दसैंमा हवाई चाप, रातभर जहाज उड्ने

दसैंमा हवाई चाप, रातभर जहाज उड्ने

अबिरल बर्षाले सडक मार्ग अवरुद्ध हुँदा थप २५ प्रतिशतले आन्तरिक उडानमा यात्रुको चाप बढेको छ ।

काठमाडौं : बडा दसैं नजिकिएसँगै आन्तरिक हवाई उडानको चाप बढेको छ। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा रातिको २ बजेसम्म पनि आन्तरिक विमानहरू अवतरण भइरहेका छन्। इतिहासमा पहिलो पटक आन्तरिक उडान रातको अबेरसम्म पनि सञ्चालन भएका हुन्।

यति हुँदा पनि एयर ट्राफिकका कारण उडान निर्धारित तालिकामा हुन भने सकिरहेका छैनन्। साधारणतया दसैंपूर्व आन्तरिक उडानको चाप करिब ३० देखि ३५ प्रतिशतले बढ्ने गरेको छ। तर, यसपालि भने असोज १० गते रातिदेखि असोज १२ गतेसम्म आएको अविरल वर्षा र त्यसपछिको बाढी–पहिरोले सडक मार्ग अवरुद्ध हुँदा गन्तव्यसम्म पुग्न हवाई चाप बढेको सरोकारवालाहरू बताउँछन्। दसैंको मुखमा सडक मार्ग अवरुद्ध हुँदा थप २५ प्रतिशतले आन्तरिक उडानमा यात्रुको चाप बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूल बताउँछन्।

बडादसैं मनाउन उपत्यका छोड्ने एकमात्र हवाईस्थल भनेको टीआईए हो। यहाँबाट विभिन्न आठ विमान कम्पनीहरूले नियमित उडान गर्दै आएका छन्। बुद्ध, यती, सौर्य, समिट, तारा, नेपाल एयरलाइन्स, श्री र सीता एयरले ट्रंक रुट (तराईका जिल्लामा हुने उडान) र स्टल रुट (पहाडी तथा हिमाली जिल्लामा हुने उडान) गर्दै आएका छन्। यी निजी वायुसेवा कम्पनीहरूले अन्य समयमा दैनिक करिब ३ सय उडान भर्ने गरेकोमा दसैंको समयमा भने दैनिक करिब ४ सय ५० उडान (आउने र जाने) हुने गरेको प्राधिकरणका सूचना अधिकारी भूलले जानकारी दिए।

‘सेप्टेम्बर र अक्टुबर फेस्टिबल सिजनमा सामान्य अवस्थामा पनि अघिपछिको भन्दा कम्तीमा ३०–३५ प्रतिशतले चाप बढ्ने गरेको हो। बाढी र पहिरोपछि बाटोहरू अवरुद्ध हुँदा त्यसको असर हवाई यातायातमा परेको छ। पहिला आन्तरिक र बाह्य गरी करिब चार सय उडान हुने गरेकोमा हाल साढे ५ सयभन्दा बढी उडान हुने गरेको छ,’ भूल बताउँछन्। टीआईएमा दिनको १ सय ५० संख्याले उडान अवतरण बढ्दा अन्य ट्रंक रुटका विमानस्थलमा पनि चाप बढेको नै छ। पहिलाका यात्रु चाप नभएर फुलाइट मर्ज हुने र रद्द हुने गरेकोमा अहिले सबै उडान पूर्ण क्षमतामा भएका छन्। काठमाडौंबाट बाहिर जाँदा ९० प्रतिशतभन्दा बढी भने आउँदा पनि पर्यटक सिजन भएकोले करिब ७० प्रतिशत क्षमतामा जहाज उडिरहेका छन्। 

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार टीआईएमा बढेको चापलाई व्यवस्थापन गर्न रातको २ बजेसम्म पनि जहाज अवतरण गर्न थालिएको छ। दसैं नजिकिएकोले पनि स्वाभाविक रूपमा विमानस्थलमा यात्रुको चाप बढ्ने गरेकोमा अहिले सडक अवरुद्धका कारण केही थपिएको उनी बताउँछन्। विमान रद्द भएर गन्तव्य फर्किन नसकेका यात्रुको चाप र दैनिक नियमित हुने यात्रुको चापका कारण विमानस्थलमा घुइँचो देखिएको निरौलाले बताए। फेरि काठमाडौं विमानस्थलमा एउटा मात्र धावनमार्ग भएकोले सबै उडान र अवतरण एकै ठाउँबाट गर्नुपर्ने हुँदा एयर ट्राफिक बढ्ने र उडान समयमा नै हुन नसकिरहेको उनको भनाइ छ।

पर्यटकीय सिजन भएकोले स्टल रुटको पनि लुक्ला जाने उडान र पर्यटकको व्यवस्थापनका लागि प्राधिकरणले नयाँ रुट सुरु गरेको बताएको छ। अहिलेको ट्राफिकलाई मध्यनजर गरेर काठमाडौंबाट ठूलो जहाजमा जनकपुर पुर्‍याउने र जनकपुरबाट लुक्ला उडाउन सुरु गरिएको प्राधिकरण बताउछ। त्यसले गर्दा हिमाल चढ्न काठमाडौंबाट लुक्ला जाने यात्रुको चाप काठमाडौंबाट केही घटेको छ। बिहान र दिउँसो माउन्टेन फ्लाइट र लुक्ला फ्लाइटले गर्दा मिलाउने सक्ने अवस्था नभएकोले विमान कम्पनीहरूलाई राति उडान हुने स्थानहरूमा फ्लाइट थप्न भनिएको छ। सोहीअनुसार यती र बुद्धले उडान संख्या थपेका प्राधिकरणका सूचना अधिकारी भूलले जानकारी दिए। 

काठमाडौं विमानस्थलबाट विशेषगरी ट्रंक रुटमा उडान बढी हुने गरेको छ। राजविराज र भरतपुरबाहेक अन्य ट्रंक रुटका विमानस्थलहरूमा रात्रिकालीन उडान अवतरण हुन्छ। ती सेक्टरमा दिउँसो नभ्याउँदा राति पनि उडान हुने व्यवस्था मिलाइएको टीआईएका महाप्रबन्धक निरौला बताउँछन्। जुन विमानस्थलमा सूर्यास्तसम्म मात्र चल्छ ती विमानस्थलमा निर्धारित समयमा उडान सञ्चालनका लागि भनिएको उनी बताउँछन्। विमान कम्पनीहरूले उडान संख्या थपेर पनि यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउने काम गरिरहेका छन्। 

वर्षाले तीन दिन रोकिएका यात्रु, सडक अवरुद्ध भएर बढेका यात्रु र दसैंका लागि घर जाने यात्रु गरी अहिले चाप बढेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्ण बताउँछन्। दैनिक उडान १ सय ७० भन्दा बढी भइरहेको र ९० प्रतिशतभन्दा बढी क्षमतामा उडान भइरहेको कर्ण सुनाउँछन्। चाडपर्व लागेसँगै यात्रुको चाप बढेको उनको भनाइ हो। घटस्थापनाभन्दा पछिका लागि पनि ९० प्रतिशत बुकिङ भइसकेको उनले जानकारी दिए। यात्रु चापलाई हेरेर उडान संख्या थप्ने सोचमा कम्पनी रहेको छ। कम्पनीसँग ७२ र ४२ सिटे गरी करिब १८ एटीआर विमान छन्।

कम्पनीले कुल १४ गन्तव्यमा उडान गर्दै आएकोमा बढी ट्रंक रुट केन्द्रित उडान गर्दै आइरहेको छ। अघिल्ला दसैंभन्दा टिकट बुकिङ उछाल आएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला बताउँछन्। सडक अवरुद्ध हुँदा सबै सेक्टरमा चाप बढेको छ। सडक अवरुद्ध हुनुअघि करिब ६०–६५ प्रतिशतको बुकिङ रहेकोमा अहिले ह्वात्तै बढेको उनी सुनाउँछन्। दैनिक उडान संख्या ७६ सम्म पुर्‍याएको यतीले थप उडान बढाउन विमानस्थलको चापको कारणले सम्भव नभएको बताउँछ। कम्पनीले करिब ८ गन्तव्यमा उडान भर्दै आइरहेको छ। 

स्टल रुटमा भने लुक्लाबाहेक अन्य सेक्टरमा प्रायः उस्तै छ। स्टल रुटमा नै केन्द्रित रहेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले १६ गन्तव्यमा उडान भरिरहेको छ। तर, हाल सञ्चालनमा एउटा मात्र टिनेटर भएकोले दैनिक करिब ४ उडान हुने गरेको निगम बताउँछ। निजी कम्पनीहरूलाई भ्याइँनभ्याइ भएको बेलामा १९ सिटे एउटा जहाज भएको निगमलाई भने खासै चटारो छैन। प्रतिस्पर्धा गर्नालाई चापअनुसारको उडान भर्न जहाज संख्या हुनुपर्ने निगम स्रोतको भनाइ छ।

यता, स्टल रुटमा नै उडान गर्ने सीता एयरका महाप्रबन्धक घनश्याम आचार्य पनि दसैंका लागि चाप नबढेको सुनाउँछन्। पोखरा, जोमसोम, जुम्ला, सिमिकोट, लुक्ला, तुम्लिङटारलगायतका ११ गन्तव्यमा उडान भर्ने गर्छ। उच्च पहाडी तथा हिमाली भेग भएकोले सडकभन्दा पनि हवाई यात्रा नै हुने गरेकोले यस सेक्टरमा सधैं नै एकै किसिमको चाप हुने उनको भनाइ हो। पर्यटक सिजन भएकोले लुक्लामा चाप केही बढेको उनी बताउँछन्।

यता, समिट एयरका महानिर्देशक एवं निजी वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्की पनि लुक्लाबाहेक अन्य उस्तै चाप रहेको बताउँछन्। तर, रामेछापबाट लुक्ला उडान गर्नका लागि सडकमार्ग अवरुद्ध हुँदा गाह्रो भएको उनको भनाइ छ। काठमाडौंबाट धेरै उडान गर्न ट्राफिक बढी भएकोले सम्भव नभएको उनी बताउँछन्। यसले पर्यटन उद्योगलाई असर गर्ने देखिएको उनको भनाइ छ। प्राधिकरणले जनकपुरबाट लुक्ला उडान सुरु त गराएको छ तर, त्यसमा पर्यटकहरूको कत्तिको आकर्षित हुने भने थाहा नभएको उनले सुनाए।

हवाई यातायातमा चाप बढेपछि कम्पनीहरूले अधिकतम मूल्य लिएको भन्दै जनगुनासो बढेको छ। सरकारले राष्ट्रिय विपत् घोषणा गरेको अवस्था र सडक राजमार्गहरू अवरुद्ध भएको अवस्थामा निजी वायुसेवा कम्पनीहरूले भाडा सस्तो गर्नुपर्ने तर्क यात्रुहरूको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.