पाँचथरमा दुई महिलाको शव फेला
फिदिम : पाँचथरमा दुई जना महिलाको शव फेला परेको छ । कुम्मायक गाउँपालिका -३ तमोर नदीको बरुम्जे दोभानमा बाढीले बगाएर ल्याएको अवस्थामा एक जना र फिदिम नगरपालिका- १२ भोटेगाउँको सडकमा लडिरहेको अवस्थामा एक जनाको शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका पाँचथरका प्रहरी प्रवक्ता बिनालाल साहका अनुसार फिदिममा भेटिएकी महिला फालेलुङ गाँउपालिका-७ की ५५ वर्षीया देवीमाया रिमाल (तामाङ) को हो । तमोर नदी किनारमा भेटिएको महिलाको पहिचान खुल्न बाँकी छ । बाढीले बगाएर ल्याएको अवस्थामा भेटिएको सो शव पहिचानका लागि बाढी पहिरोमा परेर बेपत्ता भएका परिवारलाई खबर गरिएको साहले बताए ।
फालेलुङ - ७ की तामाङ भने असोज १२ गते घरदेखि फिदिम १२ मा रहेको माइती घर जान्छु भनेर हिडेकी थिइन्। तीनदिनसम्म माइती नपुगेपछि खोजी गर्ने क्रममा उनको शव स्थानीयले फेला पारेको प्रहरीले जनाएको छ । दुईवटै शव पोस्टमार्टमका लागि पाँचथर अस्पतालमा ल्याइएको छ ।