काभ्रेका ९२ विद्यालयमा बाढीपहिरोले क्षति
काभ्रे : गत शनिबारको बाढीपहिरोबाट काभ्रेका धेरै विद्यालयमा क्षति पुगेको छ । जिल्ला शिक्षा इकाइ काभ्रेका प्रमुख देवकी ढकालका अनुसार वर्षाले जिल्लाको सबैभन्दा धेरै क्षति पुगेको रोशी गाउँपालिका, पनौती नगरपालिका र बेथानचोक गाउँपालिकाका विद्यालयहरूमा पूर्ण क्षति पुगेको छ ।
जिल्लाको पनौती नगरपालिकामा १३, रोशी गापामा १२, बेथानचोक गापामा ५, भुम्लु गापामा १०, तेमाल गापामा ७, धुलिखेल नगरपालिकामा ५, पाँचखाल नगरपालिकामा १३, चौरी देउराली गापामा २८, बनेपा नगरपालिकामा ३, खानीखोला गापामा ४ र मण्डन देउपुर नगरपालिकामा ६ विद्यालयमा क्षति पुगेको इकाइले जनाएको छ ।
रोशी, पनौती र बेथानचोक पालिकाभित्र रहेका धेरैजसो विद्यालयहरूमा दसैंपछि नै कक्षा सञ्चालन गर्न नसक्ने अवस्थामा विद्यालयहरूमा क्षति पुगेको इकाइ प्रमुख ढकालले जानकारी दिइन् । विद्यालयमा क्षति पुग्नुका साथै पनौती नगरपालिकामा ३, रोशी गापामा २, तेमाल गापामा २ र धुलिखेल नगरपालिकामा १ विद्यार्थीकोे बाढी पहिरोमा परेर मृत्यु भएको जिल्ला शिक्षा इकाइ काभ्रेले जनाएको छ ।
जिल्लामा क्षति पुगेका विद्यालयहरूलाई कसरी सञ्चालनमा ल्याउन सकिन्छ भन्ने बारेमा माथिल्लो निकायसँग समन्वय र पहल भइरहेको ढकालले बताइन् । रोशी गाउँपालिका ९ मंगलटारमा रहेको मंगलजन विजय माविमा पूर्ण क्षति पुगेको प्रअ बासु थापाले जानकारी दिए । ‘बाढीपहिरो आएदेखि विद्यालय पूर्ण बन्द छ । विद्यालयले अर्काे सूचना जारी नगरुन्जेललाई बन्द नै रहनेछ’, प्रअ थापाले भने । तत्काल विद्यालय निर्माणका लागि पहल गर्न तीनै तहको सरकारलाई अनुरोध गरिएको थापाले जानकारी दिए । अब विद्यालय पुरानो अवस्थामै फर्काउन करिब दुई करोड रुपैयाँ लाग्ने थापाको अनुमान छ ।
जिल्लाको दुई पालिका नमोबुद्ध नगरपालिका र महाभारत गाउँपालिकाभित्र रहेको विद्यालयहरूको क्षतिको विवरण प्राप्त हुन सकेको छैन । विद्युत् सेवा सञ्चालन नभएका कारण त्यहाँँका के कति विद्यालयमा क्षति भयो भन्ने यकिन नभएको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।
प्रतिक्रिया दिनुहोस !