कृत्रिम अभाव र मूल्यवृद्धि हुन दिँदैनौं : उद्योगमन्त्री भण्डारी
काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताएका छन्।
बिहीबार काठमाडौंमा हिमालयन इन्टरनेसनल एक्सपो उद्घाटन गर्दै मन्त्री भण्डारीले बजारमा मूल्यवृद्धि गर्ने चेष्टा भएपनि सरकार सक्रियतापूर्वक कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन लागिपरेको बताए।
चाडपर्वलाई लक्षित गरेर मन्त्रालयले सुपथ मूल्यका पसलहरू देशव्यापीरूपमा सञ्चालन गरिरहेको र प्रभावकारी देखिएको उनले बताए। उनले चाडपर्वका बेला जनतालाई राहत दिन अत्यावश्यक खाद्य वस्तु लगाएत पेट्रोलियम पदार्थमा मूल्य घटाएको जिकिर गरे। चिनीको अभाव हुन नदिन सरकारले गरेको प्रयासकै कारण सुपथ मूल्यमा सहजरूपमा उपलब्ध भएको उनले दाबी गरे।
मन्त्री भण्डारीले स्वदेशमा नै उत्पादीत बस्तुहरू प्रवर्द्धन र प्रयोग गर्न सके आयातका कमी आउन सक्ने विश्वास व्यक्त गरे। नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्याउने उद्देश्यले एक्सपोको आयोजना गरिएको बताइएको छ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको एक्स्पोमा अल्लो, सिस्नो, केरा, बाँसलगायत प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, पश्मिना, स्टोन, माला, गलैँचा, गार्मेन्टका सामान लगाएतका बस्तुका स्टल राखिएका छन्।