१३ करोड लागतमा र्याफ्टिङ स्कुल निर्माण
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बलेफीमा १३ करोड रुपैयाँ लागतमा एसियाकै पहिलो र्याफ्टिङ स्कुल निर्माण गरिएको छ। बलेफी गाउँपालिका वडा नं. ५ स्थित बलेफी खोलामा बन्दै गरेको स्कुलको ९८ प्रतिशत काम पूरा भएको सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले बताए।
निर्माण पक्षका अनुसार यो र्याफ्टिङ स्कुल खेलमैदानका लागि छुट्याइएको जग्गामा निर्माण गरिएको हो। पर्यटन विभागको आर्थिक सहयोगमा निर्माण गरिएको सो स्कूलको उद्घाटन फागुन महिनाभित्र गरिने श्रेष्ठले जनाए।
स्कूलबाट र्याफ्टिङ तालिम, सुरक्षासम्बन्धी प्रशिक्षण, व्यावसायिक गाइड उत्पादन, आपतकालीन उद्दार प्रशिक्षण र जल खेलकुद तालिमहरू सञ्चालन गरिने जनाइएको छ। त्यस्तै सुरक्षासम्बन्धी लाइफ ज्याकेट, हेल्मेट र अन्य सुरक्षा उपकरणहरूको सही प्रयोग, डुङ्गा पल्टिएमा वा बगेमा के गर्ने भन्ने बारे प्रशिक्षण दिइने छ। नदीको बहाव, जोखिमयुक्त क्षेत्रहरू तथा उद्दार रणनीतिहरूको जानकारीसहित व्यावसायिक र्याफ्टिङ गाइड तयार पार्ने गरी कक्षा सञ्चालन हुने जनाइएको छ।
‘नेपालमा साहसिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित यो स्कूल स्थापना गर्ने जमर्को गरेका हौं’, श्रेष्ठले भने, ‘बेसिक र एड्भान्स र्याफ्टिङ तालिम, व्यावसायिक गाइड तालिम, नदी दुर्घटना भएमा उद्दार गर्ने तालिम, बाढी तथा नदीजन्य आपत्कालीन अवस्थाहरूमा सहायता गर्न सक्ने जनशक्ति उत्पादन तथा कायाकिङ, क्यानोइङ, हाइड्रोस्पीडिङजस्ता खेलकुदको प्रशिक्षण यो स्कूलले प्रदान गर्छ।’
साहसिक पर्यटनको प्रवद्र्धन, व्यावसायिक गाइड उत्पादन तथा जल खेलकुद प्रशिक्षण दिने उद्देश्यले स्थापना गरिएको यो स्कुल एसियाकै पहिलो पूर्ण रूपमा र्याफ्टिङ तथा जल खेलकुद प्रशिक्षण केन्द्र बन्ने पर्यटन व्यवसायीहरू बताउँछन्। ‘यहाँका हिमालबाट बग्ने नदीहरू साहसिक पर्यटनका लागि महत्त्वपूर्ण गन्तव्य बन्नसक्छन्’, र्याफ्टिङ एसोसिएसन नेपालका पूर्व महासचिव समेत रहेका श्रेष्ठले भने, ‘त्रिशूली, भोटेकोशी, सुनकोशी, कर्णाली लगायतका स्थानमा वार्षिकरूपमा हजारौं पर्यटक र्याफ्टिङ गर्न आउँछन् तर, नेपालमा व्यावसायिक रूपमा र्याफ्टिङ गाइड उत्पादन गर्ने कुनै आधिकारिक स्कुल थिएन। त्यसको अभाव पूर्ति यो स्कुलले गर्नेछ।’
सन् २०१८ मा बलेफी खोलामा ह्वाइट वाटर च्यालेन्ज आयोजना गरिएको थियो, जसले यो क्षेत्रलाई साहसिक पर्यटन गन्तव्यका रूपमा स्थापित गरेको सिन्धु पर्यटन व्यवसायी संघको भनाइ छ। ‘यसले नेपाल र अन्तर्राष्ट्रिय स्तरमा काम गर्न सक्ने पेशागत गाइडहरू उत्पादन गर्नुका साथै र्याफटिङ गाइडका लागि आवश्यक प्रमाणपत्र तथा अन्य आवश्यक कागजात प्रदान गर्ने छ’, श्रेष्ठले भने।
प्रतिक्रिया दिनुहोस !