३ महिनाअगावै बर्दिया र कैलाली जोड्ने सनकट्टी पुल तयार

३ महिनाअगावै बर्दिया र कैलाली जोड्ने सनकट्टी पुल तयार

टीकापुर : सुदूरपश्चिम प्रदेशको कैलाली टीकापुर र लुम्बिनी प्रदेशको बर्दिया गेरुवा गाउँपालिकालाई जोड्ने कर्णाली नदीको सनकट्टी घाटमा निर्माण समय अगावै पक्की पुल निर्माण सम्पन्न भएको छ।

पुलहरू निर्माणमा ख्याति कमाएको रसुवा कन्स्ट्रक्सन प्रालि काठमाडौंले २०७९ पुस १७ गते ठेक्का सम्झौता गरी २०८१ वैशाख २ गतेबाट निर्माण सुरु गरेको पुल निर्माण सम्पन्न भएको हो। कम्पनीले ४५ महिनाभित्र निर्माण गर्ने गरी गरेको सम्झौतामा २०८३ असोज १६ गतेसम्म निर्माण अवधि तोकिएको थियो।

पुल सेक्टर कार्यालय नेपालगञ्जका इन्जिनियर रामकिसन थारुका अनुसार १ अर्ब १८ करोड रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको हो। कर्णाली नदीमा सुर्खेतभन्दा तल निर्माण भएको यो पाँचौं पुल हो। यसअघि सत्तीघाटमा समेत निर्माण कम्पनीले समयअगावै पुल निर्माण सम्पन्न गरेको थियो।

इन्जिनियर थारुका अनुसार ७ शय ५० मिटर लम्बाइ रहेको पुलमा १४ वटा पिल्लर र साढे ७ मिटर चौडाइ रहेको छ। पुलको दुवैतर्फ यात्रुका लागि फुटपाथ र पुलसम्म जोड्ने ५ सय मिटर सडक कालोपत्रे निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ। ‘पुलको अधिकांश काम सम्पन्न भइसकेको छ’ इन्जिनियर थारुले भने ‘रोड मार्किङ, ब्यारियर निर्माणको काम भइरहेको छ भने सडक कालोपत्रे एक साताभित्रै सम्पन्न भइसक्छ।’

कम्पनीलाई पुल सेक्टर कार्यालयले ठूलो रकम भुक्तानी गर्न बाँकी रहँदासमेत निर्माण कम्पनीले समय अगावै निर्माण सम्पन्न गरेको हो। इन्जिनियर चौधरीले कार्यालयले कम्पनीलाई झन्डै साढे १४ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ। ‘हामीले भुक्तानीका लागि सिफारिस गरिसकेका छौं, तर भुक्तानी हुन सकेको छैन’ इन्जिनियर चौधरीले भने ‘कार्यालयमा बजेट अभाव हुँदा भुक्तानी नभएको हो, तर पनि कम्पनीले समय अगावै निर्माण सम्पन्न गरेको छ।’
कम्पनीले कर्णाली नदीलाई दुई चरणमा डाइभर्सन गरेर निर्माण गरेको थियो। निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनका साइट इन्चार्ज कृष्ण ढुंगेलले वर्षायाम अगावै निर्माण सम्पन्न गर्न रातदिन काम गरिएको बताए। ‘वर्षा अगावै निर्माण सम्पन्न गर्न रात दिन काम गरेर समय अगावै निर्माण सकेका हौं’ ढुंगेलले भने ‘यो साताभित्रै निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिरहेका छौं।’

पुल निर्माण सुरु भएदेखि नै सरकारले निर्माण कम्पनीलाई समयमै भुक्तानी दिन नसकेको बताउँदै ढुंगेलले अझै १४ करोड बढी रकम भुक्तानी लिन बाँकी रहेको दाबी गरे। ‘पुल निर्माण सम्पन्न भइसकेको छ, फिनिसिङको काम भइरहेको छ, तर पनि सरकारले भुक्तानी दिन सकेको छैन’ ढुंगेलले भने ‘भुक्तानीका लागि पहल गरिरहेका छौं।’

कैलालीको पूर्वी क्षेत्र टीकापुरबाट बर्दियाको गेरुवा गाउँपालिका जानका लागि सनकट्टी घाटमा पुल नहुँदा स्थानीयहरू जोखिमपूर्ण डुंगामा वारपार गर्न बाध्य थिए। पुल निर्माण सम्पन्न भएपछि डुंगाको जोखिमपूर्ण यात्रा गर्ने बाध्यता हटेको स्थानीय टेकेन्द्र धामीले बताए।

‘बर्दियाको पश्चिमी क्षेत्रका लागि मुख्य बजारका रूपमा रहेको टीकापुर क्षेत्रमा दैनिक आउजाउ गर्न र व्यापार व्यवसाय गर्न सन्कट्टीको पुल लाइफलाइन नै हो’ धामीले भने ‘या त जोखिमपूर्ण डुंगाको यात्रा गर्नुपर्दथ्यो भने या चिसापानीस्थित कर्णालीको पुल र हुलाकी राजमार्गको सत्ती घाटको पुल जानुपर्ने बाध्यता थियो, त्यो हटेको छ।’

पुल निर्माण सम्पन्न भएपछि टीकापुर क्षेत्रमा व्यावसायिक गतिविधिहरू बढ्ने स्थानीयहरू बताउँछन्। टीकापुर उद्योग वाणिज्य संघका सल्लाहकार एवं स्थानीय व्यवसायी पृथ्वीराज ढुंगानाले सन्कट्टी घाटको पुलले टीकापुर र बर्दियाको व्यावसायिक गतिविधिमा वृद्धि हुने बताए।

‘व्यावसायिक रूपमा विकास हुँदै गएको टीकापुरसँगको आर्थिक गतिविधि र लुम्बिनी प्रदेशका बासिन्दालाई सुदूरपश्चिम प्रदेशसँग छोटो दूरीमा जोड्ने यो पुलले यहाँको आर्थिक विकासमा मद्दत पुग्नेछ’ ढुंगानाले भने ‘बर्दियाको पश्चिमी क्षेत्रका बासिन्दाहरू अध्ययन गर्न, उपचार गर्न र तथा किनमेलका लागि समेत टीकापुर आउने गर्दछन्, यो पुलले दुवै ठाउँको आर्थिक गतिविधिमा वृद्धि हुनेछ।’

सनकट्टीमा पक्की पुल नहुँदा दैनिक २ हजार बढी मानिस जोखिमपूर्ण डुंगाको सहायताले आवतजावत गर्ने गरेका थिए। वर्षायाममा डुंगा समेत नचल्दा स्थानीयहरू सत्तीस्थित पुलको लामो बाटो भएर आउजाउ गर्ने गर्छन्। ११ वर्ष पहिले सनकट्टीमा डुंगा दुर्घटना हुँदा स्थानीय छ जनाले ज्यान गुमाएका थिए। टीकापुरका कतिपय मानिसहरूका खेतबारी बर्दियामा छन्। कतिपय व्यापारीहरू टीकापुरबाट बर्दिया र बर्दियाबाट टीकापुरसम्म व्यवसाय सञ्चालन गर्दै आइरहेका छन्।

स्थानीयका अनुसार पुल निर्माणपछि पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज र टीकापुर पार्क आउजाउमा सहजता हुनेछ। जसले गर्दा कृषि र पर्यटन विकासमा समेत टेवा पुग्नेछ। पूर्वतिर गेरुवा नदी, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र (बफर जोन) र पश्चिममा कर्णाली नदीका कारण गेरुवा गाउँपालिकाका बासिन्दा कष्टकर जीवन बिताउन बाध्य थिए।

यो पुल निर्माण भएसँगै कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा तीन वटा पुल हुनेछन्। २०५० सालमा सुदूरपश्चिमको प्रवेशद्वारका रूपमा कर्णाली चिसापानीमा निर्माण भएको पुल र २०७३ सालमा टीकापुर र राजापुरलाई जोड्ने सत्ती घाटमा पुल बनेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.