निर्यातजन्य उद्योगका समस्या समाधान गर्ने प्रधानमन्त्री शाहको प्रतिवद्धता
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायसँग सम्बन्धित समस्याहरु समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । शुक्रबार सिंहदरबारमा निर्यातजन्य उद्योग व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले निर्यात प्रवद्र्धनका चुनौतीका बारेमा जानकारी लिदै नीतिगत सुधार तथा समाधानमा सरकारले ध्यान दिने बताएका हुन् ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले निर्यातजन्य उद्योग व्यवसायमा विद्यमान समस्याका बारेमा जानकारी लिएको नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष एवं उद्योग वाणिज्य महासंघ निर्यात समितिका सभापति होमप्रसाद घिमिरे जानकारी दिए । उनले कच्चा पदार्थको सहज उपलब्धता, गुणस्तर मापदण्डहरूबीचको समकक्षता कायम गर्ने विषय तथा अन्य समस्याहरूबारे जानकारी गराएको बताए ।
प्रधानमन्त्रीले आफ्नो सचिवालयमार्फत सम्बन्धित निकायहरूलाई तत्काल गर्न सकिने कामहरू अघि बढाउन निर्देशन दिएको उनले बताए । त्यस्तै प्लाइवुडका ढोका, काठ निर्यातका लागि आवश्यक कार्यविधि तुरुन्त बनाएर काम अघि बढाउन निर्देशन दिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।
त्यस्तै छलफलमा सहभागी नेपाल गलैंचा उत्पादक तथा निर्यातकर्ता संघका अध्यक्ष बलराम गुरुङले अमेरिका निर्यातमा देखिएको समस्याका बारेमा प्रधानमन्त्रीलाई अवगत गराइएको बताए । उपभोक्ता सुरक्षा प्रमाणीकरण परीक्षण गर्ने प्रविधि नेपालमा नभएकाले गलैंचा निर्यातमा समस्या भएको उनले बताए । जवाफमा प्रधानमन्त्रीले सम्बन्धित निकायलाई फोन गरेर समस्या समाधानका लागि निर्देशन दिएको अध्यक्ष गुरुङले बताए ।
प्रतिक्रिया दिनुहोस !