बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध
बाजुरा : बाजुराको सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–९ सेलागाडमा बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले १६ घरपरिवार प्रभावित भएका छन्।
शुक्रबार बिहान करिब साढे ४ बजे बस्तीमाथिबाट आएको पहिरो र लेदोसहितको पानी घरभित्र पसेपछि सेलागाडका १६ घरधुरीमा क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेश्वरी बोहोरा र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा रातिदेखि नै खटिएको छ। सुरक्षाकर्मीको टोलीले प्रभावित परिवारका खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडालगायतका सामग्री सुरक्षित स्थानमा सारेको डिएसपी बोहोराले बताइन्।
बाढी र पहिरोका कारण घरमाथिबाट लेदो आउन थालेपछि अत्तालिएर बेहोस भएकी बडीमालिका नगरपालिका–९ की ३० वर्षीया महिलालाई सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मार्तडी पुर्याएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार प्रभावितमध्ये ३ वटा घर उच्च जोखिममा र अन्य १३ वटा घर जोखिममा रहेका छन्। घटनामा कुनै मानवीय तथा चौपाया क्षति भने भएको छैन।
बाढीपहिरोले सेलागाड क्षेत्रको ठूलो खेतीयोग्य जमिन बगरमा परिणत गरिदिएको छ। साथै, बडीमालिका–८ राप्कास्थित टोट्के सिँचाइ नहरको २३० मिटर प्लास्टिक पाइप र २५ मिटर पक्की नहरसमेत बगाएर क्षति पुर्याएको छ।
यसैबीच, अविरल वर्षाकै कारण मुख्य साँफे–मार्तडी सडकखण्डअन्तर्गत मार्तडीस्थित जिल्ला कारागारदेखि जडाङ्गासम्मका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध भएको छ। सडक ठप्प हुँदा गन्तव्यतर्फ जाँदै गरेका सवारी साधन र यात्रुहरू बीच बाटोमै रोकिएका छन्।
हाल सडक डिभिजन कार्यालय साँफेबगरको डोजर प्रयोग गरी पहिरो पन्छाउने र बाटो खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शाहीले बताएका छन्। हिजो रातिदेखिको अविरल वर्षाका कारण जिल्लाभरिका अन्य ठाउँमा पनि क्षति भएको हुन सक्ने भएकाले जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी चौकीहरू तथा स्थानीय जनप्रतिनिधिहरूसँग सम्पर्क र समन्वय भइरहेको शाहीले बताए।
प्रतिक्रिया दिनुहोस !