भक्तपुरको विश्वप्रसिद्ध बिस्का जात्राको भैलद्यको पांग्रा अझै अलपत्र

भक्तपुरको विश्वप्रसिद्ध बिस्का जात्राको भैलद्यको पांग्रा अझै अलपत्र
सुन्नुहोस्

भक्तपुर : विश्वप्रसिद्ध बिस्का जात्रासँग सम्बन्धित ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा गम्भीर ध्यान दिन माग गर्दै श्री भैरवनाथ जात्रा सहयोग समितिले गुठी संस्थान कार्यालय भक्तपुरमा ज्ञापनपत्र बुझाएको छ।

समितिले बिस्का जात्रा नेपालको अमूल्य सांस्कृतिक सम्पदा भएको उल्लेख गर्दै जात्रामा प्रयोग हुने भैरवनाथको रथ केवल काठको संरचना मात्र नभई मध्यकालीन नेपाली काष्ठकला, वास्तुकला तथा सांस्कृतिक इतिहासको अनुपम नमुना भएको जनाएको छ। 

तर, रथका पुराना पाङ्ग्रा, टुडाल, अँसी, वेट, कासी लगायतका महत्वपूर्ण सामग्री उचित संरक्षणको अभावमा खुला स्थानमा अलपत्र अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ। ज्ञापनपत्रमा वर्षा, घाम, धुलो तथा अन्य प्राकृतिक प्रभावका कारण बहुमूल्य सामग्री क्रमशः नष्ट हुँदै गएको र यसले भविष्यमा बिस्का जात्राको मौलिक स्वरूप तथा ऐतिहासिक प्रमाण नै जोखिममा पर्ने उल्लेख गरिएको छ। साथै आगलागी वा अन्य दुर्घटनाबाट सम्पूर्ण सम्पदा नष्ट हुन सक्ने खतरा समेत औँल्याइएको छ।

समितिले गुठी संस्थानसँग पुरानो रथको ऐतिहासिक सामग्री सुरक्षित संरक्षण गर्दै मौलिक शैलीमै नयाँ रथ निर्माण गर्न, सम्पूर्ण सामग्रीको वैज्ञानिक अभिलेखीकरण, मापन, फोटोग्राफी तथा डिजिटल रेकर्ड तयार गर्न, सुरक्षित भण्डारणको व्यवस्था गर्न तथा जात्रा सञ्चालनका लागि आवश्यक पूर्वाधार व्यवस्थापन गर्न आग्रह गरेको छ। 

त्यसैगरी बिस्का जात्रासँगै भक्तपुरका सापारु (गाईजात्रा), वलं भैरव जात्रा तथा इन्द्रजात्राजस्ता अन्य महत्वपूर्ण सांस्कृतिक सम्पदाको संरक्षण र व्यवस्थित सञ्चालनका लागि आवश्यक भौतिक तथा आर्थिक व्यवस्थापन गर्न पनि समितिले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

ज्ञापनपत्र बुझाउँदै भैरबनाथ जात्रा सहयोग समितिका अध्यक्ष शिवराम किजूले जात्रा सकेको तीन महिना बितिसके पनि अहिलेसम्म पनि भैलखको पांग्रो पाँचतल्ले मन्दिर अगाडि नै अलपत्र रहेको जनाए। यसले घामपानीले काठ कुहिने मक्किने गरेको उनले सुनाए। 

समितिका निवर्तमान अध्यक्ष एवं सल्लाहकार शिवराम भेलेले विस्काको ठूलाठूला काठका पाँग्रो विश्वप्रसिद्ध पाँचतल्लेमा रहँदा दृश्य प्रदूषित भएको बताए। यसले यहाँ आउने दैनिक हजारौं पर्यटकहरूमा नकारात्मक प्रभाव परेको उनले बताए। 

ज्ञापनपत्र बुझ्दै गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले उचित स्थान अभावमा पांग्रा व्यवस्थापन गर्न नसकेको बाध्यता पोखे। अब केही दिनभित्रै पांग्रालाई अल्पकालीन रूपमा भए पनि व्यवस्थापन गर्ने प्रतिबद्धता उनले जनाए। उनले यसको दीर्घकालीन व्यवस्थापनमा पनि ध्यान दिने वचन दिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.