई राजधानी काठमाण्डौं आवतजावत गर्नमात्र हैन अहिले पूर्वी नेपालको काँकडभिट्टादेखि झापा, मोरङ, धरान, धनकुटा तथा मध्ये तराईदेखि ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, उदयपुर, हुँदै रामेछाप मन्थलीदेखि राजधानीसम्मका लागि दैनिक यातायात सञ्चालन हुने गरेका थिए।
राजमार्गको निर्माणसँगै जिल्लाको मूलकोट, खुर्कोट, काभ्रेको धुलिखेल, भकुण्डेबेंसी लगायतका क्षेत्रमा अरबौंको लगानीमा ठूला होटल तथा रेष्टुरेन्टहरू निर्माण भएका थिए। ती होटल तथा सुन्दर दृश्यका कारण तराई र काठमाडौं आउने जाने पर्यटकहरूको रोजाइमा बीपी राजमार्ग पर्ने गरेको थियो।
नागबेली आकारमा निर्माण भएको राजमार्गले दैनिक यात्रा गर्नेहरूका लागि थप मोहित पार्ने गरेको थियो। तर, सडक भत्केसँगै स्थानीयमा चिन्ता थपिएको छ।