‘चुनौतीका बीच अवसर पनि छ’

‘चुनौतीका बीच अवसर पनि छ’

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले पहिलोपटक ‘एएमएन डे’ मनाएको छ। दसैंको घटस्थापनाको शुभ अवसरमा तीनकुनेमा आयोजित समारोहकाबीच ‘एएमएन डे’ मनाइएको हो। त्यस अवसरमा वर्षभरी काम गर्ने अन्नपूर्णकर्मी तथा कार्यालयमा काम गर्ने कर्मचारीहरूलाई सम्मान गरिएको थियो। समारोहमा वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःलाई ‘एप्रिसिएसन टु एल्डर्ली कन्ट्रिब्युटर’ सम्मानबाट सम्मानित गरिएको थियो। अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामे˘वर थापा र महाप्रबन्धक मनोज बस्नेतले सम्मानपत्र, नगद प्रदान गरेका थिए।

सम्पादक भट्टराईलाई ‘चेयरमेन एक्सिलेन्स अवार्ड’

null

अन्नपूर्ण मिडिया नेटवर्कले ‘चेयरमेन एक्सिलेन्स अवार्ड’सहित विभिन्न विभागका कर्मचारीहरूलाई सम्मान गरेको छ। अवार्डबाट अन्नपूर्ण एक्सप्रेसका सम्पादक कमलदेव भट्टराई सम्मानित भए। अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामे˘वर थापा र महाप्रबन्धक मनोज बस्नेतले भट्टराईलाई सम्मानपत्र र नगद प्रदान गरे।

मिडिया नेटवर्कका विभिन्न सञ्चार माध्यममा उत्कृष्ट काम गर्ने पत्रकारहरू प्रशंसापत्र र नगदसहित सम्मान गरिएको थियो। अन्नपूर्ण पोस्ट् डटकमकी मीनाकुमारी सिंह, अन्नपूर्ण पोस्ट् दैनिकका स्पेसल करेस्पोडेन्ट दिनेश गौतम, अन्नपूर्ण पोस्ट् दैनिकका बुटवल संवाददाता केशरराज क्षेत्री सम्मानित भए। त्यस्तै, अन्नपूर्ण एक्सप्रेसका समाचार संयोजक प्रतीक घिमिरे र रेडियो अन्नपूर्णका भिभोर अधिकारी पनि सम्मानित भए।

त्यसैगरी, सेल्स एन्ड मार्केटिङ विभागबाट सिनियर म्यानेजर विनोद कोइराला र सर्कुलेसन विभागका सुपरभाइजर विनोद पुनलाई सम्मान गरिएको थियो। मानव संसाधन तथा प्रशासन विभागका सिनियर एक्जुकेटिभ विकेश शाक्य र कार्यलय सहयोगी जेके देउला सम्मानित भए।  

सर्वोत्कृट विज्ञापन एजेन्सीलाई सम्मान

null

अन्नपूर्ण मिडिया नेटवर्कले विज्ञापन एजेन्सीहरूलाई पनि ‘एएमएन डे’ को अवसरमा सम्मान गरेको छ। सम्मानित हुनेमा जोइन मिडिया हाउसका प्रबन्ध निर्देशक राजनबाबु श्रेष्ठ, फ्युचर हब मिडिया मल्टिप्रपोजका प्रबन्ध निर्देशक अशोक घिमिरे, रेन्बो मिडियाका प्रबन्ध निर्देशक देवराज गुरुङ, इम्प्रेसन क्रियटिभ डिजाइनका प्रबन्ध निर्देशक राजु ढुंगेल छन्। 

त्यस्तै, म्याक्स मिडियाका प्रबन्ध निर्देशक सबिन शाक्य, मिडिया सेन्सका सीईओ शिव न्यौपाने, काइट एड्भरटाइजिङ एजेन्सीका सिनियर म्यानेजर सञ्जीव पोखरेल तथा म्यानेजर तोरन कर्माचार्य, कारोबार मिडियाका सिनियर म्यानेजर सुजन बगाले, आउटरिच नेपालका सिनियर म्यानेजर उमा खनाल तथा म्यानेजर सुजित सिंह सम्मानित भएका छन्। 

नयाँ सोच र लक्ष्यका साथ संकटकाबीच पनि अन्नपूर्ण मिडिया नेटवर्क अघि बढेको व्यवस्थापन पक्षले जनाएको छ। अन्नपूर्ण मिडिया नेटवर्कमा अन्नपूर्ण पोस्ट् दैनिक, अन्नपूर्ण एक्सप्रेस, अन्नपूर्ण पोस्ट् डटकम, रेडियो अन्नपूर्ण नेपाल र एपीवान टिभी छन्।

‘राम्रै गरिरहेका छौं, राम्रै गर्छौं’

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले महाभूकम्प, कोरोना महामारी जस्ता विषम परिस्थितिमा पनि अन्नपूर्णकर्मीहरू कम्पनीका लागि अहोरात्र काम गरेको भन्दै धन्यवाद ज्ञापन गरे। उनले भने, ‘सबै कर्मचारीको पक्षमा पनि कम्पनी पनि दृढ भएर उभिन्छ भनेर प्रतिबद्धता व्यक्त गर्दछौं। अन्नपूर्ण मिडिया नेटवर्कलाई विश्व बजारमा फैलाएका छौं। ठूला विदेशी मिडिया हाउससँग पनि सहकार्य गरेका छौं। अन्नपूर्णकर्मीहरूलाई विश्वमञ्च प्रदान गर्छौं।’

अन्नपूर्ण एक्सप्रेसका सम्पादक कमलदेव भट्टराईले अन्नपूर्ण मिडिया नेटवर्कसँग २ दशकभन्दा बढीको गर्विलो इतिहास रहेको बताए। जसले बजारमा पृथक पहिचान बनाएको उनले उल्लेख गरेका छन्। उनले भने, ‘वर्तमानका चुनौतीहरूलाई सबै मिलेर सामना गर्नुपर्छ। हाम्रो भविष्य पनि उज्यालो छ।’ अन्नपूर्ण पोस्ट् डटकमका सम्पादक शम्भु कट्टेलले देश र जनताको पक्षमा अन्नपूर्ण मिडिया नेटवर्कका तर्फबाट काम भइरहेको बताए। उनले भने, ‘मिडियाको तर्फबाट राम्रै गरिरहेका छौं, राम्रै गर्छौं। हामी सच्चा छौं, जगत् सच्चा हुन्छ भन्ने मान्यताबाट काम गरिरहेका छौं।’

अन्नपूर्ण पोस्ट् दैनिकका समाचार सम्पादक नरेन्द्र साउद विभिन्न बाधाकाबीच पनि अन्नपूर्ण पोस्ट्लाई उत्कृष्ट बनाउने काम भइरहेको बताए। ‘हामी अँध्यारो सुरुङभित्र छौं। क्षितिजमा टिलपिल टिलपिल बत्ती बलेको छ। आशा बोकेर त्यसनजिक पुग्न कोसिस गरेका छौं। यसबाट पछाडि हट्ने हामीलाई छुटै छैन। सुरुङभित्रको यात्रा पक्कै पनि कष्टकर हुन्छ’, उनले भने, ‘कहिले खुट्टो मर्किएला, कहिले कुहिनो ठोक्किएला, तर, यस्तो स्थितिमा पेट पनि भरिएको छैन। तर, अँध्यारोलाई चिर्दै उज्यालोलाई पछ्याउनुबाहेक हामीसँग विकल्प पनि छैन।’  

रेडियो अन्नपूर्ण नेपालका स्टेसन म्यानेजर शिरोमणि दवाडीले अन्नपूर्णकर्मीले आफ्नो सोचलाई फराकिलो बनाएर कठिन अवस्थामा पनि अहोरात्र काम गरिरहेको बताए। 

चुनौतीका बीच अवसर पनि छ : रामेश्वर थापा, अध्यक्ष, अन्नपूर्ण मिडिया नेटवर्क

null

२०४६/०४७ सालपछि देशमा प्रजातन्त्र स्थापना भयो। त्यसपछि निजीस्तरका सञ्चार गृहहरू स्थापना भए। नेपाली जनताको संवैधानिक अधिकार र मौलिक अधिकार रक्षाका लागि मिडियाहरूले भूमिका खेल्दै आएका छन्। मुलुकमा १० वर्षे जनयुद्धसँगै संक्रमणकाल आयो। जसले हामीलाई नराम्रोसँग प्रभावित बनायो। त्यो पनि इतिहास ताजै छ। कोरोना जस्तो ठूलो महामारीमा पनि अन्नपूर्ण मिडिया नेटवर्कपछि हटेन। सधैं हामी जनतालाई सुसूचित गर्न लागि नै रह्यो। हामीले यसलाई धर्म मानेर कर्म गरिरहेका छौं।

अहिले मिडियामा अर्को युग सुरु भएको छ। त्यो भनेको हरेक मोबाइल र ल्याप्टपवालाले आफूलाई मिडिया र मिडियाकर्मी भन्न थालेका छन्। यसले सामाजिक विकृति, वैमनयश्यता, उच्छृङ्खलता बढाएको छ। आफूलाई भाइरल बनाउने नाममा जे पनि गर्ने क्रम बढेको छ। व्यक्तिगत ब्लगहरू मिडियाका रूपमा स्थापित हुँदै गएका छन्। यी चुनौती मिडियाहरूले भोग्नु परेको छ। तर, यसैबीचमा अवसर पनि छ भन्नेर हामीले बिर्सिनु हुँदैन। त्यसैले हामी त्यति बेचैन भइहाल्नु पर्ने पनि अवस्था छैन। अन्नपूर्णकर्मीहरूले गरेको मेहनतको प्रतिफल पाउन सकेका छैनन्। यो कामको फल अवश्य प्राप्त हुन्छ। 

कठिन तथा बाँच्नै नसक्ने अवस्थाबाट हामी गुज्रिरहेका छौं। तर, हामी कहिले पनि धर्मबाट विमुख भएका छैनौं। गम्भीर अवस्थामा पनि अन्नपूर्ण मिडिया नेटवर्क अताल्लिएको छैन र आउँदा दिनमा देश र जनताको सेवामा शसक्त भएर अघि बढ्छ। कठिन अवस्थालाई सहज बनाउन प्रयत्न गरिरहेका छौं।

म मरे पनि मेरो देश बाँचिरहोस्... : तेजेश्वरबाबु ग्वंगः, वरिष्ठ संस्कृतिविद् 

null मालश्री धुन गाइन्छ। यो हाम्रो सांस्कृतिक पर्वको धुन हो। मिडियाहरूले कहिलेकाहीँ बजाउँछन्। यसैमा सीमित छ। विजयादशमीको आगमनलाई मालश्री धुनले स्वागत गर्छ। यो धुन दसैंभर मात्रै बजाइन्छ, गाइन्छ। यो हाम्रो सांस्कृतिक संगीत हो। 

मेरो विचारलाई अन्नपूर्ण मिडिया नेटवर्कले स्थान दिइरहेको छ। यो मेरो होइन राष्ट्रको सम्मान हो भनेर ग्रहण गरेको छु। मसँग भएको विचार, चिन्तन सबै राष्ट्रको सम्पत्ति बन्नुपर्छ। भोलिपर्सी म यो संसारमा नरहुँला तर, म मरे पनि मेरो सोच बाँचिरहोस्, म मरे पनि मेरो देश बाँचिरहोस्। हाम्रो संस्कृति बाँचिरहोस्, मेरो देशले हाम्रो संस्कृतिलाई बचाइ राखोस्। 

हरेक मिडियाले कला, संस्कृति, रीतिथितिलाई संरक्षण गर्नुपर्छ। संस्कृतिको उजागर गर्ने कर्तव्य र जिम्मेवारी पनि मिडियाको हो। यो काममा अन्नपूर्ण मिडिया नेटवर्क कटिबद्ध भएर लागिरहेको छ। अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाको सिर्जनशीलता र क्वालिटीको म उच्च प्रशंसा गर्छु।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.