श्रीमान्‌ले चाहे पढ्न सक्छिन् श्रीमती

श्रीमान्‌ले चाहे पढ्न सक्छिन् श्रीमती
सांकेतिक तस्बिर

साँच्चै नै ‘यु क्यान डू इट’ भन्दिने श्रीमान्को साथ पाए धेरै महिला पढ्न र अगाडि बढ्न सक्छन्।

सबैभन्दा माथि मेरै जीवनसाथी। सानै उमेरमा बिहे भयो। पढाइ, लेखाइ गर्न सकिनँ। सपना देख्नै जानिनँ। बिहेको केही समयपछि सन्तानको आमा बनें। तर आफू हुर्किन भने बाँकी थियो। समयसँगै संसारमा छोराछोरी, घरपरिवार र सामान्य घरायसी दिनचर्या मात्र होला भन्ने लाग्दै गयो। आफू पढ्न नपाएको भोकले हुनुपर्छ सायद छोरीलाई खूब मेहेनेत गरेर पढ्न सिकाएँ।

साथीभाइ, इष्टमित्र, आफन्त र चिनेजानेका सबैसँग दुरी आफैं कोरिए। सामान्य मात्र पढेलेखेको मान्छे मलाई लाग्थ्यो, मलाई बोल्न पनि आउँदैन। सोच्दासोच्दै म त धेरै नै कम बोल्ने पो भएछु। सकभर टाउको हल्लाएर सबै प्रश्नको उत्तर दिने बानी परेछ। केटाकेटीको स्कुल र घरको बाटो अनि घरधन्दाको पाटो चिन्ने बुझ्ने बनेछु। मेरो संसार यसैमा मात्र अडिएको थियो। त्यसैले न कहिले सपना देखे यी आँखाले न घरबाहिर पनि संसार हुन्छ, पढ्नुपर्छ अघि बढ्नुपर्छ भन्ने सोचें। त्यसैले कहिल्यै मेरो चाहना नै बनेन।

पुरुषको सफलतामा महिलाको हात हुन्छ भन्ने सुनेकी मैले सोही अनुरुप कर्तव्य निभाउँदै गएँ। तर मेरो जीवनमा ठ्याक्कै त्यसको उल्टो भो। समय अलि अघिको हो। त्यो दिन अन्य दिनभन्दा अलि छिटो घर आउनु भयो श्रीमान्। राजनीति गर्ने मान्छे छिट्टै घर आएको देख्दा मलाई पनि अचम्म लाग्यो। अनि ‘आज घाम कहाँबाट उदाएको ?’ भन्ने प्रश्न अगाडि राखिदिएँ। हरेक कुराको उत्तर हाँसेर दिने उहाँ त्यो दिन पनि हाँसेरै पूर्वबाटै हो भन्नुभयो। तर हाँसोमा केही कमी वा भनुम् खल्लोपन थियो। यसरी प्रतिउत्तर प्राप्त गरें। मैले केही विचार नै नगरी के भयो ? आज किन उदास ? भनेर सोधें।

फेरि प्रतिप्रश्न गरें। जवाफमा आयो, ‘मेरो सानो सपना पूरा गर्न सक्छौ भने म आज तिमीलाई मेरो सपनाका बारेमा भन्छु।’ म एकछिन अलमल्लमा परें। तैपनि हुन्छ, के हो ? पहिला सुनम् न भनें। सँगै सोफामा बसेका थियौं। आफ्नो विपरीतको सोफाको भित्तामा तिमीले ‘कन्भोकेसन’ गरेको फोटो आफ्नै हातले सजाउन मन छ भन्नुभयो। म अचम्ममा परें। आजभन्दा अगाडि कहिले हाम्रो यस विषयमा छलफल भएको यादै छैन। त्यो रात त्यसै बित्यो तर बाँकी २/३ रात उहाँको रहरले सुत्न सक्ने अवस्था रहेन।

चौथो दिन हजुरको कुरा के हो स्पष्ट रूपमा भन्नु प¥यो भनें। छोराछोरी सानै भएकाले तिमी पढेको हेर्ने इच्छा जाहेर गर्न सकेको थिइनँ तर अब उनीहरू पनि स्कूल जाने भैसके अब पालो तिम्रो पढ्ने हो। त्यसैले मेरो सपना सुनाको। बाँकी पूरा गर्ने कि के गर्ने भन्ने चाहिँ तिमी नै विचार गर। यस्तो प्रस्ताव आयो र प्रस्तावसँगै त्यो फोटो हेर्दै मुस्कुराउने मेरो रहर तिम्रो हातमा छ तिमीले चाहे छिट्टै पूरा हुन्छ भनेपछि सोच्न बाध्य भएँ।

कसैको बोली बन्दुककै गोली। सारा कुरा सुनेर गहिरो सोचमा परें। सपनामा पनि नसोचेको कुरा अब पढाई छोडेको यतिका समयपछि कसरी सुरु गर्छु होला भनेर ! तर मेरा लागि पूरै जिन्दगी दिएको मान्छे उसका लागि जाबो एउटा सपना कसो पूरा नगरौंला त भन्ने भित्रैबाट आवाज आयो। त्यो एक शब्दले आज मेरो जिन्दगी नै परिवर्तन गरिदिएको छ। त्यसपछिका केही दिनमा नै केटाकेटी स्कूल पठाएर क्याम्पसमा भर्ना गर्नतिर लागें। २/४ जना साथीभाइ र आफन्तलाई सोध्दा आरआर कलेज भने। सल्लाह पाएँ तर त्यही कलेज गएको म अर्को गाडी परेछ। त्यसैले कलेज पनि फेरियो।

तर थाहा छैन अझै कुन कलेज हो। त्यसपछि मेरो यात्रा अध्ययनको सुरु भयो। खुब मन लगाएर त्यो सपना पूरा गर्नुपर्छ सरला पढ्नुपर्छ भन्दै पढें। समय न हो कसलाई पर्खिने ? हेर्दा हेर्दै मेरो अध्ययन पनि पूरा भयो। त्यो पनि राम्रो अंकमा पास गरेर। अहिले त्यो सपनाको कोटमा उहाँको सपना हेर्ने सपना पूरा भएको छ। जुन मेरो सपना कहिले थिएन तर बन्यो सायद सौभाग्यले। तिमी कलेज जाऊ, म खाना बनाउँछु। तिमी पढ, म बच्चा समाल्छु। तिमी अघि बढ, म यो किन्दिन्छु। तिमी त सेरनी हो, तिमीले गर्न नसक्ने के छ र ? तिमी यो अनि तिमी त्यो भन्दै आफ्नो सपना पूरा गर्न लगाउने मेरो श्रीमान्।

श्रीमान् जसले गर्दा नै आमालाई नयाँ साडी किन्ने र बाबाको ऋण तिर्न सक्ने भएँ। समयसँगै समाज परिवर्तन हुँदैछ, विवाह र केटाकेटी पछिको जिन्दगीपछि पनि बाँकी जिन्दगी, काम, कर्तव्य र जिम्मेवारी पूरा गर्न सकिने रहेछ यदि श्रीमान्ले चाहेमा...। यो पुष्टि मबाटै भयो। पढ्न र अगाडि बढ्न न उमेर, न समय न त अन्य कुराले छेक्ने रहेछ। मेरो उदाहरण दिँदै मेरा साथीभाइ र आफन्त जो मेरो जस्तै जिन्दगीमा अल्झिनु भएको छ भने अब अघि बढ्न सल्लाह दिन्छु। श्रीमान्को यस कुरामा गर्व लागेर आउँछ, तपाईं पनि श्रीमती वा अरू कसैका लागि गर्व बन्नुहोस्। साँच्चै नै ‘यु क्यान डू इट’ भन्दिने श्रीमान्को साथ पाए धेरै महिला पढ्न र अगाडि बढ्न सक्छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.